मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाठशाला

शनिबार, २१ जेठ २०७९, १३ : ५८
शनिबार, २१ जेठ २०७९

यसपाली
संगठनका बेर्नामा
चाहनाका कोपिला न बसेर होला
उठेनन् उमङ्गका उचाइहरू
र,
फक्रिएनन् जीतका सुवासिला फुलहरू
सायद
अल्छी माली परेर होला
भुलेका छन् बेर्नाले आफ्नै मालीहरूलाई

गाई गोठमा 
बेला कुबेला छिरेका हुँडारहरूले
गाई बाछाको सिकार गर्दा
उब्जिएको 
कारुणिक आवाजले
ब्यूँझाउन नसकेका गोठालाहरूलाई 
यसपाली
हाँका हाँकी आफ्नो मालिक चुनेनन्
बिचरा गोठालाहरू
हारको अधोमुखले 
सरापिरहेका छन् गोठबासीलाई

थुम्काको सौतेलो ब्यवहारबाट
सताइएका गुराँसहरूले
यसपाली 
थुम्कै बदलेछन्
सायद 
थुम्कालाई यो चेतावनी हुन सक्छ
याद रहोस्
गुराँसे फुलहरू
थुम्काको विश्वविद्यालय हुन्

चाकरहरूद्वारा पुजित मालिकले
भुल्दा चाकरको असली रुप
भोगेका छन् जुन नियती 
हो त्यही नियतीको 
फैसला लेख्यो 
युगले एक पटक
र,
सुनायो जनताको अदालतले
तिम्रो 
मन्जुरी वा नामन्जुरीको के अर्थ ?

खरायो चालको घमण्डले
कछुवा चालको गतिलाई
आँकलन गर्न नसक्दा 
पलाएको ऐंजेरुले
मूल हाँगो लछार्दासम्म
बेखवर बनेर बस्नेहरूलाई
चाकरीको सफेद तौलियाले छोपेर
माछा माछा भ्यागुताको उखान
एक कान दुइ कान गर्दै
बजारसम्म लैजाँदै छन् 
भजाउन खोटा सिक्काहरू
चाकरी चुग्लीको
हाँगाको खेती गर्नेहरूले
मूलको महत्व भुलेर 
विभाजित स्वार्थले
एकै कागजमा 
विभाजित अभिव्यक्ति प्रकट गर्दा
उब्जिएको अनपेक्षित परिणामलाई
हाँगाकै अभिशाप हो भन्ने भुल्नेहरूलाई
समय
उसको आगमनलाइ पर्खिरहेछ ।

नागरिक आदेश विपरीत
लालीपपे ‘लू’ का पिछलग्गुहरू उमारेर
सत्ताको सिनु लुछ्न लालयित
एक हुल माझीहरूको विरुद्ध
क्रन्तिकारी ढुङ्गाहरू संगठित हुँदैछन्
किनकि
ढुङ्गाहरूले
भत्काउनु छ
भ्रमका पर्खालहरू
उमार्नु छ चेतना बिरुवाहरू
र,
स्थापित गर्नु छ
डुङ्गाहरू माझीका असली 
मालिक हुन् भन्ने सत्य ।

अध्यक्ष, प्रलेस, महोत्तरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप