सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री बन्ने लोभ छैन, साथीहरूलाई पालो दिन तयार छु : आले

‘पार्टी भित्रकै केही चिप्ले चोरहरूले मेरो बदनाम गर्दैछन्’
मङ्गलबार, २४ जेठ २०७९, २१ : ००
मङ्गलबार, २४ जेठ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले  पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । 

उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए । मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री आलेले भन्नुभयो, ‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरू साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुसी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरू/चिप्ले किराहरू आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

फरक प्रशंगमा उनले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा जितेको बताए । उनले भने, ‘वडा नम्बर ८ का अध्यक्ष ज्यू यहीँ हुनुहुन्छ । मैले त्यो बेलामा मुचुल्का बनाउँदा वडाध्यक्षज्यूलाई हारगुहार गरेँ, सदस्यसचिवज्यूले हारगुहार गर्नुभयो, आएर प्रतिनिधि बसिदिनुहोस् भन्दा वडाध्यक्ष कहिले भोजमा छ, वडा सदस्यहरू फोन गरेको पटकपटक सबै बिरामी एकैदिन । यस्तो खालको दरिद्रताले देश बन्दैन । हामीले तीनवटा मुद्दा जितिसकेका छौँ, अब छिटै यो धर्मशाला देश विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलभमा बस्न खान पाउन्, भनेर भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएर त्यो धर्मशाला बनाएको हो । आज बतास समूहलाई कौडीको भाउमा दिने काम भएको छ ।’

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप