सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपेन्द्रजीले सडकमा बोल्दैमा जसपासँग चुनावी तालमेल हुँदैन : लक्ष्मणलाल कर्ण

बिहीबार, २६ जेठ २०७९, ०८ : २७
बिहीबार, २६ जेठ २०७९

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरे लगत्तै सत्तापक्ष र विपक्षमा भएका सबै दलमा तरंग पैदा  भएको छ । त्यसमध्ये प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने विषयले समेत चर्चा पाएको छ । सरकारमा सहभागिता, आगामी संघ र प्रदेशको चुनावी रणनीति र जसपासँगको चुनावी तालमेलका विषयमा लोसपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईहरुले आफ्नो माग र मुद्दाका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराई रहनु भएको छ । के तपाईहरुले सरकारमा जान पृष्ठभूमि तयारी गर्न थाल्नु भएको हो ?

सरकारमा जाने विषयमा कुनै कुरा गरेका छैनौँ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बेलामा विश्वासको मत माग्नुभयो । हामीले उहाँ (शेरबहादुर देउवा)लाई विश्वासको मत दिएका थियौँ । ओलीजीले हाम्रा केही काम गर्नुभयो धन्यावद दियाँै । जति काम गर्न सक्नु भयो त्यसमा हामी आभार व्यक्त गरेका थियौँ । बाँकी हाम्रा माग मुद्दाका विषयमा देउवाजीलाई राखेका थियौँ ।

उहाँले रोष्टममा खडा भएर पुरा गर्ने बचन दिनु भएको थियो । त्यस विषयमा हामीले बारम्बार पुरा गर्न सम्झाई राखेका छौँ । हाम्रा माग पुरा नभएकाले केही दिन अघि लिखित रुपमा ज्ञापनपत्र बुझाएका छौँ । उहाँले पुरा गर्छु भन्नु भएको छ । प्रधानमन्त्रीसँग भएको कुरा यत्ति नै हो । अरु सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन । त्यस बाहेक अरुले के के अड्कल लगाउँछन् त्यसका विषयमा हामीले केही भन्नु छैन ।

एकीकृत समाजवादीमा मन्त्री फेर्ने विषयले समस्या ल्याएपछि तपाईहरुलाई सरकारमा आउँनु प-यो भनेर प्रधानमन्त्री भनिराख्नु भएको छ रे ?

प्रधानमन्त्री ज्यूले सरकारमा जाने विषयमा हामीसँग केही छलफल गर्नु भएको छैन । यो गठबन्धन तोड्ने कुरा पनि गरेका छैनौँ ।

यदि लोसपाका माग मुद्दा सम्बोधन भए सरकारमा जानु हुन्छ होला नि ?

त्यस्तो कुरा हामीले गरेका छैनौँ । पहिला माग मुद्दा सम्बोधन होस् त्यसपछि के गर्ने त्यसपछि मात्रै भन्न सकिन्छ । स्थानीय तहको चुनावको समीक्षा गर्ने बेलामा गठबन्धनमा नहुँदा राम्रो नतिजा नआएको निष्कर्ष निकाल्नु भएको थियो । आगामी चुनावमा गठबन्धन बनाएर जानु हुन्छ कि एक्लै प्रतिस्पर्धा गरेर जानु हुन्छ ?

यो बीचमा कुनै खालको गठबन्धन तयार भयो भने गठबन्धनमै रहेर चुनावमा जान्छौँ । गठबन्धनको चुनावी राजनीति भएपछि गठबन्धनमा भएर जानुप¥यो । यो कुनै सैद्धान्तिक गठबन्धन होइन । यो निर्वाचनको रणनीतिक गठबन्धन हो । निर्वाचनको रणनीतिक गठबन्धनमा जहाँ फाइदा हुन्छ त्यहीँ गरेर जाने हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले तपाईहरुलाई चुनावी तालमेलका लागि प्रस्ताव गर्नु भएको छ । संघ र प्रदेशको चुनावमा जसपा र लोसपाबीच तालमेल गर्ने अवस्था हुन्छ ?

रोड (सडक)मा कसैले केही बोल्छ भने हामीले त्यसलाई निर्णय मान्दैनौँ । हामीलाई उहाँले चुनावी तालमेल र एकताको कुरा राख्नु भएको छैन । कुनै प्रस्ताव राख्नु भएको छैन । विगतमा हामीले पार्टी एकता गरेर जुन सिट पायौँ, त्यो सबैको समझमा छ ।

औपचारिक रुपमा उपेन्द्रजीले केही भन्नु भएको छैन । सडकमा तालमेल र एकताको कुरा सुनिन्छ । त्यो पनि हामीले तपाईहरु मार्फत सुनेका छौँ । हामीसँग कुनै औपचारिक प्रस्ताव आएको छैन ।  त्यो विषयमा अस्ति बसेको पार्टी बैठकमा पनि चर्चा गरेका छैनौँ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप