आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली, प्रचण्ड र माधवलाई घनश्यामका ५ सुझाव : माफी सप्ताह आयोजना गर्नुस् !

बुधबार, ०१ असार २०७९, २२ : २९
बुधबार, ०१ असार २०७९

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्षमाथि प्रश्न गर्न सक्ने कम्युनिस्ट पार्टी बनाइनुपर्ने बताएका छन् । साथै उनले नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन वामपन्थी एकता आवश्यक रहेको र त्यसका लागि प्रमुख तीन कम्युनिस्ट पार्टीका नेताहरूले ५ वटा काम गर्न जरुरी रहेको बताए ।

बुधबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : सङ्कट र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै भुसालले आफूले विगतदेखि नै कम्युनिस्ट एकताको पक्षमा वकालत गरेको भन्दै आफूले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमसहितको कम्युनिस्ट पार्टी बनाए मात्रै जनताले विश्वास गर्ने समेत बताए । कसैको विशेषाधिकार नभएको पार्टी बनाउनु अहिलेको आवश्यकता भएको भन्दै भुसालले अध्यक्ष बराबरकै अधिकारवाला त्यो कमिटीको अरू पनि हुन् भन्ने भावनाको विकास गर्न सके मात्रै कम्युनिस्ट पार्टी हुनसक्ने बताए ।  

‘पार्टीको अध्यक्षमाथि प्रश्न गर्न सक्ने पार्टी बनाउन खोजेको हो । त्यो आवश्यकता छ, जसले कम शासन गर्छ त्यो अध्यक्ष बनाउन खोजेको हो माथिदेखि तलसम्म’, भुसालको भनाइ छ । आफ्ना अध्यक्ष केपी ओलीप्रति कुनै असन्तुष्टि, निन्दा र भर्त्सना नभएको पनि बताए ।

‘केपी ओलीप्रति कुनै असन्तुष्टि, निन्दा र भर्त्सना होइन, कम्युनिस्ट पार्टीको विचार कार्यक्रम र दृष्टिकोणका साथ जाऊ र देश बनाऊ भनेको हो’, भुसालको भनाइ छ । त्यसका लागि उनले एमाले, माओवादी र नेकपा समाजवादी तीनवटै पार्टीले ५ वटा कुरा स्वीकार गर्नुपर्ने बताए ।

यस्ता छन् भुसालका सुझाव :

एक – त्यो गोप्य सम्झौताबाट गरिएको एकता सिद्धान्तहीन थियो जसले हामीलाई टिक्न दिएन ।

दुई–संसद् विघटन गर्नु गलत थियो ।

तीन– हामीले बनाएको सैद्धान्तिक दिशा अनुकूलको कार्यक्रम र सङ्गठनात्मक सिद्धान्त बनाएका छौ भन्ने ।  

चार– हामी तत्कालै बाम मोर्चा बनाउँछौ भन्ने ।

पाँच–माफी सप्ताह भनेर आयोजना गर्ने ।  

नेता भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको भन्दै तीन कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी समेत गरे । पुन चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको तर्क गरेका भुसालले कतिपयले चुनाव आइसक्यो असम्भव छ भन्ने गरे पनि आफू त्यसमा सहमत नभएको बताए । ‘तर म भन्छु सम्भव छ । मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता,सङ्गठनात्मक के भिन्नता ? भिन्नता छ त केबल गालीगलौज छ’, भुसालको भनाइ छ ।

उनले काँग्रेसले तेलमा माछा फ्राई गरेजस्तै कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई नै पराजित गरेको भन्दै पार्टीहरूभित्र उम्मेदवार समेत आउटसोर्सिङ गर्न थालिएकाले कार्यकर्ताको औचित्य समाप्त पार्न थालिएको गुनासो गरे ।

गलत संस्कार र संस्कृति पार्टीको नेतृत्वबाटै सिकाउने गरेकोमा आपत्ति जनाए । ‘कमरेड प्रचण्डले एमालेको पत्ता साफ गर्छौँ भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन्’, उनले भने, ‘माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् ।’ उनले भने, ‘अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’

कम्युनिस्टहरू माझ अझै पनि एकता वा सत्यानाशको विकल्प रहेकोप्रति आफू दृढ रहेको भुसालको भनाइ छ । ‘हामी एकता वा सत्यानाश भन्ने विकल्पमा अल्झिरहेका छौँ । अनि अमेरिकाबाट सेना ल्याउँछु भनेर गोप्य सम्झौता गर्दै काँग्रेसले शासन गरिरहेको छ, अब त्यो स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालमा लिएर आउने र चीनको आँगनकै नजिकमा लगेर सर्पको खेती गर्ने ?’भुसालको प्रश्न छ । उनले त्यसपछि चीनले पनि केही गर्ला भन्दै हाम्रो हालत अहिलेको युक्रेनको जस्तो हुने बताए । ‘ हामीलाई युक्रेन बनाउँदैछन् । हाम्रै इतिहासमा हेर्ने हो भने अर्को खम्पा विद्रोह गराउँदैछन्’, भुसालले अहिलेको सरकार र दलहरूको व्यवहारप्रति टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप