सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिससको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर

बिहीबार, ०२ असार २०७९, ०६ : ०४
बिहीबार, ०२ असार २०७९

जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार रिट दायर गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगायतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।

दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको सपथग्रहण लगाएत सबै गैरकानूनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन परमादेश जारी पाउँ,’ रिटमा भनिएको छ ।

गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप