सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के नेपालको सेयर बजार घट्नै नहुने हो ?

आइतबार, ०५ असार २०७९, १७ : २५
आइतबार, ०५ असार २०७९

२०७८ भदौ २ गते नेपालको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ‘अलटाइम हाइ’मा पुगेको थियो । कोरोना महामारीको समयमा सबै क्षेत्रको लगानी सेयर बजारमा थुप्रिदा बजार परिसूचकले इतिहासकै उच्च बिन्दु कायम गरेको थियो । तर, त्यस यता भने नेप्से परिसूचकले निरन्तर न्यून बिन्दुको लक्ष्य भेट्टाउँदै गइरहेको छ । आइतबारसम्म उच्च अंकको कीर्तिमानबाट बजार परिसूचक साढे १२ सय अंकभन्दा धेरैले घटिसकेको छ ।

यही समयमा विगत ५ दिनदेखि लगानीकर्ता विभिन्न १९ बुँदे माग तेस्र्याएर आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताहरूको समूह नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउ गर्ने, सडक आन्दोलनमा उत्रने र अनसन बस्ने गरिरहेका छन् । यसको अर्थ उनीहरूको एउटै मात्रै लक्ष्य सेयर बजारको निरन्तर उकालो यात्रा मात्रै हो । अर्थात् नेपालको सेयर बजार घट्नै हुन्न भन्ने मनोभाव सेयर लगानीकर्ताहरूमाझ देखिन्छ ।

सामान्यतया विश्वभरको सेयर बजारको मुख्य विशेषता घटबढ गर्नु नै हो । तर, नेपालका लगानीकर्ता यतिबेला आन्दोलनको बलमा सेयर बजार घट्नै हुन्न भन्ने मनोभाव विकास गर्न कम्मर कसेर लागिपरेका छन् । यसैका लागि पूर्व पत्रकार समेत रहेका तिलक कोइराला बोर्ड कार्यालय अघि अनसन बसेका छन् भने उनलाई सहयोग गर्न केही लगानीकर्ता सडक आन्दोलनमा उत्रँदै नियामक निकायका कार्यालय घेराउ गरिरहेका छन् ।

करिब १० वटाभन्दा धेरै संस्था मिलेर संयुक्त आन्दोलनमा उत्रँदा स्वतन्त्र पूँजीबजार सुधार संघले भने आन्दोलनको औचित्यमाथि नै प्रश्न गरेको छ । संघले आन्दोलनको आडमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको टिकट सुनिश्चित गर्ने खेलमा लगानीकर्ता लागेको आरोपसमेत लगाएको छ । ‘अहिले लगानीकर्ताहरूले आआफ्ना स्वार्थ बमोजिम आन्दोलनको मर्मलाई नै तोडमोड गर्न खोजेको देखिन्छ,’ संघ भन्छ, ‘यो आन्दोलनलाई सांसद् बन्ने आफ्नो सपना साकार पार्ने गतिविधि र लगानीकर्तालाई कार्यकर्ता बनाउन खोजिएको छ ।’

यस्तै, एक जना लगानीकर्ताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा रातोपाटीसँग कुरा गर्दै नेपालको सेयर बजारलाई भीडले नियन्त्रण गर्ने होडबाजी सुरू भएको बताए । उनले विश्वका कुनै पनि सहरमा बजार घट्ने वित्तिक्कै लगानीकर्ता आन्दोलनमा आउने प्रचलन नभए पनि नेपालमा यस्तो नजिर बसिसकेको बताए । यसअघि लगानीकर्ताले पटक–पटक गरेको आन्दोलनलाई स्मरण गर्दै ती लगानीकर्ताले भने, ‘यसअघि पनि नेप्सेका तत्कालीन सीईओमाथि हातपात गर्नेदेखि नेप्से कार्यालय अगाडि अनसन बस्ने सम्मका काम गरे ।’

२०७३ सालमा नेप्से परिसूचकले तत्कालीन समयको उच्च बिन्दु कायम गरेपछि बजार घट्न लागेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरूले धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकलाई घेर्ने काम यस अघि पनि गरेका थिए । यसै गरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सेयर कर्जामा ४÷१२ को नीति लिएपछि मोटरसाइकल र्याली निकाल्दै आन्दोलनमा होमिएका लगानीकर्ता बजारमा केही सुधार लगत्तै रोकिएका थिए । तर, साढे १२ सय अंकभन्दा धेरैको गिरावट आइसकेपछि भने बजारको स्थायित्वका लागि भन्दै आफ्नो सम्पत्ति जोगाउन लगानीकर्ता सडकमा उत्रिएका छन् ।

यस्तै, एनआरएन नेपाल डेभलपमेन्ट फण्डका सीईओ अन्नलराज भट्टराई लगानीकर्ताको आन्दोलनकै भरमा बजार बढ्ने स्थिति नरहेको बताउँछन् । अहिले नेपालको आर्थिक सूचकहरू नै नकरात्मक स्थितिमा रहेको समयमा सडक आन्दोलन र अनसनकै भरमा बजार उचालिन मुस्किल रहेको भएपनि भविष्यबारे यसै बताउन नसकिने उनको भनाइ छ । ‘विभिन्न किसिमको आर्थिक सूचकांकमा असर पारेर बजार तलमाथि हुन्छ,’ भट्टराईले रातोपाटीसँग भने, ‘कोभिडभन्दा अघि र पछि बजारमा फन्डामेन्टल सूचक परिवर्तन भयो, जसले बजारलाई निरन्तर तल धकेलिरहेको छ ।’

हुन पनि कोरोना महामारीको समयमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको थियो । यस्तै, कोरोना महामारीको समयमा अनलाइन प्रणालीमार्फत् सेयर खरिदबिक्री गर्ने नयाँ प्रचलन सुरू भएको थियो । यस्तै, १० लाख हाराहारीमा रहेको मेरो सेयर खाता बढेर ५० लाख हाराहारी पुग्यो । यसका साथै, दैनिक २० हजारको संख्यामा रहेका सक्रिय लगानीकर्ताको संख्या बढेर २० लाखसम्म पुग्यो । यो सूचकले बजारलाई निरन्तर उकालो यात्रामा सहयोग पुर्यायो । यसै गरी, कोभिडको समयमा खर्च गर्ने ठाउँ नहुँदा सर्वसाधारण, लगानीकर्ता, उद्योगी, व्यापारी, ठेकेदार, बैंक/वित्तीय संस्थाको पैसा सेयर बजारमा पुगेर थुप्रियो । जसले नेप्से परिसूचक करिब ३२ सय अंक नजिक पुर्यायो र दैनिक २१ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।

‘सबै सूचक सकरात्मक भएको समयमा केन्द्रीय बैंकले पनि खुकुलो नीति अपनायो,’ भट्टराई भन्छन्, ‘ब्याज न्यून बिन्दुमा आएको थियो भने बजारमा पर्याप्त तरलता थियो ।’ जुन अहिले ठिक उल्टो स्थितिमा छ । बैंक ब्याजदर बढेर निक्षेपकै ११ प्रतिशतभन्दा माथि छ भने कर्जाको ब्याजदर झनै माथि छ । यसै गरी, बजारमा लगानीयोग्य पूँजीको अभाव छ । यता सरकारी आँकलनभन्दा बढी महँगी बढेर ९ प्रतिशत हाराहारी पुग्दा सर्वसाधारणको क्रयशक्ति खुम्चिएको छ । यस्तै, कोरोनाकालमा बन्द रहेका पूर्वाधार निर्माण, व्यापार, उद्योग लगायत क्षेत्र चलायमान बनेका छन् र सेयर बजारमा थुप्रिएको लगानीयोग्य रकम आ–आफ्नै क्षेत्रमा मोडिएका छन् ।

यसै गरी, नेपाल राष्ट्र बैंकले पनि बजारमा लगानीयोग्य रकमको अभाव भइरहेको देखेपछि मौद्रिक नीतिमार्फत् ४/१२ को नीति लियो । र, त्यसलाई निश्चित अवधिभित्र सही सिमामा ल्याई सक्न लगानीकर्ताहरूलाई निर्देशन नै दियो । फलस्वरूप, ठूलो रकम ऋण लिएर सेयरमा लगानी गरेका लगानीकर्तामाथि दबाब पर्यो र बजारमा एकाएक ‘सेल प्रेसर’ पर्यो । जसले बजारमा मागभन्दा बढी सेयरको आपूर्ति सिर्जना गर्यो र नेप्से परिसूचक घट्न थाल्यो ।
भट्टराई अहिलेकै स्थितिमा केन्द्रीय बैंकले लगानीकर्ताको अपेक्षाअनुसार नीति खुकुलो नबनाउने सम्भावना देख्छन् । यद्यपि, मौद्रिक नीतिले खुकुलो बनाएपनि बजारमा लगानीयोग्य रकमको अभावमा बजार तत्काल बढ्ने छाँट भने देखिँदैन । बढे पनि यसअघि कायम गरेको उच्च बिन्दुको कीर्तिमान तोडिने सम्भावना न्यून देखिन्छ ।

कोभिड कालमा नेपालसहित विश्वभरको सेयर बजारले दिनदिनै नयाँ कीर्तिमान कायम गरेको थियो । तर, यतिबेला नेपालको सेयर बजार निरन्तर घटिरहेको समयमा भारतको नेशनल स्टक एक्सचेञ्ज (निफ्टी) मा समेट ठूलो गिरावट आएको छ । पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार भारतको निफ्टीमा कम्तिमा ३ हजार अंकको गिरावट आएको छ । यस्तै, बम्बई स्टक एक्सचेञ्ज (बीएसई) मा ६ महिनाको अन्तरालमा ४ हजार ४ सय अंकभन्दा धेरै गिरावट आएको छ भने न्यूयोर्क स्टक एक्चेञ्ज (एनवाईएसई)मा ६ महिनाकै समयमा करिब साढे २ हजार अंकको गिरावट आएको छ । तर, यी देशका लगानीकर्ता बजार परिसूचक घट्यो भनेर आन्दोलनमा आएको देखिँदैन । जबकि, नेपालका लगानीकर्ताहरू भने दिनदिनै नियामक निकाय घेराउ गर्ने र सडक आन्दोलनमा उत्रिएका छन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले नेपालका लगानीकर्ताहरूमा साक्षरताको अभावका कारण आन्दोलनमा उत्रने गरेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘लगानीकर्ताहरूमा साक्षरताकै अभाव छ । यही कारण पटक–पटक विभिन्न माग राख्दै आन्दोलनमा उत्रन्छन् ।’ यस्तै, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अहिले लगानीकर्ताको आन्दोलनमा  नेप्सेसँग सम्बन्धित माग नभएको बताए । उनले लगानीकर्ताको केही माग पुरा भइसकेको र केही माग पुरा हुने क्रममा रहेकाले अहिलेको आन्दोलन नेप्सेसँग सम्बन्धित नरहेको जिकिर गरे । ‘अहिले लगानीकर्ता आन्दोलनमा उत्रँदै राखेका माग नेप्सेको क्षमताले पुरा गर्न सक्दैन,’ उनले भने, ‘अहिलेको माग धितोपत्र बोर्ड र राष्ट्र बैंक केन्द्रीत छ ।’

लगानीकर्ता आन्दोलनमा उत्रेपछि अर्थमन्त्रालय र धितोपत्र बोर्डले बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । बोर्डका दुई जना र राष्ट्र बैंकका एक जना प्रतिनिधि रहने गरेर गठन गरिएको समितिलाई लगानीकर्ताले अस्वीकार गरेको बोर्ड बताउँछ । लगानीकर्ताहरूले अर्थसचिवको नेतृत्वमा समिति गठन हुनुपर्ने भन्दै यसअघि गठित समितिलाई अस्वीकार गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप