सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्ष हुनु हुँदैन : प्रदीप ज्ञवाली

मङ्गलबार, ०७ असार २०७९, १२ : ०३
मङ्गलबार, ०७ असार २०७९


नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् ।

मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरुले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए ।

नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे । ‘उहाँहरुको पोलिटिकल सिस्टममा कहीँ सहमत हुन सकिँदैन तर राष्ट्रिय हितका पक्षमा धेरै कुरामा सहमत हुन र सिक्न सकिन्छ,’ उनले भने ।

नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको ‘डिफाइन’ गरेको भन्दै उनले परराष्ट्र नीतिबारे संवैधानिक दिशा निर्देश भएको पनि जनाए । परराष्ट्र नीतिका सम्बन्धमा घोषित नीति हुँदा हुँदै एसपीपीमा कसरी हस्ताक्षर भयो भन्नेबारे खोजीको विषय रहेको उनले बताए ।

उनले संसारका सबै मुलुकबाट सहयोग लिन चाहेको तर त्यो सहायताका शर्त हाम्रो राष्ट्रिय हित विपरीत हुनु हुँदैन भन्ने पक्षमा आफूहरु प्रस्ट रहेको बताए । तर परराष्ट्र मन्त्रालयलाई छलेर यस प्रकारका कुनै काम गर्न नहुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप