आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिद्धबाबा सडक खण्ड : यात्रुलाई सधैँ त्रास

वैकल्पिक मार्गको चर्चा धेरै, काम सुस्त
शुक्रबार, १० असार २०७९, १० : २८
शुक्रबार, १० असार २०७९

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको  सिद्धबाबा क्षेत्र पहिरोको जोखिम अत्यधिक रहेको क्षेत्र हो । वर्षा याममा यहाँ बारम्बार पहिरो खस्ने गर्दछ ।

यो मार्ग प्रयोगकर्ता वर्षाको समयमा पहिरोको त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । पहिरो खसेर कतिबेला सडक अवरुद्ध हुने हो भन्ने त्रासका बिच गाडी चलाउनु पर्ने अवस्था रहेको तानसेन–बुटवल रुटमा सञ्चालित लु ३ ख ३६४२ नम्बरको सवारी साधनका चालक यम बहादुर रोकाले बताए । वर्षा लागेपछि सिद्धबाबा क्षेत्र आउनासाथ निकै डर लाग्ने गरेको उनको भनाइ छ ।

दैनिक सरदर तीन हजारको हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने सिद्धार्थ राजमार्गमा सिद्धबाबा क्षेत्र सर्वाधिक जोखिमको क्षेत्र मानिन्छ । चुरे क्षेत्र रहेको जम्मा तीन किलोमिटर सडकले सधैँ सास्ती दिइरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका, दोभानका विष्णु पाण्डे बिहानै पढाउनका लागि बुटवलको एम्स कलेजमा आउनु पर्छ । दैनिक रूपमा दोभानबाट बुटवल आएर पढाउने पाण्डेले वर्षा लागेसँगै दुःखका दिन सुरु भएको बताए ।

‘मोटरसाइकलमै आवतजावत गर्दछु, वर्षामा पहिरो खस्ने त्रासले सताइरहन्छ,’ उनले भने, ‘कति पटक त बाटो बन्द भएर बुटवल मै बस्नु परेको छ ।’

ठुलो पहाडको फेदीबाट बनेको सडकमा हिउँदको समयमा सुक्खा पहिरो र वर्षाको समयमा लेदोसहित खसेको पहिरोले सताउने गरेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पछिल्लो ९ वर्षको अवधिमा यो क्षेत्रमा ४२ वटा दुर्घटना भएका छन्, जहाँ ३३ जनाको मृत्यु छ ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता एवं डीएसपी मोहनबहादुर खाणका अनुसार सिद्धबाबा क्षेत्रमा पहाडको माटो खुकुलो भएका कारण जति बेला पनि पहिरो र माथिबाट ढुङ्गा खस्न सक्ने जोखिम छ ।

हिउँदको समयमा मोटरसाइकल र स्कुटरको यात्रामा त मान्छेको स्वरुपनै नचिनिने गरी धुलोले ढाक्ने गर्छ भने ठुला सवारी टिपर, ट्रकको तीव्र गति, बस लगायतको धुलो र धुवाँले समेत यस क्षेत्रको स्थानीयका घरसमेत धुलाम्मे हुन्छन् ।

सरोकारवाला पक्षले ध्यान दिन नसक्दा दैनिक समस्या बल्झिँदै गएको स्थानीय महेन्द्र पाण्डेयले बताए ।

वैकल्पिक मार्गको चर्चामात्र

सिद्धबाबा सडक खण्डको विकल्पमा पनि चर्चा नभएको होइन । सिद्धबाबाको सुरुङ मार्ग, झूस्सा–दोभान सडक निर्माण प्रक्रिया अगाडि बढेको छ । यस्तै बुटवल–बेलवास–नुवाकोट–पाल्पा सडकको काम पनि अगाडि बढेको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नै ढङ्गबाट बजेट छुट्याउने गरे पनि अझै वैकल्पिक मार्ग प्रयोग गर्ने अवस्था छैन ।

सडक बने पनि अझैसम्म सवारी साधनहरुले ती सडकमा निर्धक्क रूपमा चल्न नपाएकाले त्यसको अर्थ नभएको दोभानका दलबहादुर गुरुङ बताउँछन् ।

सिद्धबाबा सुरुङ मार्ग बनाउन आर्थिक वर्ष २०७०/७१ मा पहिलो पटक बजेट छुट्याइएको थियो । त्यसयता अध्ययन, डीपीआरलगायतका शीर्षकमा बजेट आए पनि अझै देखिने गरी काम नभएको सडक कार्यालयले जनाएको छ ।

बुटवलको बेलवास, नुवाकोट हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को १८ किलोमिटर लामो सडक पनि खोलिएको छ । तर, वर्षा याममा प्रयोग गर्न यो सडक अझै तयार भइसकेको छैन ।

स्थानीय तिनाउ गाउँपालिकाको नेतृत्वमा गएको वर्ष करिब ९० लाखमा वैकल्पिक सडकको ट्रयाक खुलेको छ । त्यहाँ अन्य स्थानीय तहले पनि लगानी गरेका छन् ।

यस्तै, बुटवलको चरङ्गदेखि झुस्सासम्मको २२ किलोमिटर  लामो सडकका लागि लुम्बिनी प्रदेश सरकारले २०७५ सालमै १० करोड रुपैयाँ छुट्याएको थियो । यस्तै, जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्न एक करोड छुट्याएको थियो । तर अहिलेसम्म त्यो सडक पूरा भएको छैन ।

प्रदेश सरकारले यो सडकका लागि निरन्तर बजेट छुट्याउँदै आएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसाबले निकै कम रहेको प्राविधिकहरू बताउँछन् ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रूपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल निर्माण तथा अन्य काम भइरहेको छ ।

यातायात सञ्चालन योग्य बनाउनका लागि काम अगाडि बढाए पनि पर्याप्त रकम नहुँदा अझै पूर्ण हुन नसकेको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए ।

हालसम्म रुपन्देही खण्डको सडकमा पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपैयाँ खर्च भएको छ । मुढा बास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुने गरी बजेट आएको उनले बताए ।

अहिले चरङ्गेदेखि साढे आठ किलोमिटर सडकमा ग्राभेलको काम पनि सकिएको छ । त्यहाँ केही पुलको काम बाँकी छ । सामान्य रूपमा यी दुवै वैकल्पिक सडकबाट मोटर साइकल, जिप र साना गाडीहरू चल्न गर्ने छन् तर वर्षामा समस्या देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप