सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किसानलाई ओलीको टिप्स : श्रीखण्ड लगाएर १५ वर्षमा १० करोड कमाउनुस्

शनिबार, १८ असार २०७९, १७ : १८
शनिबार, १८ असार २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रतिफल दिने किसिमका वनस्पति तथा कृषि बस्तुको उत्पादनमा लाग्न जोड दिएका छन् । 

शनिवार काठमाडौँमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आधुनिक नगदे बाली प्रशोधित ढङ्गले बेच्ने, उच्च मूल्य भएका काठहरू लगाउने, त्यसको औषधीय मूल्य, उच्च मूल्य भएका अत्तर बनाउने काठ, धार्मिक मूल्य भएका बस्तुको उत्पादनबाट किसानले मनग्गे आम्दानी गर्न सक्ने बताए । 

उनले भने–‘हामीले ठूलो मात्रामा तुलसी लगाउन सक्यौँ र तुलसीको पात मात्रै बेच्न सक्यौँ भने जापान कोरियामा रुपैयाँको हिसाबले एउटा पातको ५ रुपैयाँ पर्न जान्छ । ठूलो परिणाममा उत्पादन गर्न सक्नुपर्‍यो, एक मुठ्ठी पात लिएर त तपाईं जापान जान सक्नुहुन्न । थोरै उत्पादन गर्न सरकारले अनुमति पनि दिँदैन त्यसकारण ठूलो परिणाममा उत्पादन गर्नुपर्‍यो ।’

उनले नेपालमा धेरै मूल्य पाइने वनस्पतिको खेती गर्न र त्यसबाट करोडौं रुपैयाँ आम्दानी गर्न सकिने बताए ।  अध्यक्ष ओलीले भने–‘हामीसँग चिराइतोदेखि लिएर थुप्रै कुराहरू छन् । खेतीमा फलफूल लगाऔँ, रुखहरू लगाऔँ, श्रीखण्ड पनि लगाऔँ, हामीले २ कठ्ठामा श्रीखण्ड लगायौँ र २ बिघामा अरू लगायौँ भने १५ वर्षपछि श्रीखण्डले १० करोड त पक्कै पनि दिन्छ । १० करोड एकमुस्ट आउँछ, हामी त्यो फाइदा लिन सक्छौँ । अगरउड हुन्छ १५ वर्षपछि त्यसले त्यस्तै उत्पादन दिन्छ । काठमा दामी काठका लागि बिरुवाहरू रोप्न सकिन्छ । रक्तचन्दन पनि हुन्छ, त्यसको कानुनी व्यवस्था के छ त्यसलाई मिलाउनुपर्ला । यार्सागुम्बाका कुराहरू छन् ।’

उनले मलेसिया, सिंगापुर जस्ता देशले तापक्रम मिलाएर यार्सागुम्बाको खेती गर्न थालेको बताए । नेपालको उच्च भूभागमा ‘ओरिजिनल’ यार्सागुम्बा हुने बताउँदै त्यस्ता चिजहरूको खेतीमा जोड दिनुपर्ने बताए । उनले राम्रो स्याउ बजारमा बिक्री गर्न सकिने र थोरै कच्याककुचुक भएको स्याउको वाइन बनाएर चार गुणा बढी मूल्य पाउन सकिने उल्लेख गरे । यस्ता कुरा जनतालाई सुशिक्षित गर्न किसान महासंघका नेता कार्यकर्तालाई आग्रह गरे ।यस्तै खाने कुरा नै जीवन भएकोले किसानलाई विषादी र रासायनिक मलको प्रयोगलाई कम गर्दै लैजान पनि प्रशिक्षित गर्दै जान उनको आग्रह थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप