प्रतिकूल अवस्थामा कांग्रेसले यसरी जोगायो काठमाडौंमा इज्जत
काठमाडौं–एमाले र माओवादीबीच तालमेल भएर बाम गठबन्धनको घोषणा गरेसँगै सिंगो कांग्रेस पंक्ति प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो स्थितिको आंकलन गरेर आत्तिएको थियो ।
निर्वाचन सम्पन्न भएर मतगणनाको प्रारम्भिक नतिजा आउने क्रममा कांग्रेसले आंकलन गर भन्दा राम्रै राहत समेत पाएको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा एमाले र माओवादीले विजय हासिल गरेर लाल किल्ला बनाएको थियो । तर २०७० को निर्वाचनमा ५ निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो भने ५ क्षेत्रमा एमाले विजयी भएको थियो ।
काठमाडौंमा दुई बाम पार्टी मिल्दा आफुलाई निक्कै कमजोर महशुस गरेको कांग्रेसले काठमाडौंका ४ स्थानमा चुनाव जितेर आफ्नो शक्ति देखाएको छ । यद्यपी प्रतिनिधिसभातर्फ राजधानी बाहिरका जिल्लामा भने कांग्रेस तेश्रो स्थानमा खुम्चिएको छ ।
यो सामग्री तयार पार्दासम्म कांग्रेस ६ स्थानमा विजयी भएको छ भने १८ स्थानमा अगाडि रहेको छ ।
काठमाडौंमा कडा चुनौतीका माझ कांग्रेसले ४ सिट हात पारेको हो । काठमाडौं क्षेत्र नं. १ मा बिबिसीका पूर्व पत्रकार तथा विवेकशील साझाका रवीन्द्र मिश्रले कांग्रेस नेता सिंहलाई हावाकावा खुवाएका थिए, अन्तत सिंहले बाजी मारी छोडे ।
हुन त काठमाडौं क्षेत्र नं. १ मा निरन्तर रुपमा सिंहले नै एकछत्र राज गर्दैै आएका छन् । उनले झन्डै ९ सय मतान्तरले मिश्रलाई हराएका हुन् । सिंह १० हजार ३७ मत ल्याएर निर्वाचित भएका हुन् भने मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् ।
यता काठमाडौं ४ मा पनि कांग्रेसका प्रभावशाली नेता गगन थापालाई एमाले नेता राजन भट्टराईले हायलकायल पारेका थिए ।
मतगणनाका क्रममा अगाडि पछाडि लाग्दै गरेका यी दुई नेता बिच कडा टक्कर परेको थियो । अन्तत गगन थापाले ३ हजार बढी मतले भट्टराईलाई पछारी छोडे । थापाले २१ हजार ५ सय ५८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन् ।
काठमाडौं ६ मा रक्षा मन्त्री समेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानलाई पनि मतगणना अवधीभर माओवादीका उम्मेदवार झक्कु सुवेदीले हायलकायल पारे । २०६४ मा काठमाडौं क्षेत्र नं. २ बाट माधव कुमार नेपाललाई पराजित गरेका झक्कु मतगणनाका क्रमभरी भीमसेनदास भन्दा अगाडि रहेका थिए । तर अन्तिम समयमा आएर भीमसेनदासले बाजी मारे । प्रधानले १६ हजार ७ सय ८५ मत ल्याँउदा सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याएका छन् ।
उता काठमाडौं क्षेत्र नं. १० मा भने राजन केसी जब्बर रुपमा प्रस्तुत भए । माओवादीका नेता हीतमान शाक्यलाई मतगणनाको शूरुवातदेखि नै दवावमा राख्दै आएका केसीले आफ्जो विजयको झन्डा गाडेरै छोडे । २०७० को चुनावमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई पराजित गरेर केसी चर्चामा आएका थिए । हालै सम्पन्न निर्वाचनमा केसीले २४ हजार १ सय ९० मत ल्याए भने उनका निकटम प्रतिद्धन्द्धी हीतमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् ।
स्थानीय तहको निर्वाचनमा आएको मतका आधारमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा दुई बामदलको कूल मत भन्दा कांग्रेस केही मतले पछि थियो तर प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौंमा कांग्रेसले आफ्नो इज्जत जोगाँउन भने सफल भएको छ ।