आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठेकेदारको ढिलासुस्तीले सडक निर्माणमा ढिलाइ

बुधबार, २२ असार २०७९, १२ : १४
बुधबार, २२ असार २०७९

दक्षिण तथा मध्य ललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।

एकैपटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिला सुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो । एकैपटक कम्तीमा दुई ठाउँबाट सुरु गरेर दिनरात काम गरे दुई हप्तामा काम सकिने स्थानीय राजन महर्जन बताउछन् । उनी भन्छन्, ‘असक्षम ठेकेदारले काम पाएपछि हामीले सास्ती पायौं ।’ स्थानीय मुख्य सडकको कछुवा हिँडाइ भएको स्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउँदा खरायो हिँडाइ हुनुपर्ने हो,’ उनले भने ।

चापागाउँको ज्योति विहारदेखि टुसालसम्म सात सय मिटर सडक ढलान गर्न महिनौ लाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क अहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले-टीका भैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छ । टाहाखेल, झरुवारासी,चारघरे, न्यौपानेगाउँलगायतका यात्रु बस चढ्नका लागि ४५ मिनेटसम्म हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

चारघरेका रमेश लामा बस चढ्न लामो बाटो हिँड्नुपर्ने हुँदा सधै अफिस पुग्न ढिला हुने गरेको बताउँछन् । भन्छन्, ‘बाटोका कारण समयमा अफिस नपुग्दा जागिर जाला जस्तो भइसक्यो ।’ पछिल्लो समय ठेकेदारले २५ जना कामदार लगाएर काम गरिरहेको उनको भनाइ छ। उनी भन्छन्,‘डण्डी राखेमात्र ढलान हुन्छ । मेसिनले एक सय मिटरभन्दा माथि रेडिमिक्स फाल्दैन ।’ यात्रु  आउजाउ गर्ने बाटो भएकाले डण्डी बाँध्न र काम गर्न बाधा परेको उनीहरूको गुनासो छ ।

सडक विभागले करिब चार करोड रुपैयाँमा लगाएको सडक नवजानुका जेभीले ठेक्का पाएको हो । चापागाउँ लेले, छम्पी, डुकुछाप र देवीचौरका साथै दक्षिण ललितपुरको बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाको केन्द्रको रूपमा स्थापित छ । काठमाडौं उपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भीमफेदी बकैया र बागमती गाउँपालिकाका स्थानीय चापागाउँ बजारको बाटो प्रयोग गर्छन् ।

नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्न निरन्तर सडक खनेपछि काममा बाधा भएको बताए । उनले भने, ‘यो महिनाको अन्तिमसम्म ढलान सकिन्छ । त्यसपछि सडक मर्मत र ड्रेनको काम सुरु हुन्छ ।’ गोदावरी नगरपालिका(११ का वडाध्यक्ष निलबहादुर देसारले काममा बाधा भएपछि अहिले खानेपानीको पाइप मर्मत गर्न सडक खन्न रोक लगाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप