आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायली संस्थासँग आबद्ध रहेको भन्दै करोडौँको ठगी

बुधबार, २२ असार २०७९, १४ : २८
बुधबार, २२ असार २०७९

काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका रणीसिंह धामी रामेछापमा शिक्षण पेसामा थिए । उनी रामेछापको सुनापति गाउँपालिका–४ भलवाडीको बाल आधारभूत विद्यालयमा पढाउँथे ।

‘फारवेस्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ सेन्टर नेपाल’ (फास्ट नेपाल) ले दार्चुलाका गाउँगाउँमा शाखा खोलिरहेकाले त्यहाँका साथीहरूले उनलाई उक्त संस्थाबारे बुझ्न भने । २०७७ को माघतिर उनी काठमाडौँ आएर सो संस्थाबारे बुझ्न थाले । उनले संस्थाबारे बुझेनन् मात्रै, त्यहीँ जागिरको अवसर पनि पाए । त्यो पनि मासिक २५ हजार रुपैयाँ पाउने गरी ।

इजरायलको कायमा भन्ने संस्थाले फण्डिङ गरिरहेको भन्दै उनलाई सो संस्थासँग एग्रिमेन्ट भएको र यसले नेपालको कृषि क्षेत्रमा लगानीसमेत गर्ने जानकारी गराइयो । ‘मलाई सुरूमा एनजीओ भनेको थियो । पछि खोजी गर्दै जाँदा त प्रालि पो रहेछ,’ धामीले भने ।

संस्थाबारे बुझ्न गएका उनलाई संस्थामा थप कर्मचारीको आवश्यकता रहेको र आवेदन दिन आग्रह गरियो । उनलाई सहकार्यक्रम संयोजकको पदमा भर्ना गरिदियो ।

सुगम भनिने मानबहादुर देउवाले उनलाई जागिरको अफर गरेका थिए । उनी त्यो संस्थाका प्रबन्ध निर्देशक हुन् । केन्द्रीय कार्यालयमा काम गर्ने कर्मचारीहरूले बीमा गर्नुपर्ने भनियो । बीमा बापतको पहिलो किस्ता ५२ हजार रूपैयाँ दिनुपर्ने भनियो र उनले त्यो दिए । त्यसपछिको किस्ता संस्थाले नै बेहोर्ने भनिएको थियो । यतिमात्र नभएर काम गर्ने कर्मचारीले बिचमै छोडेर जाने आशंकामा ५० हजार रूपैयाँ धरौटीसमेत राख्न लगाइयो । जुन पैसा तीन महिनापछि फिर्ता हुने भनिएको थियो ।

दुवै गरेर उनले २० माघ २०७७ मा एक लाख २ हजार रूपैयाँ संस्थालाई दिए । त्यसपछि संस्थाले उनलाई कामदारको रुपमा नियुक्तिपत्र दियो । संस्थाबाट नियुक्तिपत्र पाइसकेपछि उनी रामेछाप गएर बिदा हुँदै काठमाडौँ फर्किए । उनी २५ गतेबाट काम गर्न थाले ।

वैशाखसम्म उनले सो संस्थाबाट पारिश्रमिक पाएनन् । वैशाख १६ गतेबाट लकडाउन भएपछि सबै कर्मचारी आ–आफ्नो घरतिर लागे । उनी साउन २० गते काठमाडौँ फर्किए र फेरि अफिसमा हाजिर भए ।

‘तलब माग्दा अब आउँछ । लकडाउनले गर्दा इजरायलबाट फण्ड पठाएको छैन भनियो । भोलिभोलि भन्दाभन्दै झुलाइरह्यो । तर, पैसा दिएन,’ उनले भने ।

दसैँ अगाडि सबैले तलब पाउने भनेर आश्वासन दिइएको तर त्यसबीचमा प्रबन्ध निर्देशक नै फरार भएको उनले सुनाए । अफिसमा ताला लगाएर प्रबन्ध निर्देशक फरार भएपछि देशभरबाट उनलाई फोन आउन थाल्यो । सह कार्यक्रम संयोजक भएकाले उनलाई देशैभरका कर्मचारीले फोन गर्न थाले । तर, उनीसँग के भन्ने भनेर कुनै जवाफ थिएन ।

रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र दार्चुला गरी ११ जिल्लामा संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको थियो । जहाँ तीन सयभन्दा बढी कर्मचारी थिए ।

पछि रजिस्ट्रारको कार्यालयबाट संस्थाको फाईल झिकाउँदा चार जनाको नाममा धनगढीमा कार्यालय दर्ता गराएको पाइयो, जसमा सुगम प्रबन्ध निर्देशक, उनका फुपूको छोरा नबिन बोगटीलगायत चार जना छन् ।  

जनगणनाका लागि गणकका रुपमा छनोट भएका उनी दसैँपछि आफ्नो कार्यक्षेत्र रामेछाप गए, जहाँ उनले मंसिर ११ गतेसम्म काम गरे । पुस माघतिर दार्चुलास्थित उनको घरमा एकएक प्रहरी पुग्यो, त्यो पनि अदालतबाट पक्राउ पुर्जी लगेर ।

९७ लाख ठगी गरेको भन्दै ४३ जना कर्मचारीले दाङ प्रहरीमा उजुरी दिएका रहेछन् । उजुरी दिनेहरूले उनको नाम कहीँ कतै उल्लेख गरेका थिएनन् । तर, उनको नाम संस्थाको वेबसाईटमा रहेकाले उनलाई पनि अनुसन्धानका लागि तानिएको थियो ।

उनी फागुन १ गते आफै अदालतमा हाजिर भए । दाङका जिल्ला संयोजक सुरेश घले र कार्यकारी व्यवस्थापक यज्ञराज उपाध्यायलाई पक्राउ गरिएको थियो । छुनथेक बहसपछि धामी सामान्य धरौटीमा रिहा भए । संस्थाका प्रबन्ध निर्देशक मानबहादुर (सुगम) विरुद्ध दाङ अदालतले पक्राउ पुर्जी जारी गरिसके पनि उनी पक्राउ परेका छैनन् । स्रोतका अनुसार उनले वैशाख २६ गते धुमधामका साथ विवाह गर्दा पनि प्रहरीले उनलाई पक्राउ गरेन ।

जो पैसा खाएर भागेको हुन त्यो व्यक्ति अझै पनि पक्राउ पर्न सकेका छैनन् । यतिसम्म कि प्रहरी प्रशासनलाई नै चुनौती दिँदै सुगमले वैशाख २६ गते धुमधामसँग विवाह गरे । तर, प्रहरीले पक्राउ गर्न सकेन् ।

यता धामीले भने दाङमा एकातिर तारेख बुझाइराख्नुपर्छ भने अर्कोतिर हरेक जिल्लाबाट ठगी गरेको भन्दै उनीविरुद्ध समेत उजुरी परिरहेको छ । ‘म आफै पीडित हुँ । मैले पनि पाउनुपर्ने तलब र धरौटीमा राखेको पैसा पाएको छैन । म त एउटा काम गर्ने कर्मचारी मात्र हुँ तर, मलाई नै दुःख दिने काम भइरहेको छ,’ उनले भने ।

यतिबेला रामेछाप प्रहरीमा समेत उजुरी परेको छ । जसमा धामीको नाम पनि मुछिएको छ । रामेछापसँगै अन्य जिल्लाबाट समेत उनलाई फोन गर्दै पैसा फिर्ता गर्नुपर्ने नत्र मुद्दा हाल्ने भन्दै धम्की दिन्छन् ।

आफै ठगिएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेन तर, आफूविरुद्धका ठगी मुद्दा भने धमाधम दर्ता गरिरहेको धामीको भनाइ छ ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले जिल्ला प्रहरी परिसर टेकुमा ठाडो निवेदन दिएका छन् । १४ असारमा ठाडो उजुरी दिएका उनको उजुरीसम्बन्धमा अहिलेसम्म के भएको थाहा छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुका प्रहरी प्रमुख एसएसपी सुदिप गिरी प्रहरी अतिरिक्त नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । उनले जाहेरी दर्ता गर्ने आश्वासन दिएको तर, उनी बढुवा भएर गएपछि नयाँ आउने कार्यालय प्रमुखले जाहेरी दर्ता गर्छन् वा गर्र्दैनन् भन्ने चिन्ता छ धामीलाई । प्रहरीले ठगी सम्बन्धी जाहेरीको हदम्याद सकिएको भन्दै दर्ता गर्न अस्वीकार गरिहेको उनको भनाइ छ ।

ठगी सम्बन्धित जाहेरी दर्ता गर्ने हद म्याद एक वर्षको हुने कानुनी प्रावधान छ ।

११ जिल्लाबाट ५ करोडभन्दा बढीको ठगी

कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका मानबहादुरले ११ जिल्लाका किसान तथा सर्वसाधारणबाट रकम ठगी गरेको पाइएको छ । समूहमा रकम संकलन गर्न लगाएर दाङका ४३ कर्मचारीबाट उनले ९७ लाख रूपैयाँ उठाएका थिए । उनले कर्मचारीहरुबाट मात्र नभएर किसानहरुको समूह बनाएर प्रति किसानबाट ५०० का दरले उठाउँदै आएका थिए ।

इजरायलको कायमा संस्थाले फण्डिङ गरेको र संस्थामा आबद्ध किसान तथा कर्मचारीलाई इजरायलमा कृषि कामका लागि पठाउने आश्वाससमेत उनले दिने गरेका थिए ।

आफूहरु ठगिएको थाहा पाएपछि उनीहरूले दाङ प्रहरीमा उजुरी दिएका थिए । दाङ प्रहरीले तीन जना कर्मचारीलाई पक्राउ गरेर अदालतमा पेस गरेको थियो । अदालतले साधारण धरौटीमा उनीहरूलाई रिहा गरेको छ भने मुख्य सञ्चालक मानबहादुर अझै सम्पर्क बिहीन छन् ।

रणीसिंह धामी

उनले दार्चुलामा समेत ९२ जनाबाट ३० लाख ठगी गरेको पाइएको छ । केन्द्रीय कार्यालयका कर्मचारीबाट बीमा बापत ५० हजारका दरले पैसा उठाएको र धरौटी रकम भन्दै थप ५२ हजार लिएको पीडितहरुको भनाइ छ ।

त्यस्तै पालिका अन्तर्गत पालिका म्यानेजरबाट २३ हजार र सामाजिक परिचालक (एसएम) बाट २०/२० हजारका दरले पैसा उठाएका थिए । ११ वटै जिल्लाका ३०० भन्दा बढी कर्मचारीबाट उनले पैसा उठाएको बताइन्छ ।

संस्थामा २० हजारभन्दा बढी किसान आबद्ध भएका थिए । जुन कुरा संस्थाकै वेबसाइटमा उल्लेख छ । उनीहरुबाट बीमाबापत भन्दै प्रति किसान ५०० का दरले पैसा उठाएका थिए । त्यस्तै उनीहरूलाई उन्नत जातका बाख्रा, बोका, घाँस, फलफूलका बिरुवा बाड्ने भन्दै शुल्क लिने गरेको बताइन्छ । यसरी अहिलेसम्म संस्थाले कति रकम ठगी गरेको भन्ने यकिन भने भइसकेको छैन ।

धामीका अनुसार ५ करोडभन्दा बढी ठगी गरेको हुन सक्छ ।

पोर्चुगल पठाउने भन्दै ५ लाखका दरले असुली

संस्थाले पोर्चुगल पठाउने भन्दै प्रति व्यक्ति ५ लाखका दरले असुलेको पाइएको छ । रामेछापका विभिन्न गाउँका युवालाई पोर्चुगल पठाउने भन्दै प्रति व्यक्ति ५ लाखका दरले पैसा उठाएको पाइएको हो ।

त्यस्तै रामेछापका गाउँगाउँमा किसानलाई समूह बनाएर प्रति किसान ५०० का दरले पैसा उठाएको पाइएको छ । ‘एउटै वडामा १२०० भन्दा बढी किसानबाट कृषक परिचय पत्र दिने भन्दै ५०० का दरले पैसा उठाएको छ । त्यो परिचयपत्र भयो भने कृषि सहुलियत पाउने भन्दै रामेछापका हरेक गाउँमा यसरी नै पैसा उठाएको छ,’ रामेछापका अर्जुन राईले भने ।  

उनले छोरालाई पोर्चुगल पठाउने भनेर ४ लाख ५८ हजार रूपैयाँ काठमाडौंको सामाखुशीस्थित संस्थाकै कार्यालयमा आएर बुझाएका थिए । तर, अहिले न छोरालाई पोर्चुगल पठाइदिएको छ न त संस्थाका अधिकारी सम्पर्कमै छन् । अफिसमा समेत ताला लागेको अवस्था छ । यति मात्र नभएर उनको छोराको नागरिकता र पासपोर्ट समेत संस्थाले नै राखेको छ । रामेछापबाट कृषि कामका लागि २५ जनालाई पोर्चुगल पठाउने भन्दै ५ लाखका दरले पैसा उठाएको राईको भनाइ छ ।

दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले मानबहादुर अझै फरार रहेको र उनको खोजी भइरहेको बताए । ‘हामीले खोजी गरिरहेका छौं । अहिलेसम्म हाम्रो फरार सूचीमा छन् । पक्राउ परेपछि थप अनुसन्धान हुन्छ,’ एसपी काफ्लेले भने ।

नेताहरुसँगको कनेक्सन

संस्थाले २१ चैत २०७७ मा आफ्नो चौथो वार्षिकोत्सव मनायो । वार्षिकोत्सवको प्रमुख अतिथि थिए नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी । केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फास्ट नेपालमा आबद्ध विभिन्न जिल्लाका जिल्ला संयोजक, व्यवस्थापक, सामाजिक परिचालक, कृषकहरु उपस्थित थिए ।

सन् २०१८ मा स्थापना भएको यो संस्थालाई इजरायलको संस्था कायमाले आर्थिक सहयोग गर्ने भनिएको थियो । जसको आधारमा आफ्नो प्रोजेक्ट लागू भएका जिल्लाका किसानहरुलाई कृषि काम सिक्नका लागि इजरायल पठाउने समेत भनिएको थियो । यतिमात्र नभएर कतिपय जिल्लामा २५ जनाका दरले पोर्चुगल पठाउने समेत भनिएको थियो । त्यही आधारमा युवाहरुबाट ५ लाखका दरले पैसा उठाउँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप