नेपालमा आयात हुने विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग
नेपालमा आयात हुने कुल विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग भएको पाइएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बुधबार एक विज्ञप्तिमा जारी गर्दै तरकारी खेतीमा ठूलो मात्रामा विषादी प्रयोग भएको उल्लेख गरेको छ । प्रतिष्ठानले तरकारीमा विषादी प्रयोग गर्दा विभिन्न स्वास्थ्य समस्या देखिँदै आएको समेत बताएको छ ।
स्वास्थ्य समस्याहरूमा आत्महत्याको प्रयास, दूषित खानाबाट विषाक्तका, अनपेक्षित दुर्घटनाहरु र घातक चोटहरूलाई प्रतिष्ठानले समावेश गरेको छ । विषादीको प्रयोगलाई धेरै तीव्र र दीर्घकालीन स्वास्थ्य समस्याहरु अर्थात् नसर्ने रोगहरूसँग समेत जोडिने गरिएको छ । विश्वव्यापी रुपमा कृषिमा विषादी प्रयोगलाई गम्भीर रुपमा बेवास्ता गरिँदै आएको सरोकारवालाहरु बताउँछन् । नेपालमा पनि यो विषयलाई बेवास्ता गर्दा जनस्वास्थ्य चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले २०१६ मा गरेको अध्ययनले नेपालमा विषादीबाट पीडितको सङ्ख्या १० देखि ५० लाख बीच अनुमान गरेको छ । मृत्यु हुनेको सङ्ख्या अनुमानित तीन लाख रहेको जनाइएको छ ।
कृषि क्षेत्र नेपाली अर्थतन्त्रको मुख्य आधार हो । अधिकांश कृषक निर्वाहमुखी खेतीमा आश्रित हुने भएकोले कृषकले विषादी छर्कने गरेका छन् । कृषक निरन्तर विषादीको सम्पर्कमा रहने हुँदा स्वास्थ्यको उच्च जोखिममा रहेको एफएचइएन परियोजनाको अध्ययनले बताएको छ । विषादी छर्कने अधिकाश कृषकहरूको टाउको दुख्ने, मांसपेशीको दुखाइ र श्वासप्रश्वासको समस्या जस्ता गम्भीर स्वास्थ्य समस्याहरु देखिएको गुनासो आउने गरेको छ ।