सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संरक्षणको अभावमा थलियो घण्टाघर

बिहीबार, २३ असार २०७९, ११ : ०१
बिहीबार, २३ असार २०७९

 भनिन्छ– समयलाई न कसैले रोक्न सक्छ, न छेक्न । समयको आफ्नै गति हुन्छ । त्यसी समयको बोध गराउन सुर्खेतको वीरेन्द्रनगरको प्रमुख चोकमा रहेको घण्टाघरको घडी भने १० वर्षदेखि स्थिर छ । घण्टाघरमा रहेका चार वटा घडीले त्यहाँ आउने–जाने जो कोहीलाई अल्मल्याउँछ । चार वटै घडी स्थिर हुँदा सधैँ एउटै समय देखाइरहेका हुन्छन् । कुनै बेला यिनै घडी हेरेर स्थानीयवासीले समय थाहा पाउँथे । अहिले सबैका हातमा मोबाइल छन्, घण्टाघरकै घडीमा निर्भर हुनुपर्ने बाध्यता कसैसँग छैन, यद्यपि लामो समयदेखि बिग्रिएका घडी मर्मतमा कसैको चासो नजानुले यहाँको बेथितिलाई पनि उजागर गरिदिएको छ ।

वीरेन्द्रनगरको खुल्ला मञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँको लागतमा निर्माण गरिएको थियो । भेरी नदी (समजी) घाटमा पुल निर्माण गर्दा बचेको पैसाले टावर बनाइएको जानकारहरु बताउँछन् ।

घण्टाघरबाट वीरेन्द्रनगर उपत्यकालाई नियाल्न सकिन्छ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि घण्टाघर प्रमुख गन्तव्य पनि हो । तर संरक्षणको अभावमा घण्टाघरको शोभा हराउँदै गएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवं घण्टाघरबारे जानकार पिताम्बर ढकाल बताउँछन् ।

‘घण्टाघर भनेको वीरेन्द्रनगरको शोभा हो,’ उनले भने, ‘यसको संरक्षण नगरपालिकाले नै गर्नुपर्ने हो । स्थापनाकालको केही वर्षसम्म घडी चले । ०४७ सालमा नगरपालिकाले घण्टाघर मर्मतपश्चात पुनः सञ्चालनमा ल्याइएको थियो । त्यसपछि बीचबीचमा कहिले चल्ने गरे पनि लामो समयदेखि बिग्रिएका छन् । यसमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने हो ।’

२०५५ सालतिर एमाले नेता यामलाल कँडेल पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा घण्टाघर वरपरको जमिन ओगटेर घण्टाघर टावरको सुरक्षा र पार्कको रुपरेखा कोर्ने उद्देश्यले करिव १ बिगाहा जग्गामा काँडेतार लगाइएको थियो । लामो समयसम्म नगरपालिकाको स्वामित्वमा रहेको पार्क लथालिङ्ग अवस्थामा रह्यो । हाल घण्टाघरलाई उद्यानको रुपमा सञ्चालन गरिएको छ, जसको जिम्मा निजी क्षेत्रलाई दिइएको छ ।

घण्टाघरको जिम्मा लिएका वीरेन्द्रनगरका व्यवसायी चिन्तामणी शर्मा भन्छन्, ‘२०६७ सालसम्म पनि छाडा गाईबस्तु चर्ने अनि दुर्ब्यसनीहरुको अखडाका रुपमा घण्टाघर रह्यो । बिना प्रयोजन नगरपालिकाले यसको हेरालु र अन्य व्यवस्थापनमा हरेक वर्ष ५ देखि ८ लाखसम्म खर्च गर्ने गरेको थियो । पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिकाले २०६७ सालमा पब्लिक प्राईभेट पार्टनरसीपको अवधारणा ल्याई सूचना प्रकाशन गरेपछि मैले जिम्मा लिएको हो । अहिलेसम्म पार्क सञ्चालनमा छ ।’

नगरपालिकाले आफ्नो दायित्व पूरा गरेन

सञ्चालक शर्मा नगरपालिकाका तर्फबाट निर्वाह गर्नुपर्ने दायित्व भने पूरा नभएको बताउँछन् । ‘सम्झौतामा पार्कको रुपमा सञ्चालन गर्न एउटा कार्ययोजना बनाइएको थियो, जसमा नगरपालिका गर्ने र मैले गर्ने काम उल्लेख थियो । मैले गर्ने कामहरु समयमै पूरा भयो,’ शर्मा भन्छन्, ‘कार्ययोजना बमोजिमका तत्काल गर्नुपर्ने कामहरु नगरपालिकाले अहिलेसम्म पनि पूरा गरेको छैन । सम्झौतामा घडीको मर्मत र हेरचाह मैले गर्ने उल्लेख छ ।’

उनका अनुसार सम्झौतामा पुरानो घडीको आयु समाप्त भइसकेकाले नयाँ फेर्नुपर्ने लेखिएको छ । ‘मैले सम्झौता लगत्तै काठमाडौंबाट प्राविधिकहरुको टोली ल्याएर घडी चल्ने बनाएँ, बीचमा बन्द हुँदै चल्दै ग¥यो । २०७७ साल भदौसम्म लगभग ३ वर्ष जति घडी राम्रोसँग चल्यो । २०७७ सालको भदौ महिनामा परेको चट्याङले भने घडीको कन्ट्रोल बक्स पूरै जलेको छ ।’

फेरि काठमाडौंबाट प्राविधिक ल्याएर देखाउँदा अब घडी बन्न नसक्ने रिपोर्ट दिएको उनको भनाइ छ । प्राविधिकहरुले घण्टाघरमा अहिले भएको पुरानो मोडेलको जापनिज घडीको पार्टपुर्जा नपाईने बताएको उनले प्रस्ट पारे ।

शर्माले नयाँ घडी खरिदका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारलाई समेत अनुरोध गरेर बजेट व्यवस्थापन भए पनि नगरपालिकाले घडी ल्याउने काम नगरेकाले बजेट फ्रिज भएको गुनासो गरे । उनले भने, ‘जापानबाट घडी ल्याउन महँगो पर्ने भयो, चीनबारे त्यति थाहा नभएकाले भारतबाट ल्याउने सोचले म आफै भारत पुगेँ । राम्रो क्वालिटीको घडी बेच्ने कम्पनीहरुमा पुग्दा घडीको सबै सिस्टमलाई २०÷२२ लाख पर्ने देखियो ।’

तर यस विषयमा नगरपालिकाले चासो नदिएको उनको भनाइ छ । नगरपालिकाले दायित्व पूरा नगरेपछि आफ्नो निजी सम्पत्ति बचेर घण्टाघरको संरक्षण गरिरहेको उनले दाबी गरे । पूरै मक्किएको टावरलाई दुईपटक मर्मत र रङरोगन गरी आफ्नै केही लगानी र पहलमा बचाइरहेको उनको भनाइ छ ।

पार्कभित्र साना बालबालिका खेल्न पार्क, आकर्षक डिजाइनमा बस्ने र खेल्ने सामग्रीहरु, विभिन्न प्रजातिका बोटबिरुवा, फूलका बगैँचाहरु निर्माण हुँदै आइरहेका छन् । तर संरक्षणको अभावमा बनेका संरचनाहरु पनि जीर्ण बनिरहेका छन् ।

पार्कमा विभिन्न प्रजातिका चरा पनि राखिएको छ । पर्यटकलाई आकर्षित अष्ट्रिज पनि राखिएको थियो तर अहिले दुम्सीमात्र देख्न सकिन्छ । त्यो बाहेक बालबालिकाको लागि खेल मैदान पनि छ । तर पार्कमा रहेका विभिन्न सामग्रीहरु भाँचिएका र टुटेका छन् । खेल्न र मनोरञ्जनका लागि बनाइएका सामग्री पनि जीर्ण अवस्थामा छन् ।

बालबालिकालाई खेल्नका लागि बनाइएको नमुना रेल बिग्रिएको छ । जसले गर्दा घण्टाघरको महिमा हराएको पूर्ण डिन पिताम्बर ढकाल बताउँछन् ।

‘यो राजधानीको मुटुभित्रको पर्यटकीय स्थल पनि हो,’ उनले भने, ‘अर्को कुरा, घण्टाघरमा प्रवेश गर्दा पैसा तिर्नुपर्ने नभई खुला हुनुपर्ने हो । त्यहाँ त बटुवाहरु, बालबालिकाहरु गएर खेल्ने रमाउने र वार्तालाप गर्ने ठाउँ हो । जसले गर्दा यसको पहिला जुन महत्त्व थियो, अहिले हराउँदै गयो ।’

ढकाल घण्टाघरको जिम्मा अरुलाई नदिएर नगरपालिकाले हेरालु राखेर घडी सञ्चालनलाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।

घण्टाघरमा अहिले जताततै फोहोर देखिन्छ । घण्टाघरको सिँढी जीर्ण हुँदै गइरहेका र त्यहाँका भित्ताहरुमा पान, गुट्खा सेवन गरेर थुक्ने र जथाभावी केरमेट भएर कुरुप देखिन्छ । संरक्षणको जिम्मा लिएका व्यवसायी शर्मा अहिले घण्टाघर भनेजस्तो र व्यवस्थित नभए पनि आफ्नो तर्फबाट निभाउनुपर्ने दायित्व पूरा गरेको बताउँछन् ।

घण्टाघरको आम्दानीले पार्क सञ्चालनका लागि आधा खर्च पनि नउठ्ने उनले बताए । बीचमा अवरोधहरु नहुने र लगानीको सुनिश्चितता हुने भए घण्टाघर बेबिलोनको बगैँचा बनिसकेको हुन्थ्यो,’ उनले भने ।

नगरपालिकाले छुट्यायो २५ लाख बजेट

घण्टाघरको विषयमा नगरपालिकाविरुद्धमा एउटा मुद्दा परेको छ । संरक्षणको जिम्मा लिएका चिन्तामणी शर्माले नै आफूले बढी लगानी गरेको र पाउनुपर्ने लगानी नपाएको भन्दै मुद्दा दायर गरेका छन् । नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार मुद्दाको किनारा लागेको छैन ।

ढकालले घण्टाघरको घडी नगरपालिका आफैले बनाउने बताइन् । उनले भनिन्, ‘पहिलाकै कम्पनीको घडी पाइयो र वारेन्टी दिएको खण्डमा पुरानै मोडेलको राखिन्छ । नत्र सिस्टम पनि फेर्न सकिन्छ ।’

नगरपालिकाले आगामी आर्थिक वर्षको विनियोजित बजेटमा घण्टाघरका लागि २५ लाख छुट्याएको छ । बन्द रहेको घण्टाघरको घडीको सुई लगायत बाहिरी क्षेत्रको सौन्दर्यीकरण गरी व्यवस्थापन गरिने प्रमुख ढकाल बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप