मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : हामी बाँची रहनुको कुनै कारण छैन

शनिबार, २५ असार २०७९, ०९ : ३८
शनिबार, २५ असार २०७९

उ अचानक मरिहाल्नु पर्ने  कुनै कारण देख्दिन ।

उ आफू मरेर कसैलाई पछुतोमा पार्छु भन्ने हेतुले मरेको हो भनौँ भने उसको बाको आँखाबाट एक थोपो आँसु खसेन । कालो, बाटुलो  निधारमा खत भएको उसको बाउको अनुहारमा कुनै फेरबदल नै आएन ।

आमाको आँखामा आँसुका थोपा आएर एकै छिनमा बिलाए । जस्तो कि कहिलेकाहीँ मेघका दुई चार थोपा आकाशमै बिलाउँछन् । उसकी आमाले उल्टै भनी, ‘हस्पिटलबाट यता नल्याए पनि हुन्छ ।’

उसलाई भुइँमा लडाएदेखि उसकी सानी छोरीले ‘फेरि आज मरिस है,’ भन्दै घरी लात्ताले हानी, घरी हातले हानी ।

श्रीमतीले त उ जिउँदो छँदै अर्काको घर सम्हाल्न गैसकेकी थिई ।

घैलानले शुद्ध उ मर्दा पनि आफ्नो ३३३ रुपैयाँ रिन सम्झेन ।

उ कुरकुरे बैसमा हुँदा रक्सी खाना साथ रक्सी उसको मुत्नेको टुप्पोमा लाग्थ्यो । र, रात बिरात तरुनी खोज्न हिँड्थ्यो । उसले तरुनीलाई खेदेको, आइमाईमाथि जाई लागेका कुरा गाउँलेले भुल्न सकेका छैनन् । गाउँलेहरुलाई पनि उ मरेकोमा कुनै पछुतो छैन ।

सामाजिक संजालमा समेत उसलाई श्रद्धाञ्जली दिने कोही पनि देखिएन ।

उ मर्दा कसैलाई पनि पछुतो भएन, साँच्चै उ मर्नुको कुनै कारण छैन । उ त्यसै मरिदियो ।

रिन लागेको थियो भनौँ भने न उसले घर बनाएको थियो, न त उसले छोराको बिहा गरेको थियो । उसमा त्यस्तो अहम्ता पनि थिएन, यो अस्थायी जीवनमा एक पक्की घर बनाउने ।

भएकी एउटी छोरीलाई त बेवास्ता गर्ने उसले छोराको बिहा गर्ने अहम् के बोक्थ्यो र ? उ मर्नुका कुनै कारण हैनन् यी ।

उसको नामको अलिकति उधारो रिनमा बद्लिएको थियो । त्यै रिनका कारण उ मर्‍यो भन्नु हास्यास्पद हुन्छ ।

घैलानको पसलमा ३३३ रुपैयाँ उधारो पुगेको थियो । त्यसपछि घैलानले उसलाई उधारो दिन बन्द गर्‍यो ।  घैलान भन्थ्यो, ‘पुरानो रिन नतिरी म तँलाई उधारो दिन्न । आज खाने भए पैला पैसा दे ।’ 

यसरी घैलानले नै उसको उधारोलाई रिनमा बद्लेको हो । उ आफूसँग भएको पाँच, दस रुपैयाँ बुझाउँथ्यो र  पैसा अनुसारको रक्सी खान्थ्यो । जुन रुखमा झुन्डिएर उ सधैँ मर्‍यो, त्यही रुखमुनि गएर बस्थ्यो, मोबाइल चलाउँथ्यो  । कोही मान्छे रुखमुनि आयो भने वा कोही त्यहीँ रुख छेउ भएर हिँड्न लागेको देख्यो भने पैसा माग्न थाल्थ्यो । कोही उ देखि तर्किनका लागि पाँच दस रुपैयाँ दिन्थे भने कोही दानै सम्झेर पाँच दस रुपैयाँ दिन्थे ।  पैसा पाउनासाथ उ फेरि घैलानको पसलमा पुग्थ्यो । उसले दारु खान पाइरहेकै थियो । रिनले उसको मुख बन्द भएकै थिएन । त्यही  रिनको कारण उसले खान पाएन र मर्‍यो भन्नु एकदम हास्यास्पद हुन्छ ।

श्रीमतीले दूधे बालक छाडेर पोइल गई । समाज सामु मुख देखाउन लाज मानेर मर्‍यो भनौँ भने पुरै गाउँलेलाई उसकी श्रीमती पोइल गएको थाहै थियो । गाउँले नै सल्लाह गरेर उसलाई भनिदिएका हुन्, ‘तेरी जोई पोइल गई, अब के गर्छस् ?’ 

उसले दारु खान छोडेन । त्यो तीन वर्ष अघिको कुरा हो । छोरी ९ महिनाकी थिई । तीन वर्षपछि त्यही कारणले मर्‍यो भन्नू त परार मरिन् सासू, अहिले आए आँसु भन्नु सरह नै हो । उ मर्नुपर्ने कुनै कारण थिएन । तर उ मर्‍यो ।

कुनै रोगको कारण मर्‍यो भनौँ भने गाउँमा टीबी नलागेको को छ र ? उ रक्सी मात्रै हैन, टीबीको औषधि पनि त खाइरहेकै थियो ।  उसलाई थाहा थियो औषधि नलागे पनि रक्सी लाग्छ । यति बुझेको मान्छेसँग मर्नुपर्ने कुनै कारण देखिँदैन । तर उ मर्‍यो ।

यति भैकन पनि उ एक सामान्य मान्छे थियो । यदि उ सन्यासी हुँदो हो त जल समाधि लिन्थ्यो होला । यदि  उ क्रान्तिकारी हुँदो हो त आत्मदाह गरेर मर्थ्यो होला । यदि उ प्रखर प्रेमी हुँदो हो त उ आफ्ना नाडीका नशा काटेर मर्थ्यो होला । उ दार्शनिक हुँदो हो त बिष खाएर पनि मर्थ्यो होला  ।  उ सामान्य मान्छे थियो, उसले मर्न पनि सामान्य तरिका नै रोज्यो । उ  झुन्डिएर मर्‍यो  । 

जुन रुखमुनि परापूर्व कालमा एक सन्यासीले मोक्ष प्राप्त गरेका थिए । यो किम्बदन्ती सबैभन्दा बढी सुनाउने उही हो । उ मध्यम वर्गको जँड्याहा हुँदा उ भगवानका कुरा गर्थ्यो, सन्यासीको मोक्ष प्राप्तिको कुरा सुनाउँथ्यो । पहिले जस्तो आइमाईमाथि जाई लाग्थेन । उ फेसबुक चलाईरह्न्थ्यो तर... 

–न कहिल्यै आफ्नो विद्वताको प्रदर्शन  गर्‍यो ।

–न कसैलाई आफ्नो नाङ्गो शरीर प्रदर्शन गर भन्यो ।

–उसले न आफ्नो फोटो हाल्यो, न अरु कसैको फोटो हाल्यो ।

उ एकदम अव्यवहारिक मान्छे थियो । उसले कसैको जन्मोत्सवमा शुभकामना दिदै ट्याग गर्‍यो भन्नु पनि छैन ।

न कसैको मृत्युमा उसले हार्दिक श्रद्धाञ्जली भनेर मृतकका आफन्तीलाई ट्याग गर्‍यो ।

न कसैलाई फोन गर्‍यो, तर उसकोमा आउने हरेकको फोन उठायो । राम्रोसँग कुरा गर्थ्यो र अन्तमा भन्थ्यो, ‘अलिकति पैसा पठाइदिन्छस्, खाता नम्बर पठाइदिऊ ?’ फोन गर्नेले उसलाई हुन्छ भनोस् वा नभनोस् उसले खाता नम्बर पठाउँथ्यो ।

उ मोबाइल चलाइरहँदा  हाँस्थ्यो । उसको हाँसो सस्तो  थियो । उ बेला बेला मुस्कुराउँथ्यो र हाँस्थ्यो । उसको ओठबाट हाँसो त कहिल्यै छुटेकै थिएन । उ मर्नुपर्ने कुनै कारण थिएन ।

उसको हाँसो एकदम मीठो थियो । लामो लामो गहुँगोरो अनुहार, ठुला आँखा, काला कपाल, ठूलो निधार । फरक यत्ति थियो, उसको जिब्रो बाहिर निस्केको थियो ।

उ मरिसकेपछि उसको मोबाइल भेटिएन ।  यही कारणले गाउँ दुई हिस्सामा बाँडिएको छ । एक थरिका  मान्छेले शंका गरेका छन्, ‘कसैले उसको मोबाइलका लागि उसलाई  मार्यो ।’  किनभने  उ मर्नुपर्ने कुनै कारण देखिँदैन । माथि उल्लेखित सबै तर्क उनीहरुले पेश गरिरहेका छन् । मोबाइलकै लागि उसलाई मारेको हुनुपर्छ ।

तर कोही भनिरहेका छन्, ‘उसले अन्तिम पल्ट त्यही मोबाइल बेचेर दारु किन्यो । त्यही दारुको नसामा आत्महत्या गर्‍यो ।’

यो तर्क पेश गर्नेहरु पछुतोले चुक चुक गर्दै भनिरहेका छन्, ‘त्यो जँड्याहाले  बैनीले दया गरी  दिएको त्यो मोबाइल पनि बेचेर दारु खायो  ।’

हुन त उसको बुवाको पुर्खेनी पेसा भनेकै किराना पसल थियो । जहाँ टन्नै बजारका थरी थरी दारु पाइन्थे । तर उ साथीहरूको लहलहैमा लागेर बम्बै हिँड्यो । त्यसै दिन बनबासामा बस कुर्दाकुर्दै साथीहरू सँगै उसले पहिलो चोटी चियर्स भन्यो दारु खायो ।

उ त्यही रुखमुनि बसेर कहिलेकाहीँ सुनाउँथ्यो दारुको पहिलो स्वादको कहानी । उ यसरी सुनाउँथ्यो कि हरेक सुन्ने मान्छेलाई एक फेरा त दारु खानैपर्ने रैछ लाग्थ्यो ।  तर उसकै हालत देखेर दारु खानेहरू शुद्ध डराउँथे ।

बम्बैको दारुले नपुगेपछि उ घर फर्कियो । त्यसपछि उसले सुरु गर्‍यो आफ्नै पसलको दारु चोरेर खान । दारुकै कारण उसको शरीर सकिन थाल्यो भने उसको बुवाको पसल । उसको शरीर र उसको बुवाको पसल समानुपातिक हिसाबमा घटिरहे । आज उसको बुवाको पसल पनि छैन, उसको शरीर पनि छैन ।

एकदिन उसको बुवाले दारुको कार्टुन भरी पानी भरेका दारुका बोतल फेला पार्यो । बाले उसलाई कुटे, गाली गरे तर दारुका बोतलमा पानी भेटिन छोडेन । बाबुको पिटाई र गाली बढ्दै जाँदा उसले पहिला पनि दुई पल्ट आत्महत्या गर्न खोजेको थियो तर असफल भयो । र, आजसम्म बाँचिरहेको थियो । आज उसको बुवाको पसल पनि छैन, उसको शरीर पनि छैन । उसको बुबा आमा अचेल न उसलाई गाली गर्थे न पिट्थे । उ मर्नुपर्ने कुनै कारण थिएन तर उ मर्‍यो ।

जेठ महिनाको दिउँसो सिङ्गो गाउँ सुतेको थियो, चराहरु सुतेका थिए । बस्तुभाउ सुतेका थिए । त्यस गर्मीमा उसले त्यसै रुखमा झुन्डिएर आत्महत्या गर्‍यो  ।

उ मर्नुपर्ने कुनै कारण थिएन, तर उ मर्‍यो ।

...

गाउँलेहरु उ मर्नुपर्ने कारण खोजिरहेका छन् ।  आफू बाँच्नुको कारण किन  कोही खोजिरहेको छैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप