मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रहर र लहडमा कविता लेख्ने कवि होइन नवीन

शनिबार, २५ असार २०७९, ११ : ३४
शनिबार, २५ असार २०७९

‘कविताको एक अराजक प्रेमी !’ यसो भन्दा स्वयं नवीन अभिलाषी रिसाउने खतरा छ । तर म यही भन्न मन पराउँछु । किनकि ऊ कविताका लागि बाँचेको र कविताले बाँचेको मानिस हो । 

जीवनका तीन दशक पार गरिसक्दा उसले केही कुरालाई असाध्यै प्रेम गरेको छ भने त्यो कविता हो । र, त्यसपछिका आफ्ना सपनाहरु । ती सपना भुइँका हुन्, त्यही माटोका हुन्, जुन नवीनका पैतालाहरु छन् । कवितामा आफ्नै पैतालाका कथाहरु लेख्छ उसले । 

अहिले यो क्रुर समय झेलिरहेका मान्छेका सपना कस्ता हुन्छन् ? केही पढ्नु अनि युरोप अष्ट्रेलियातिर उड्नु या देशमै घडेरीहरु जोड्नु । घर बनाउनु, सम्पत्ति थुपार्नु, पद र प्रतिष्ठाका लागि तिकडम गर्नु । तर नवीनले आफ्नो प्राथमिकतामा कहिल्यै नराखेका कुराहरु हुन् यी सबै । बस् ! उसले भनिरह्यो कविता, लेखिरह्यो कविता र कविता भएर बाँचिरह्यो । 

प्यूठानको बिजुलीकोटमा पहिलो पटक धर्ती स्पर्श गरेका हुन् उसका पाउहरुले । बाबु नेपाल प्रहरीको जागिरे । आमा गृहिणी । भर्खर धुलोमा अक्षर कोर्दै गर्दाको समय । दुःख र अभावको कोर्राले हिर्काएपछि गाउँ छोड्न बाध्य हुन्छ, उसको परिवार । दाङको लक्ष्मीपुर बन्छ नयाँ बसोबासको थलो । नयाँ स्कूल, नयाँ साथीहरु, नयाँ परिवेश । यसै उसै रोमाञ्चित हुन्छ उसको मन । किताबको झोला बोकेर स्कूल र घर गरिरहँदा ट्याक्टरको ड्राइभर बन्ने सपना देखेका थिए उसका आँखाहरुले । लामो समयसम्म यही सपना बोकेर बाँचिरह्यो ऊ । तर उसलाई समयले फरक बाटोमा डो¥यायो । रेडियोमा बोल्यो, पत्रिकामा लेख्यो, आज टेलिभिजनको स्क्रिनमा समाचार भन्छ । उसको यो जीवन प्राविधिक जीवन हो, उसको खास जीवन यो होइन । नवीन अभिलाषी अर्कै मानिस हो । भीडमा उस्तै देखिएर पनि फरक छ । उसले भन्छ, मेरो जीवनमा कोही छैन, तर कविताले बाँच्ने उर्जा दिएको छ उसलाई ।

कविता किन लेख्नुहुन्छ भन्ने प्रश्न गर्दा ऊ बोल्छ, मैले मेरो जीवनबारे, बाँचेको समयबारे बोलिरहन, बताइरहन सक्दिन, त्यसैले कविता लेख्छु । हालै बजारमा आएको ‘मौलामा बाँधिएको राँगो’ कवितासँग्रहको अन्तिम पानाहरुमा उसले आफ्नै बारेमा खोइरो खनेको छ, आफ्नोबारे कसले यति निम्न स्तरबाट भन्दो हो ? यसबाट थाहा हुन्छ, नवीनसँग कुनै अहम् छैन ।  
      
हामीलाई थाहा छ, जीवन, समय र राजनीतिबारे चेतना राख्ने मान्छेका दुःखहरु धेरै छन् । एउटा कवि आफ्नो असहमति कवितामा लेख्छ । आफ्नो आक्रोश कवितामा लेख्छ । आफ्नो आँसु कवितामा लेख्छ । आफ्नो दुःख कवितामा लेख्छ । आफ्नो प्रेम कवितामा लेख्छ । यसै पनि कविता अभिव्यक्तिको सबैभन्दा शसक्त माध्यम हो । यही विश्वास छ नवीनलाई । 

नवीन कुनै सिद्धान्त या विचारधारालाई टेकेर कविता लेखिरहेको कवि होइन । जसरी जिन्दगी सुख–दुःख, आँसु, हाँसो, खुशी र पीडाको समग्र प्याकेज हो, ‘मौलामा बाँधिएको राँगो’ पनि तिनै समग्र प्रवृतिहरुको एकमुष्ट फाईल हो । कुनै चित्रालयको वृहत् प्रदर्शनी जस्तो नवीन अभिलाषीको किताब । 

कवितामा कला या विचार ? यो प्रश्न नै अर्थहीन लाग्छ उसलाई । विचार बिनाको कुनै सिर्जना हुनै सक्दैन र कला बिनाको कविता । कला सबै थोक भन्नेसँग सहमत छैन नवीन । र, कवितामा नारा हुनुपर्छ भन्नेसँग पनि असहमत छ ऊ । 

कविता सरल लेखिनु पर्दछ या दुर्वोध्य ? कविता लेखनको क्षेत्रमा यो एक टड्कारो प्रश्न हो । यो विषयमा मैले नवीनसँग थुप्रै पटक बहस गरेको छु, उसका विचारबारे म परिचित छु । यो प्रश्न नवीनलाई तेस्र्याउदा ऊ भन्छ कविता न त अत्यन्तै सरल हुनुपर्छ, न त दुर्वोध्य । कविता बिम्ब र प्रतिकको भाषा भएका कारण अरु विधा जस्तो सरल हुँदैन भन्ने बुझाइ छ उसको । यसै पनि आख्यान पढेजस्तो सहज नभएका कारण कविताको बजार साँघुरो छ भन्ने लाग्दछ उसलाई । 

शंकर लामिछानेले कतै भनेका छन्, मान्छेमा एउटा गुण छैन, त्यो हो मान्छेमा हुनुपर्ने गुण । आज मान्छे बढी मेशिन र कम मान्छे भएर बाँचिरहेको छ । मानवीय संवेदनाको खडेरी छ । यो समयमा सबैभन्दा बढी बाँच्न अफ्ठेरो कोही कसैलाई छ भने त्यो कवि, लेखकलाई छ । बाँच्नुको उकुसमुकुस र छटपटाहटका अनुभूति हुन्, नवीनका कविताहरु । 
‘मौलामा बाँधिएको राँगो’ किताब पाँच खण्डमा विभाजित छ । यसमा उसले आफ्ना कथाहरु भनेको छ । प्रेमलाई पातको आयूसँग तुलना गरेको छ । राजनीतिलाई क्रुर र निर्मम रुपमा आलोचना गरेको छ । जीवनलाई दर्शनको खोलमा हालेर सपाट रुपमा भनेको छ । र, पहिचानका मुद्धाहरु आक्रोशित रुपमा लेखेको छ । 

शुन्यबाट आफू उठेको संघर्षको कथा छ कवितामा । बाँच्ने अभिलाषा हुँदाहुँदै प्राण त्याग्न विवश बाबुको कथा छ कवितामा । मन्दिर भित्रको ढुंगा पुज्छ मान्छे । मन्दिर बाहिरको ढुंगामा दिसा पुछ्छ । ढुंगा जस्तो भएर बाँचिरहन अभिसप्त जिन्दगीको कथा छ कवितामा । भावना र भिन्नताहरु बोल्छ, ‘उदास अक्षर’ ।

आजको युवापुस्ता सबैभन्दा कठिन समयमा छ । हाम्रो शिक्षाले सपना देख्न सिकाएको छ । तर सपना प्राप्तिको बाटो छैन । यसै पनि दुनियामा दुर्घटनामा ज्यान गुमाउनेको संख्या भन्दा आत्महत्या गर्नेको संख्या बढी छ । यो समयमा हरेक युवा हृदयमा ‘चैत’ बोकेर खल्तीमा सुसाइट नोट राख्न विवश छ ।

दुनियामा एक नमज्जाको प्रतिस्पर्धा छ । जसरी हुन्छ, यहाँ मान्छेलाई सम्पन्न बन्नु छ । मान्छे आफू बन्न केही गर्न पछि पर्दैन । त्यसैका परिणाम हुन्, लुट र काटमार । यही परिवेशमा बाँच्न विवश कविले लेख्छ, ‘यादहरुमा आमा’ । जीवनमा हामीले झिना मसिना मानेका कैंयौ कुराहरुले निकै अर्थ राख्दछन् । कविता लेख्न यसै पनि ठूल्ठूला विषय चाहिँदैन । ‘बाको पुरानो चप्पल’मै बुन्न सकिन्छ शानदार कविता । 

कितावको नामले धेरैलाई लाग्न सक्छ, नवीनले कवितामा प्रेम नलेखेको होला । धेरै जसो कविहरु एउटा विचारको चश्मा लगाएर दुनियालाई हेर्छन् । जस्तो देख्छन्, त्यस्तै रङ लेख्छन् कवितामा । तर समग्रतामा बाँचेको जीवनले आफूलाई ढाँटेर अनुभूतिहरु ओकल्ने कुरा हुँदैन । प्रेमले मान्छेलाई खुशी दिन्छ, उत्साह दिन्छ । जीवन फरक ढङ्गले बाँच्ने सपना दिन्छ । प्रेमले आँसु पनि दिन्छ, पीडा पनि दिन्छ । कवितामा जीवन लेख्ने नवीनले प्रेममा निराशा बेगर केही नदेखेको भने सत्य हो । 

देशमा दश वर्षे जनयुद्ध चल्यो । कसैका घर जले, कसैका छोरा ढले । कसैले श्रीमान् गुमाए । बेपत्ताहरुको थर–ठेगाना बेपत्ता नै छ । युद्धका घाउहरु अझै छन् । यसै परिवेशमा लेखिएको कविता हो, ‘भाउजू, किन फुटाउनु भो चुरा ?’ । यो कविताले समग्रमा नेपाली द्वन्द्व र त्यसका परिणतिहरु व्यक्त गर्छ । युद्धबारे लेखिएको यो भन्दा वृहत कविता अर्को होला ? 

व्यवस्था र अवस्था बदल्न नेपाली जनताले बारबार सडक तताए । व्यवस्था बदलिन्छ तर अवस्था भने नबदलिएको तीतो अनुभवसँग नेपाली जनता बाँच्न विवश छन् । आज जुन व्यक्ति सडकको नायक हुन्छ, उही व्यक्ति सत्तामा पुगेपछि ऊ आफूलाई शासक सम्झन थाल्छ । सत्तामा खै के जादु हुन्छ, उसले सारा आफ्नो पृष्ठभूमि बिर्सन्छ । नेपाली राजनीतिको यही तीतो कहानी बोल्छन्, ‘बलियो मानिस, नयाँ शासक, संसद् र एउटा यस्तो देश छ’ कविताहरु ।

देश, देश जस्तो छैन । गरिवी, बेरोजगारी र अभावको बादल एकनास छ नेपाली आकाशमा । प्रत्येक दिन हजारौंको संख्यामा युवाहरु विदेशिनुपर्ने बाध्यता छ । विकृति, विसंगति र हाम्ले निर्माण गरेका सामाजिक मान्यताले हामीलाई नै ‘मौलामा बाँधिएको राँगो’ बनाएका छन् ।

नवीनका कविताहरु आन्दोलन हुन्, विद्रोह हुन् । विद्रोह गर्नलाई कवितामा नारा जरुरी छैन । चर्को गरी कवितामा बोल्न जरुरी छैन । शालिन ढंगले आक्रोश, असहमति व्यक्त गर्न सकिन्छ । प्रमाण, नवीनका कविताहरु आफै छन् । यी रहर मात्रैले या लहड मात्रैले लेखिएका कविताहरु होइनन् । यी पाठकका लागि लेखिएका कविताहरु हुन् । यी समाजका लागि लेखिएका कविताहरु हुन् । 

वर्तमान नेपाली राजनीतिले उठाइरहेका मुद्धाहरु नवीनले कवितामा उठाएको मात्र छैन, त्यो मुद्धाहरुको निर्विकल्प समाधानको दिशानिर्देश गर्ने ल्याकत प्रस्तुत गरेको छ । उसका कविता फगत भावनामा बहकिएर लेखिएका सस्ता शब्दाकार मात्र होइनन्, उसले पूर्णतया सचेततापूर्वक निर्माण गरेको वैचारिक दस्तावेजहरु हुन् । तर प्रश्न छ, उसका कविताले बोकेको यो ओज, यो भार अहिलेको नेपाली कविता लेखनको वृत्तले थाम्न सक्ला ? 

मदिरा, चुरोट, पान या खैनी यस्तै वरपर झुम्छन् कविहरु । कविमा केही न केही अम्मलीको आदत नभएमा के कवि बन्नु र ? यस्तो भाष्य स्थापित छ कविवृत्तमा । जब सोध्नु हुन्छ यो प्रश्न नवीनलाई तब नवीन बोल्छ, ‘म यत्तिकै पनि माते जस्तै छु । म हरबखत कविताको नसामा हुन्छु, अनि किन अरु कुराहरु खोज्नु ?’

नवीनको कविता कृति भर्खरै बजारमा पुगेको छ । यो बजारको सुगन्धले कतै नवीन आख्यानतिर ढल्किने त होइन । यो खतराबाट कवि नवीन जोगियोस् । तर ‘मौलामा बाँधिएको राँगो’को जीवन बचाउन असम्भव रहेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप