आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसमी कामदार बनेर यूके पुगेका युवाको दिनचर्या : सोचेझैँ जिन्दगी रैनछ !

आइतबार, २६ असार २०७९, १४ : ४७
आइतबार, २६ असार २०७९

कञ्चनपुरका रोहनजंग ठकुरी ८ असारमा बेलायत गए । मौसमी कामदार (सिजनल वर्कर) को रूपमा गएका उनी यूकेको हेरिफोर्डमा स्ट्रबेरी टिप्ने काममा छन् । हरेक दिन बिहान ४ बजे उठ्नु अनि ५ बजेदेखि स्ट्रबेरी टिप्न जानु उनको दिनचर्या बनेको छ ।

दिउँसो एक घण्टाजति विश्राम हुन्छ । कामको चापअनुसार ७ घण्टादेखि १२ घण्टासम्म चल्छ । ‘हामीलाई हरेक दिन टार्गेट दिइन्छ । त्यसैले छिटो गर्न भन्छन् । स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने बढी ड्युटी हुन्छ, रोहनले भने ।

स्ट्रबेरी टिपाइमा घण्टाको भन्दा पनि क्रेटको हिसाबले पारिश्रमिक दिइन्छ । जबकि नेपालबाट लैजाँदा उनलाई घण्टाको हिसाबले पारिश्रमिक पाउने भनिएको थियो । उनी अहिले एक क्रेट स्ट्रबेरी टिपेको ३ पाउण्ड पाउँछन् । कामको चाप अनुसार दिनको २० देखि ३५ क्रेटसम्म स्ट्रबेरी टिप्छन् ।

नेपालमा एजेण्टले घण्टाको १०.१० पाउण्ड पाइन्छ भनेको थियो । तर, यहाँ आएर त क्रेटको हिसाबले पैसा दिइरहेको छ, यूकेबाट उनले रातोपाटीसँगको कुराकानीमा उनले भने । घण्टाको १०.१० पाउण्ड पाउने भनेपछि दिनमा ८० पाउण्ड भन्दा बढी आम्दानी हुन्छ भन्ने उनको अनुमान थियो । तर, अहिले सरदर ६० पाउण्ड अनि ८० पाउण्ड कहिलेकाहीँ मात्र हुन्छ ।

रोहनले काम गर्ने कम्पनीमा ५० जना नेपाली छन् । ती मध्ये २ जना महिला थिए, एक जना भागेर पोर्चुगल पुगिसकिन् । नेपालीबाहेक उक्त कम्पनीमा युक्रेन, बुल्गेपरया, रुस लगायतका १६० जना विदेशी कामदार छन् ।

​उनीहरुलाई बस्नको लागि क्याराभान दिइएको छ । एउटा कोठामा ६ जनासम्म बस्छन् । एक जनाले बस्न मासिक २२५ पाउण्ड र खानाको एक सय पाउण्ड तिर्नुपर्छ । त्यस्तै बीमाको भनेर २५ पाउण्ड तिर्नुपर्छ ।

रोहनले १५ दिनको ७ सय पाउण्ड तलब पाइसकेका छन् । ‘यसरी हेर्दा सबै खर्च कटाएर मेरो एक महिनाको १५ सय पाउण्ड जति पैसा वचत हुन्छ होला, उनले भने । 

रोहन नेपालबाट जाँदा दुई जना मात्रै साथी थिए । यूकेको एयरपोर्टमा ट्याक्सी रिजर्भ गरेर ठेगाना दिइएको कम्पनीमा सिधै पुगेका थिए । एजेन्टलाई ६ लाख रूपैयाँ तिरेर गएका थिए । ‘एक जना चिनेको दाइ हुनुहुन्थ्यो । उहाँले यूके जाने भए खुलेको छ, ६ लाख रूपैयाँ खर्च लाग्छ भन्नुभयो । सबै प्रक्रिया पुरा भएर भिसा आइसकेपछि ६ लाख तिरेको थिएँ, रोहनले भने ।

उनको ५० दिनमा भिसा आएको थियो । एजेन्टले एजी रिक्वारमेन्टमार्फत् उनलाई यूके पठाएको रहेछ । तर, उनलाई अहिले पो थाहा भयो, आफैले पनि अनलाइनमार्फत् आवेदन दिन सकिने रहेछ भनेर ।

उनले कुनै दिन स्टाबेरी प्याकिङको काम पनि गर्नुपर्छ । त्यसको पारिश्रमिक भने घण्टाको १०.१० पाउण्ड दिइन्छ ।

सोचेजस्तो छैन

अहिले यूके जाने र सिजनल वर्करबारे धेरै नेपालीले चासो राखिरहेका छन् । श्रम कार्यालयको तथ्याङ्कअनुसार जेठसम्ममा ९ सय ३७ जना नेपाली यूके पुगिसकेका छन् । अहिले भने थप प्रक्रिया रोकिएको छ ।

उता रोहन भने नेपालमा सोचेजस्तो यूके पुगेर काम गर्न सजिलो नरहेको बताउँछन् । कहिल्यै घर परिवारबाट टाढा नरहेका रोहनलाई बेला बेला परिवारको यादले सताइ रहन्छ । दिनभर बारीमा काम गर्दा कहिले भोक लाग्छ त कहिले प्यास लाग्छ । थकानको त कुरै छैन । जे जस्तो भएपनि दुःख गरेर काम गर्नुको विकल्प छैन ।

नेपालमा हुँदासम्म विदेश कहिले जान पाउँला जस्तो लाग्थ्यो । यता आएपछि त पुरै आकाश पातालको फरक हुँदोरहेछ, रोहनले भने ।

नेपालबाट आउनेहरूलाई खेतमा गएर कडा श्रम गर्ने मनसायसहित आउन सुझाव दिन्छन् रोहन । ‘नेपालमा केही काम नगरेर बसी बसी खाएकाहरूले काम गर्न सहज होला भन्ने सोच्नुभयो भने साह्रै गाह्रो हुन्छ । त्यही मनसाय बनाएर आउनुभयो भने राम्रै हुन्छ, उनले भने ।

नेपालबाट जाने क्रममा रोहनलाई स्टाबेरी टिप्न एकदमै सजिलो हुन्छ जस्तो लागेको थियो । तर, स्टाबेरी टिप्न थालेपछि सुनेको र बेलायतमा आफूले भोगेको कुरामा आकाश पातालको फरक पाएको उनलाई दुई सातामै महसुस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप