सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड, केपी ओली र शेरबहादुरलाई बोलाएको छु, आए भने माटो दिएर पठाउँछु : हर्क साम्पाङ (भिडियोसहित)

‘म हेपिने मान्छे होइन’
आइतबार, २६ असार २०७९, १६ : १८
आइतबार, २६ असार २०७९

देशरभबाट जितेका स्वतन्त्र उम्मेदवारहरुको भेला काठमाडौंमा हुँदा धरानका प्रमुख हर्क साम्पाङ भने सहभागी भएनन् । बरु उनी पकुवा खोलामा पानीट्याङ्की बनाउन श्रमदान गर्न हिँडे । उनलाई उक्त भेलाप्रति खासै चासो पनि थिएन । किनकि उनको एजेण्डा धरान र धराने जनताको एजेण्डा थियो । भेलामा सहभागी नभएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वतन्त्रको संगठन हुँदैन । स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि !’ साम्पाङ अहिले पनि विभिन्न श्रमदानमा जुटिरहेका छन् ।

पार्टीका शीर्ष नेतालाई माटो छुन सुझाव दिने साम्पाङ आफू भने धुलाम्ये र हिलाम्य थिए । अन्तरवार्ताका क्रममा उनले नेताहरुलाई सुझाव दिँदै भने, ‘माटो छुनुपर्‍यो नि ! राजनीति गर्छु भनेरमात्रै हुन्छ हावामा ? माटो छोएका छैन, दुःख बुझेको छैन, पीडा बुझेको छैन । त्यसले के राजनीति गर्छ ?’

उनै साम्पाङसँग विविध विषयमा रातोपाटी सम्वाददाता अर्जुन आचार्यले पकुवा खोलामै पुगेर कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं खानेपानी योजनाका लागि श्रमदानमा हुनुहुन्छ, श्रमदानमा जनताको आकर्षण कसरी बढाउनुभयो ?

खुसीको कुरा के हो भने जनतालाई मैले विकाससँग जोड्न सकेँ । जनतालाई विकाससँग जोड्न सकेपछि हरेक जनतालाई यो काम आफ्नो पनि हो भन्ने लागेको छ । त्यसैले धरानका युवाहरु स्वतस्फूर्त आएका छन् जो कि इतिहासमै यस्तो भएकै थिएन । भविष्यमा भने यस्ता धेरै काम गर्ने मेरो योजना छ । यहाँ हामी जेसीबी लगेर पनि खन्न सक्थ्यौं । यहाँ जेसीबी प्रयोग गर्दा पानी हराउँदो रहेछ । त्यसकारण हामी यो सबै काम मेनुअल्ली गरिरहेका छौं । शारीरिक श्रमकै आधारमा गरेका छौं । यो उदाहरणीय काम हो ।

यो पानीले कति पुग्ला र ?

यो पानीले पूरै सहरलाई पुग्नेचाहिँ हुँदैन । यसपछि अरु मुहानमा पनि हामी जान्छौं । धरानका खोला, खोल्सी सबै ठाउँबाट पानी बटुल्छौं । जंगलबाट पम्पिङ गर्दा बिजुलीको बिलमात्रै मासिक ३० लाखसम्म तिर्नु परेको देखिएको छ । ६ महिनामा हामीले १ करोड ५३ लाखको बिल तिरेको पायौं । पम्प मर्मत गर्दा, कुरुवालाई राख्दा, अन्य खर्च हुँदा करोडौं खर्च हुने गरेको देखियो, त्यो खर्चलाई हामी बचाउँछौं । तलबाट पानी तान्दा धेरै बिजुली खाँदो रहेछ । अब माथिबाटै पानी लगेपछि त पम्पले तान्नु परेन । धरानको पैसा बचाउनका लागि पनि यो विधि अपनाइरहेका छौं ।

यहाँ श्रमदान गर्नुभयो । अन्य खोलाखोल्सीमा पनि यसरी नै श्रमदान नै गर्ने ?

हुँदैन । सबैमा श्रमदान गरेर त कहाँ हुन्छ र ? श्रमदान गर्न सक्ने कुरामा श्रमदान हुन्छ । ठूलाठूला पोखरी बनाउन खोजेका छौं । त्यो पोखरी सबै धराने जनतालाई खनाउन लगायौँ भने त पिरामिड नै बनाउन लाग्यो कि के हो भनेजस्तो हुन्छ । म्यासेज त सकारात्मक नै जान्छ होला (हाँस्दै) । पहिलेपहिले हात्ती, घोडा के के प्रयोग गरेको थियो रे भनेजस्तै हुनजान्छ । त्यस्तो हुँदैन । इक्वीपमेन्ट जेसीबी, एस्काभेटर लगाउनु पर्ने ठाउँमा लगाउँछौं । यो एउटा उदाहरणीय काम हो । यसलाई हेर्नका लागि मात्रै हेटौंडादेखि पनि मानिसहरु आउनु भएको छ । मैले नेताहरुलाई पनि बोलाएको थिएँ तर आएका छैनन् ।

तपाईंले पोखरी बनाउने कुरा पनि गर्नुभएको थियो । कहाँ पुग्यो त्यो कुरा ?

अहिले पानीट्यांकी भएको डाँडामा पोखरी बनाउन अध्ययन गर्दैछौं । त्यहाँ ठूलो पोखरी बनाएर पानी जमाउने । मंसिरको पानी जमाएर फागुन र चैतमा प्रयोग गर्ने भन्ने योजना बनाएको छु । त्यसका लागि केही संस्थाले सहयोग गर्ने भन्नुभएको छ । त्यसले सम्भाव्यता अध्ययन गर्दैछ । त्यो प्रोजेक्ट अगाडि बढ्छ । हामी त्यहाँ बनाउँछौं । हामी सर्दुको मुहानमा मिनी हाइड्रो प्रोजेक्ट पनि टेस्ट गर्ने तयारीमा छौं ।

अहिले तपाईले पकुवाबाट लगेको खानेपानी आयोजना अस्थायीजस्तो देखियो । दीर्घकालीन हिसाबले चाहिँ के काम हुँदैछ ?

हामीले ३० वर्षदेखि ५० वर्षसम्मका लागि खानेपानी खुवाउने गरी संघीय खानेपानी आयोजनामार्फत पहिलो चरणको डिपिआरको काम हुन लागेको छ । त्यो भनेको कोशीको पानी डाँडामा लिफ्ट मार्फत पुर्याउने र त्यहाँबाट पानी वितरण गर्ने भन्ने कुरा हो । मैले त्यहाँ ३२ इन्चको दुई वटा पाइपबाट पानी ल्याउनु पर्छ भन्ने कुरा राखेको छु । ३२ इन्चको पाइप भनेको दुई वटा खोला जत्रो हो । त्यति विघ्न पानी धरानमा सप्लाइ गर्नुपर्छ । धरानमा कम्तीमा ४ वटा स्वीमिङ पुल हुनुपर्छ । त्यो प्रोजेक्टका लागि अहिले मैले सम्वाद गरिरहेको छु । उहाँहरुले एक वर्ष समय डीपीआर गर्न लाग्छ भन्नुभएको छ । त्यसलाई हामीले प्राप्त गर्दैछौँ । यो ‘गुड न्यूज’ हो । अहिले बनाउँदै गरेको त ‘सर्ट टर्म’ हो । खर्दुको अलिक पछिसम्मको आयोजना हो ।

अब फरक कुरा गरौं, दुई दिन अगाडि बजेट पास गर्न खोज्दा वडाध्यक्षहरुलाई तपाईंले ‘स्वतन्त्र भनेर हेपेको’ भन्ने कुरा गर्नुभएको थियो ? वास्तवमा तपाई आफूले पनि हेपिएको अनुभूति गर्नुभएको हो ?

एउटा कुरा के याद गर्नु भने हर्क साम्पाङलाई कसैले हेप्न सक्दैन । म एक लाख जनासँग एक्लै लड्न पनि डराउँदिन । १÷२ जनाले कराउँदैमा डराउने कुरा होइन । म हेपिने मान्छे पनि होइन । तर, मैले डाइलग त दिनुपर्‍यो । अब भन्नु त पर्‍यो नि त, गज्याङगुजुङ गरिरहनुहुन्छ । त्यस्तो बेलामा ‘हैट...’ भन्नु त पर्‍यो नि (हाँसो..) ।

काम गर्ने कुरामा नीतिगत ढंगले वा कागजी हिसाबले केही अप्ठ्यारो भएको छ ?

कागजी हिसाबले पनि केही अप्ठ्यारो हुन्छ । त्यही भएको हिसाबले अभियानको बेलामा भन्दा केही सीमित पनि भएको छु । त्यसबेला जस्तो कुरा पनि उठाएर हिँड्न सक्थेँ । केही दायरा त छ नि, लिमिटेसन पनि छ । तर, मैले प्रतिबद्धता जाहेर गरेको कुरालाई पूरा गर्न लागिरहेको छु ।

ढुंगा बोक्ने काम मेयरको होइन भनेर आलोचना गर्नेलाई अब पाइप बोक्छु भनेर फेसबुकमा जवाफ लेख्नु भएको थियो नि ?

(हाँस्दै...) त्यही भएर आज मैले ढुंगा नबोकेर पाइप तानेको हो त । आज मैले तार पनि बोकेँ (लामो हाँसो) । उहाँहरुले मलाई खिसिट्यूरी गर्नुहुन्छ । उहाँहरु सम्भवतः विपक्षी दलका कार्यकर्ता होला । कुल्ली, मजदुर, किसान भन्नुहुन्छ मलाई । म कुल्ली, मजदुर र किसान नै हुँ । म सानो मान्छे हुँ । त्यही भएर त यत्रो जनता मेरो वरिपरि छन् । ठूलो मान्छे भएको भए त कहाँ हुन्थ्यो र ? अर्को चुनावमा मात्रै भेट हुन्थ्यो होला । म हिजो पनि जनतासँगै थिएँ । अहिले पनि जनतासँगै छु । जनतासँगै रहन्छु, हुनेछु । सरल जीवनशैलीलाई मैले परिवर्तन गर्नुपर्छ भन्ने पनि छैन । आजै बिहान पनि वृक्षारोपण गरेर धुलैधुलो हिलैहिलो सहित यहाँ आएको हुँ ।

जो मान्छेले माटो छुँदैन नि त्यो मान्छेलाई माटोको मायाँ पनि हुँदैन । मैले प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा र राजेन्द्र लिङ्देनलाई पनि बोलाएको छु तर आएका छैनन् । आए भने माटो दिएर पठाउँछु । माटो छुनुप¥यो नि ? राजनीति गर्छु भनेर मात्रै हुन्छ हावामा ? माटो छोएको छैन, दुःख बुझेको छैन, पीडा बुझेको छैन भने त्यसले के राजनीति गर्छ ? त्यो धरातलमा उभिएको मान्छे होइन म । विरोधीले कम्ता भन्छन् र मलाई ? मेयर भएर ढुंगा बोकेको छ भन्छन् । मेयर भएर अफिसमा काम मैले के गरेको छैन ? मेयरले गर्ने काम त मैले १०० प्लस १ गर्छु नि । शनिबार आएर काम गरेको पनि आलोचना गर्छन् । म काम गरिरहन्छु, विरोधीले विरोध गरेर के हुन्छ र ?

तपाईं काठमाडौंमा भएको स्वतन्त्र जनप्रतिनिधिहरुको भेला जानुभएन, किन ?

म भनेको धराने जनताप्रति इमानदार भएर काम गर्नुपर्छ भन्ने मान्छे हुँ । म नितान्त फरक छु । कतिले तपाई नै हो मेयर ? भन्नुहुन्छ । म होइन, मेरो भाइ हो भन्छु (हाँसो) । मेयर भन्ने बित्तिकै करोडौंको गाडीमा हिँड्नुपर्ने, बडीगार्ड लिएर हिँड्नुपर्ने, अरुसँग मिडियासँग पनि नबोल्नुपर्ने रैछ । त्यही भएर म फरक भएँ क्या ! त्यही भएर मानिसले सोध्छन्– तपाई नै हो त मेयर भनेर । अनुहार त ठ्याक्कै मिल्छ त भन्छन् । अनि म उत्तर दिन्छु– म होइन, मेरो भाइ हो । (हाँसो....)

मैले सोधेको काठमाडौंको भेलामा नजानुको कारण चाहिँ के हो ?

म अलिक फरक छु । उहाँहरु भेला गर्नुहुन्छ । मलाई पनि निमन्त्रणा गर्नुभएको थियो । स्वतन्त्रको संगठन हुँदैन । स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि ! स्वतन्त्र भनेको एक्लै हुन्छ नि ! त्यही भएर पनि हो । उहाँहरुले संगठन बनाउन खोजेजस्तो लाग्यो । मैले उहाँहरुलाई शुभेच्छा दिए । समय पनि थिएन । व्यस्त पनि भएँ । म धरानभन्दा बाहिर नगई नहुने ठाउँमा मात्रै जान्छु । त्यस्तो कार्यक्रममा जान्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप