आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुष्टि भएका अन्तर्घातमा बिना मोलाहिजा कारबाही !

स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा चार कारण (एमाले अपानि–४ सहित)
सोमबार, २७ असार २०७९, १० : २०
सोमबार, २७ असार २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा अपेक्षित परिणाम आउन नसक्नुमा चार प्रमुख कारण रहेको औँल्याएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा गत निर्वाचनमा ५ दलीय गठबन्धनको घेराबन्दी र षड्यन्त्रका बाबजुद लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रूपमा स्थापित भए पनि सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु गम्भीर र सोचनीय विषय भएको बताएका छन् ।

अध्यक्ष ओलीले एमालेले लोकप्रिय मत पाउनुको निष्कर्ष जनताको मनमा पार्टीप्रति विश्वास, भरोसा र समर्थन अझ बढिरहेको तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने र  निर्वाचन परिणाममा ढाल्ने क्षमतामा गम्भीर समस्या देखापर्नुमा विभिन्न समस्या रहेको उल्लेख गरेका छन् ।

‘पार्टी एकीकरणको तयारी, एकीकरण, त्यस लगत्तै केन्द्रीय कमिटीबाहेक सबै कमिटी भङ्ग गरिएपछि उत्पन्न कमिटीविहीन अवस्था, कमिटी एकीकरणमा उत्पन्न जटिलता, त्यसपछि उत्पन्न पार्टीभित्रको आन्तरिक किचलो र पार्टी विभाजनको अवस्था आदिका कारण हामी लामो समयसम्म सङ्गठन सुदृढीकरण गर्ने काममा केन्द्रित हुन पाएनौँ’, कारणबारे अध्यक्ष ओलीले भनेका छन्, ‘यी चुनौतीलाई पार गर्दै गत वर्ष असोजदेखि मात्रै आधारभूत तहबाट शृङ्खलाबद्ध कमिटी निर्माण प्रक्रिया सुरु हुन सक्यो । समयाभाव र कमिटी निर्माणमा कतिपय असावधानीले गर्दा हाम्रा आधारभूत कमिटीहरू जुन स्तरमा जनतासँग जोडिन सक्नुपर्थ्यो, स्थितिको विश्लेषण र त्यसलाई पार्टीको पक्षमा रूपान्तरित गर्न जति सक्षम हुनुपर्थ्यो, कतिपय ठाउँमा त्यस्तो हुन सकेन ।’

पार्टीको कमजोर सङ्गठनात्मक प्रणाली प्रतिकूल परिणामका लागि एउटा महत्त्वपूर्ण कारण बन् नपुगेको एमालेको निष्कर्ष छ । त्यस्तै उम्मेदवार छनौटमा भएका त्रुटिहरू अपेक्षित परिणाम आउन नसक्नु अर्को कारण औँल्याएको एमालेले यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरू देखापरेको जनाएको छ । ‘आफू या आफूले सिफारिस गरेको व्यक्तिले उम्मेदवारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरू देखापरे । यसमा पार्टीका कतिपय जिम्मेवार कार्यकर्ता नै संलग्न भएको समेत देखियो’, ओलीले जारी गरेको अपानी–४ मा भनिएको छ । परिभाषित जिम्मेवारीसहित नेता–कार्यकर्ताहरूको समुचित विन्यास, प्रभावशाली र मतदाताको मन जित्ने खालको प्रचार शैली, प्रभावकारी मतदाता शिक्षा, मतदाताको घरदैलोमै पुगेर मन जित्ने प्रयास र धाँधलीका सूक्ष्म रूपको अध्ययन र त्यसको प्रतिवादजस्ता कतिपय विषयमा समेत चुक्न पुगेको एमालेको ठहर छ । ‘मतदाता शिक्षामा गम्भीर हुने र जनताको घरदैलोमा पुग्नेभन्दा पनि बाहिरी र प्रचारात्मक चुनावी अभियानमा बढी केन्द्रित हुनाले वाञ्छित परिणाम ल्याउन सकेन’, ओलीले भनेका छन् ।

ओलीले स्थानीय निर्वाचनमा प्रमाणित र पुष्टि भएका अन्तरघातहरुमा पार्टीले बिना मोलाहिजा कारबाही गर्ने समेत अपानीमा उल्लेख गरेका छन् । ‘प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पुर्‍याएर बिना मोलाहिजा कारबाही गर्ने’, ओलीले आइतबार जारी गरेको अपानिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप