आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक मूल्याङ्कनको सामन्ती शैली, रूढिग्रस्त मापदण्ड

कर्मयोगी शिक्षकलाई ‘पुरस्कारका लागि निवेदन देऊ’ भन्नु घोर अपमान
मङ्गलबार, २८ असार २०७९, १२ : २१
मङ्गलबार, २८ असार २०७९

लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास निर्देशनालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुर, दाङले हालै गरेको एक सूचनाको अवधि अढाइ घण्टाको मात्रै दिएर जग हँसाइ गरेको छ । यही असार २ गते दाङ र रुकुम (पूर्वी भाग) का “उत्कृष्ट शिक्षक र कर्मचारी तथा शैक्षिक संस्थालाई प्रोत्साहन कार्यक्रम सम्बन्धि” एउटा सूचना प्रसारण गरेको रहेछ ।

उक्त सूचना शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरले असार ८ गते  दिउँसो २ बजेर २३ मिनेटमा आफ्नो आधिकारिक फेसबुक पेजमा  पुनःप्रकाशन गर्यो । स्मरणीय कुरा त के छ भने सूचनामा आवश्यक कागजात बुझाउने अन्तिम म्याद पनि “असार ८ गतेभित्र” भन्ने उल्लिखित छ ।

अन्यत्रका शिक्षकहरूले उक्त सूचना कति दिन अघि थाहा पाउनुभयो होला वा अझै थाहा पाउनुभएको छैन होला । तर, तुलसीपुर उपमहानगर भित्रका अधिकांश शिक्षक र कर्मचारीहरूले पहिलोपल्ट थाहा पाउँदा निवेदनका लागि करिब अढाइ घन्टा जति समय मात्र बाँकी थियो ।

फेसबुकमा पोस्ट हुँदासाथ एक जना सायद शिक्षकले “आज अन्तिम दिन, ३ बजे सूचना हाल्ने कस्तो राम्रो चलन” भनेर ‘कमेन्ट’ लेख्नु भयो । त्यसपछि ‘एडमिन’को तर्फबाट तत्काल मिति संशोधन गरेर असार १० गते अन्तिम मिति बनाइयो । अहिलेसम्म सो सूचना यथावत छ । त्यसमा अहिलेसम्म निकै कम लाइक, कमेन्ट र शेयर छ ।

यसले यस्ता कर्मकाण्डी काम वा कुरामा आम शिक्षक र कर्मचारीको खासै रुचि र चासो छैन भन्ने प्रष्ट्याउँछ । आठ जनाले आआफ्ना ‘कमेन्ट’मार्फत व्यक्त गरेको व्यङ्ग्य, विरोध र कटाक्षयुक्त अभिमतलाई आधार मान्ने हो भने मात्र पनि यसको उद्देश्य, औचित्य र विश्वसनीयतामाथि स्वतः प्रश्नचिह्न खडा हुन्छ ।

यहाँ उदाहरणका लागि उक्त सूचनालाई आधार मानेर चर्चा गरिए पनि यो हाम्रो देशको राजनीतिक, प्रशासनिक तथा शैक्षिक क्षेत्रको आम विकृत र विसङ्गत प्रवृत्तिप्रतिको आलोचनात्मक टिप्पणी हो भनेर बुझ्दा पक्कै पनि अत्युक्ति हुने छैन । 

सूचनाको पेटबोली खण्डको अन्त्यतिर “उत्कृष्ट शिक्षक र कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोले इच्छुक शिक्षक र कर्मचारीहरूले सम्बन्धित स्थानीय तहमा निवेदन पेस गर्नु हुन” भन्ने एउटा वाक्यांश रहेको छ । यही निकृष्ट आशययुक्त वाक्यांशले नै हाम्रो लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको छ । हाम्रो असफल राजनीतिक तथा प्रशासनिक प्रणालीको ऐना देखाएको छ । “व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ” भन्दै विकासे ढ्वाङ फुक्नेहरूलाई कुरीकुरी गर्छ ।

समाजवादोन्मुख शिक्षा प्रणालीको पाखण्डी गफ जोत्नेहरूलाई नाकै दोब्रिने गरी लोप्पा खुवाइ दिएको छ । संविधानका धारा–उपधारा, ऐन–नियमका दफा–उपदफा वा जेसुकै हुन्, तिनमा लेखिएका कुरा फगत कागतका खोस्टा हुन् । ती त केवल हात्तीका देखाउने दाँत हुन् । आम मान्छेलाई सपनाका भुलभुलैयामा अल्झाएर सत्ताको तर मार्ने ‘छट्टु बिरालाका’ नयाँ नयाँ प्रपञ्च मात्रै हुन् । खास चपाउने दाँत त सूचनामा उल्लिखित यही कलुषित वाक्यांश हो ।

संविधानको लिखित दस्तावेजअनुसार हामी समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्रको शासकीय अभ्यासमा छौँ तर व्यावहारिक दृष्टान्तका शृङ्खलालाई साक्षी राखेर हेर्ने हो भने हाम्रा शासक, प्रशासकको सोच, शैली, चिन्तन, चरित्र र प्रवृत्तिले ‘जहानियाँ, निरङ्कुश, तानाशाही, सामन्ती’ भन्दै वर्षौ  सरापेका राणा र पञ्चहरूलाई समेत माथ गर्छन् । शैक्षिक परिवर्तनको जति ठूलो डम्फु बजाए पनि खासमा ‘चाकरीका चक्रपाणि’हरूलाई बक्सिसको चारो हाल्दै स्तुतिको ‘श्रीमान् गम्भीर...’ गाउन लाउनु र स्वाभिमानका ‘कृष्णलाल’हरूलाई गोर्खे लौरी कसेर गोलघर जाग्दै प्रतिपल ‘मकै पर्व’को व्यूह रचना गर्नु नै तिनको खास असली चरित्र र चिन्तन हो भन्ने कुरा बुझ्न यही एक वाक्यांश काफी छ ।

सूचनामा “इच्छुक शिक्षक र कर्मचारीले...निवेदन दिन” भनिएको छ । के शिक्षकको वास्तविक आदर्शबाट प्रेरित उत्कृष्ट शिक्षकले पुरस्कारको आशा गरेर काम गर्छ ? के साँच्चिकै उत्कृष्ट शिक्षकले ‘पुरस्कार पाऊँ’ भनेर कहिल्यै निवेदन हाल्छ ? जसले निवेदन हालेर पुरस्कार माग्छ, त्यो कसरी उत्कृष्ट शिक्षक हुन्छ ? कम्तीमा पनि शिक्षकको गरिमा र आदर्शलाई बुझेको व्यक्तिले यस्तो निकृष्ट कार्यमा भाग लिने कल्पना पनि गर्न सकिँदैन ।

निष्काम कर्म’को आदर्श सिकाउने निष्ठावान शिक्षकहरूलाई पुरस्कारका लागि विन्तीपत्र हाल्न उर्दी जारी गर्नु वास्तवमा शिक्षकहरूका लागि प्रोत्साहन होइन, गम्भीर दुरुत्साहन हो । आदर्शको हत्या होस्वाभिमानको बलात्कार हो, नोकरशाही तन्त्रको जिउँदो अवतार हो ।

शिक्षकले आफ्नो उत्कृष्टताको दावीसहित पुरस्कार माग्न निवेदन चढाउने हो भने शिक्षासम्बद्ध सरकारी निकायहरूको काम, कर्तव्य के हो ? के शिक्षाका हाकिम साहेबहरूको काम, कर्तव्य र अधिकारमा कहीँ कतै विद्यालयको अनुगमन निरीक्षण गर्नुपर्ने भन्ने लेखेको छैन ? कक्षाकोठा अवलोकन, निरीक्षण र शिक्षकको कार्यसम्पादनको मूल्याङ्कन गर्नुपर्ने भन्ने तोकेको छैन ? के स्कुल ‘राम्रो’ बनाउने ठेक्का शिक्षकको मात्रै हो ?

शिक्षकको उत्कृष्टता मापन कामका आधारमा गर्ने हो कि कागजका आधारमा ? विद्यालयमा पाइलै नटेकी, शिक्षकको अनुहारै नदेखी उत्कृष्टता र निकृष्टता नाप्ने के त्यस्तो जादुगरी छ हाकिम साहेबहरूसित ? के शिक्षक मूल्याङ्कनको लागि लोकतान्त्रिक पद्धति सुहाउँदो विधि र प्रक्रिया यही हो त ? के एक्काइसौँ सदीको सूचना प्रविधि पनि शिक्षकका दैनिक क्रियाकलापको तथ्य जाँच गर्न कामयाबी हुन नसकेकै हो त ?

शिक्षकका पेसागत हकहितका लागि भन्दै लिङ्गो ठड्याएका यति धेरै सङ्घ, सङ्गठन नामका गुट, उपगुट र महागुट छन् तर सब चुपचाप छन् । यस्ता गैरलोकतान्त्रिक चरित्रका प्रक्रियामा तिनीहरू किन मौनधारण गरिरहन्छन् ? पहिलो त तिनीहरू शिक्षा क्षेत्रका ‘हरिया सर्प’ हुन् । शिक्षाभित्र लुकेर शिक्षालाई नै लाई डस्नु तिनको मूल अभिष्ट हो । शिक्षकको रूप धारण गरेर शिक्षककै गरिमा विषाक्त बनाउन सक्नु तिनको महान् उपलब्धि हो ।

शिक्षक संघ संगठनका ठालुहरू बाहिर बाहिर ठूल्ठूलो स्वरले पेसागत हकहितको नारा लाउँछन्, हड्ताल र जुलुसको आह्वान गर्छन्पैसा उठाउँछन् । देशैभरिबाट सुधा शिक्षक भेला गरी ढुङ्गा हान्न भन्छन्, टायर बाल्न भन्छन् र भित्रभित्रै आफ्नो कुत्सित स्वार्थका लागि ‘बार्गेनिङ’ गरिरहेका हुन्छन् । अहिले सार्वजनिक शिक्षाको जो बेहाल छ, यसको लागि अधिकतम जिम्मेवार तिनै हुन् ।

दोस्रो, यी किन चुपचाप छन् भने यस्ता झुर ‘आइडिया’ तिनीहरूकै मगजमा फुर्ने गर्छन् । शिक्षा क्षेत्रका कतिपय नीतिनिर्माणमा अचेल तिनकै हाँकोडाँको ठूलो हुन्छ । तेस्रो, यस्ता मान, पदवी, पुरस्कार, सम्मान सकेसम्म तिनीहरू आफूबाहेक अरूलाई पर्दै नपरोस् भन्छन् । चाकरी बजाएर होस् वा घुर्की लाएर होस् वा भागबण्डा लाएर भए नि आफैँले जिप्ट्याउन र अरू निरीह शिक्षकका अघि  पाखण्डी उत्कृष्टताको जुरो हल्लाउँदै फाँ–फाँ र फूँ–फूँ गर्न चाहन्छन् ।

चौथो, कथम्कदाचित्  आफूलाई नमिल्ने भयो भने आफ्ना वरिपरिकालाई पार्न लगाएर जीवनभर उसलाई आफ्नो कमारो बनाउनमा उद्यत हुन्छन् । त्यसैले ती चुपचाप छन् । कतिपय ‘हुतिहाराहरू’ केही बोल्यो भने आफ्ना इष्टदेव रिसाउँछन् र तुच्छ स्वार्थमा प्रलय आउँछ भनेर पनि मौनव्रत लिएका होलान् ।

सूचनासँगै “उत्कृष्ट शिक्षक छनौटका आधार तथा मापदण्ड” भनेर केही बुँदाहरू र तिनको सीमाङ्कन पनि तोकिएको छ । तर शिक्षक मूल्याङ्कनका लागि तोकिएका आधार समयसापेक्ष र वास्तविक तथ्य जाँच गर्ने खालका नभई चरम पुरातन, कर्मकाण्डी र रूढिग्रस्त छन् । ती मापदण्डले वास्तविक उत्कृष्ट शिक्षकको छनोट गर्न सक्छन् भनेर सोच्नु पनि हास्यास्पद हुन्छ ।

पहिलो आधार कार्यानुभव भनेर सेवा प्रवेशको जेष्ठतालाई लिइएको छ र जसमा ५ वर्षसम्म ५ अङ्क, ७ वर्षसम्म ७ अङ्क र सोभन्दा माथि १० अङ्क भनेर प्राप्ताङ्क पनि किटान गरिएको छ । उमेरको जेष्ठता वा नोकरीको अग्रता कसरी उत्कृष्टताको मापदण्ड हुन सक्छ ? कोही अरुभन्दा अगाडिदेखि नै काम गरिरहेको छ भन्दैमा उसको कामलाई उत्कृष्ट मान्न सकिन्छ र ? औसतमा बिताएका बीसौँ वर्ष उत्कृष्ट कि विशिष्ट कार्य गरेर बिताएका पाँच वर्ष वा एक वर्ष उत्कृष्ट ? घामले पाकेको उत्कृष्ट कि कामले पाकेको उत्कृष्ट ?

दोस्रो आधार शैक्षिक उपलब्धिअन्तर्गत आफूले अध्यापन गर्ने विषयको पछिल्लो ३ वर्षको औसत जिपिए १.५ सम्म भए १०, २ सम्म भए १५ र २ भन्दा माथि भए २० अङ्क तोकिएको छ । कुन कक्षाको औसत जिपिए ? जस्तै माध्यमिक तहकै लागि भनौँ  ९, १०, ११ वा १२ कुन कक्षाको हो ? मापदण्ड स्पष्ट छैन । कमसेकम कुनै स्तरीकृत परीक्षालाई आधार मान्नुपर्छ । शिक्षकले पेस गरेको तथ्याङ्क विश्वसनीय र वैध हो, होइन भनेर तथ्य जाँच गरिनुपर्छ ।

जुनसुकै कक्षालाई पनि आधारको रुपमा लिने हो र विश्वसनीयता मापन नगर्ने हो भने कामचोर छट्टु शिक्षकहरुले सुरुदेखि प्रतिस्पर्धालाई मध्यनजर राखी सुनियोजित कार्य गर्नेछन् र वास्तविक कर्मयोगी शिक्षकहरू अन्यायमा पर्नेछन् । पुरस्कारका लागि निवेदन हाल्न सक्ने लालची शिक्षकले पुरस्कारकै लागि कृत्रिम तथ्य तयार गर्न सक्दैनन् भनेर विश्वास गर्न सकिने आधार के ?

तेस्रो आधारमा  शैक्षिक योग्यताअन्तर्गत न्यूनतम शैक्षिक योग्यता भए ५ अङ्क र माथिल्लो शैक्षिक योग्यता भए १० अङ्क भनेर तोकिएको छ ।  माथिल्लो शैक्षिक योग्यता पेसागत उत्कृष्टताको आधार कसरी हुन्छ ? के सर्टिफिकेटमा उल्लेखित अङ्क नै व्यक्तिको पेसागत उत्कृष्टता वा निकृष्टता जाँच्ने मापदण्ड हो ? के संसारसिद्ध तथ्य यही हो त ?

यस प्रसंगमा गान्धीको ‘थर्ड डिभिजन’लाई के भन्ने, उत्कृष्ट कि निकृष्ट ? आइन्साटाइन, बिल गेट्स वा थोमस एल्वा एडिसनको दृष्टान्त के हुन् ? आठ पढेका सिद्धिचरण उत्कृष्ट कि उनका कविता कण्ठ गरेका डिग्रीधारी उत्कृष्ट ? जो जो सफल शिक्षक भनेर प्रसिद्धि कमाएका छन्, के ती सबैले शैक्षिक योग्यताकै कारणले सफल भएका हुन् ? के न्यूनतम शैक्षिक योग्यता भएकोले पेसागत कार्यमा उत्कृष्टता हासिल गर्न सक्दैन ? उदाहरण जति पनि छन् त ।

चौथो आधारमा विशेष जिम्मेवारी अन्तर्गत जिम्मेवारी नलिएको भए ५ र लिएको भए १० अङ्क तोकिएको छ तर कुन कुन जिम्मेवारीलाई विशेष मान्ने कुनै विस्तृत खुलाइएको छैन । विशेष जिम्मेवारी लिनु मात्रै उत्कृष्टताको आधार हो कि जिम्मेवारी कति हदसम्म पूरा गर्यो वा गरेन भन्ने कुराले उसको कार्यकुशलतामा फरक पार्ने हो ? विद्यालयका जिम्मेवार पद कुनै पनि नछोड्ने तर काम भने सिन्को नभाँच्ने उत्कृष्ट हो कि, पदविनै चुपचाप जिम्मेवारी पूरा गरिरहने र नतिजा हासिल गराइरहने उत्कृष्ट हो ?   

पाँचौँ आधारमा प्रवद्र्धनात्मक कार्य शीर्षकअन्तर्गत शिक्षकले गरेका प्रवद्र्धनात्मक काम सङ्ख्या बढीमा ५ वटाको १० अङ्क तोकिएको छ ।  प्रवद्र्धनात्मक कार्य के सम्बन्धि ? शिक्षण सहजीकरण क्रियाकलाप सम्बन्धि ? कक्षाकोठा व्यवस्थापन सम्बन्धि ? सिकाइ सामग्री निर्माण सम्बन्धि? मूल्याङ्कन पद्धतिस म्बन्धी वा अरु कुनै ? कि शिक्षकले शिक्षणसँग व्यापार व्यवसाय वा कुनै धन्दाको प्रबद्र्धन गरेवापत बहादुरीको अङ्क पाउने हो ? कार्यालयमा उपरखुट्टी लाएर कक्षाकोठामा गरिएका प्रवद्र्धनात्मक कार्यको फेहरिस्त कसरी थाहा हुन्छ ? तथ्य जाँचको प्रक्रिया के हो

छैटौँ आधारमा अध्ययन अनुसन्धानअन्तर्गत आफूले अध्यापन गर्ने विषयमा पछिल्लो तीन वर्षमा गरेका अनुसन्धान ३ सम्म भए ५ अङ्क र सोभन्दा बढी भए १० अङ्क तोकिएको छ । आफ्नो विषयमा पछिल्लो तीन वर्षमा गरेका अनुसन्धानका बारेमा कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका, जर्नल आदिमा छापिएका लेख रचना वा मान्यताप्राप्त प्रकाशित र अप्रकाशित प्रतिवेदनलाई आधार मानिने हो वा कार्यसम्पादन मूल्याङ्कन फरामसाथ संलग्न कार्यमूलक अनुसन्धानको प्रतिवेदनलाई आधार मानिने हो ? यदि पछिल्लोलाई आधार मान्ने हो भने त्यो अनुसन्धान कार्य सम्बन्धित शिक्षकको हो वा होइन भन्ने तथ्य जाँच गर्ने कि नगर्ने ?

सातौँ आधारमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगअन्तर्गत सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न नसक्ने भए शून्य अङ्क र आफूले मात्र जानेको तर कक्षाकोठामा प्रयोग नगरेको भए १० अङ्क र कक्षाकोठामा प्रयोग गरेको भए २० अङ्क तोकिएको छ ।  कुनै शिक्षकको सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धिको दक्षता जाँच गर्ने आधार के हो ? प्रयोगात्मक परीक्षणविना कसरी थाहा पाउने कि कुन शिक्षक प्रविधिमा कति दक्ष छ ? यही प्रयोजनको लागि पठाइएको निवेदन पनि त अरूको सहयोगमा मेल गरिएको हुन सक्छ । तथ्य जाँचको प्रक्रिया के हो ?

आठौँ आधारमा कक्षाकोठा व्यस्थापन शीर्षकअन्तर्गत नियमित गृहकार्य परीक्षण, मासिक जाँच र एकाइ जाँच जस्ता सूचक सबै प्राप्त भएमा १० अङ्क, कुनै दुई मात्र सूचक प्राप्त भएमा ५ अङ्क र कुनै पनि नभएमा शून्य अङ्क तोकिएको छ ।

कक्षाकोठा व्यवस्थापन भनेको के हो ? यसअन्तर्गत कुन कुन पक्षको व्यवस्थापन पर्दछ ? के के हुन् कक्षाकोठा व्यवस्थापनका रणनीतिहरू ? कक्षाकोठा व्यस्थापनमा कहाँबाट आयो, एकाइ जाँच र मासिक जाँच ? गृहकार्य परीक्षण, एकाइ परीक्षा, मासिक परीक्षासँग सम्बन्धित सूचकहरुको तथ्यको सत्यता  जाँच हुन्छ कि हुँदैन ? वास्तविक र कृत्रिम पत्ता लगाउने विश्वसनीय यन्त्र, संयन्त्र के छ ?

यदि यी सवालहरुको निराकरण हुँदैन भने केवल औपचारिकता पूरा गर्न आयोजना गरिने यस प्रकारका कर्मकाण्डी प्रतियोगितामा सहभागी हुनुको अर्थ र औचित्य छैन । स्वाभिमानी, निष्ठावान् र कर्मयोगी शिक्षकहरूले यस्ता रूढिग्रस्त आयोजनामा सहभागिता जनाएर खिन्न हुनुभन्दा उपेक्षाभावले अनदेखा जस्तो गर्नुमै हितकर हुन्छ ।

शिक्षक प्रोत्साहनको लागि पुरस्कार र दण्डको व्यवस्था अवश्य हुनै पर्छ । असलले इनाम पाउनै पर्छ र खराबले दण्ड भोग्नै पर्छ । यसमा दुई मत हुनै सक्दैन । तर त्यो कृत्रिम कागजी फेहरिस्तका आधारमा होइन, वास्तविक व्यवहार कौशलका आधारमा हुनुपर्छ । उत्कृष्ट छनोटको आधार बिन्ती पत्रमा होइन, कक्षाकोठामै खोज्न जानुपर्छ ।

 यद्यपि पोहोर पनि यस प्रकारको सूचना जारी गरिएको थियो र केही शिक्षकहरूलाई पुरस्कृत गरिएको खबर सामाजिक सञ्जालमा देखिएको पनि थियो । कोरोना कहरले लगातार दुई शैक्षिक सत्रदेखि सम्पूर्ण शैक्षिक, शैक्षणिक कार्यक्रम नै अस्तव्यस्त भइरहेको अवस्थामा ती शिक्षकहरूले सम्पादन गरेका कुन कुन कार्यलाई आधार मानियो होला ? लामो अवधि विद्यालय बन्द भएको बेला कुन गृहकार्य, कुन एकाइ जाँच, कुन मासिक जाँचलाई आधार मानियो होला ? के विषयमा कार्यमूलक अनुसन्धान गरिएको थियो होला ?

पुरस्कृत हुने शिक्षकहरूमध्ये कतिपयको स्कुलमा कम्प्युटर नै छैन । कतिपयलाई कम्प्युटरमा खासै दख्खल छैन, तैपनि सूचना प्रविधिको प्रयोगमा उत्कृष्ट उहाँहरूले के कस्ता नौला अभ्यासको सफल प्रयोग गर्नुभएकोले उत्कृष्ट हुनुभएको हो भन्ने बारेमा आम शिक्षकलाई किन जानकारी गराइएन ? अरू शिक्षकहरूलाई पनि उहाँहरूका ती उत्कृष्ट अभ्यासहरूलाई सिको गर्न किन नीति निर्देशन दिइएन ?

किनकि यो आयोजना शैक्षिक उन्नयनको वास्तविक उद्देश्य प्रेरित नभई असारे विकास देखाउने फगत पाखण्डी कर्मकान्ड थियो । शिक्षक सेवा आयोगले प्रत्येक शैक्षिक सत्रको अन्तमा ‘कासमू’ फाराम भर्न लगाउँछ । त्यस फाराममा उल्लिखित मूल्याङ्कनका आधार, विधि र प्रक्रियाहरू तथा व्यावाहरिक रूपमा हुँदै आएका विकृतिले ग्रस्त विसङ्गत अभ्यास हेर्ने हो भने झन वैराग लागेर आउँछ । यस प्रकारका विधि प्रक्रियाले न त शिक्षकको पेसागत अभिरुचिमा थप उत्प्रेरणा सिर्जना गर्दछन्, न त सम्बन्धित निकायप्रति आम शिक्षक वर्गको विश्वास नै कायम गर्न सक्छन् । बरु घृणा, आक्रोश र ग्लानि मात्र पैदा गर्दछन् ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” भन्दै गीतावचन सिकाउने  कर्मयोगी र स्वाभिमानी शिक्षकका लागि यी पुरस्कार, यी पदवी, यी माला, यी खादा, यी स्वागत, यी सम्मान, यी पद, यी प्रतिष्ठा खालि देखावटी दुनियाँका आडम्बरी स्वाङ मात्र हुन् । उनीहरूलाई दुनियाँका झिलिमिली स्वाङले कुनै आकर्षण गर्दैनन् ।

आफ्ना प्रत्येक विद्यार्थीको मनमस्तिष्कमा आजीवन ‘एक असल शिक्षक’ को बिम्ब बनेर बाँच्न पाइयोस् भन्ने नै शिक्षकहरूको जीवनको मूल अभीष्ट हुन्छ । त्यसकै लागि उनीहरू हरक्षण निष्काम कर्म गरिरहेका हुन्छन् । यस्ता निष्काम कर्मयोगी शिक्षकलाई ‘पुरस्कारका लागि निवेदन देऊ’ भन्नु वास्तवमा प्रोत्साहन होइन, घोर अपमान हो ।

लेखक दीपेन्द्र माध्यमिक विद्यालय मानपुर, दाङका शिक्षक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भूपाल आचार्य
भूपाल आचार्य
लेखकबाट थप