सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आकर्षण बढे पनि उपेक्षामा आयुर्वेद औषधालय

मङ्गलबार, २८ असार २०७९, १२ : ३१
मङ्गलबार, २८ असार २०७९

गाउँघरमा बुढापाकाहरु विभिन्न रोगको उपचारमा अझै जडीबुटीकै भर पर्दै आएको अवस्थामा सहरतिर ‘एलोपेथिक’ औषधिकै प्रयोग बढ्दो छ । यद्यपि, नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को प्रकोप सुरु भएपछि भने आयुर्वेदतर्फ मान्छेको आकर्षण बढ्यो । जडीबुटीको भण्डार मानिने कर्णाली प्रदेशले नै आयुर्वेदिक औषधिको प्रयोग तथा प्रवर्द्धनमा जोड नदिएपछि अन्य प्रदेश र संघ सरकारले स्वाभाविक रुपमा यसलाई उपेक्षा गरेका छन् ।

कोरोना महामारीपछि आयुर्वेद स्वास्थ्य संस्थाहरुमा सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गएको आयुर्वेद चिकित्सकहरु बताउँछन् । प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा कार्यरत डाक्टर विनिता तिवारी जडीबुटीबाट बनेको औषधि प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको बताउँछिन् ।

उनी भन्छिन्, ‘जडीबुटीबाट बनेको औषधिले शरीरलाई कुनै असर गर्दैन । कोरोनाकालमा मान्छेहरुले आयुर्वेदिक औषधिप्रति रुची देखाए । विगतको तुलनामा अहिले आयुर्वेद सेवा लिनेको संख्या बढेको छ ।’

तिवारीका अनुसार पछिल्लो चार आर्थिक वर्षमा आयुर्वेद सेवा लिने बिरामीको संख्या एक लाख १९ हजार ९७० छ । चालु आर्थिक वर्षमा ४० हजार ८६ जनाले आयुर्वेद सेवा लिएको उनले जानकारी दिइन् । गत आर्थिक वर्ष यस्तो सेवा लिनेको संख्या २८ हजार ३५५ थियो ।

बिरामीको विवरण

आर्थिक वर्ष ०७५/०७६ मा २२ हजार ९२ जनाले आयुर्वेद सेवा लिएका थिए भने ०७६/०७७ मा यो संख्या बढेर २७ हजार ३५५ पुग्यो । ०७७/०७८ मा ३० हजार ४३६ जनाले आयुर्वेद सेवा लिएका थिए ।

तिवारीका अनुसार कर्णालीमा निजी सामुदायिक आयुर्वेद स्वास्थ्य संस्था एउटामात्र छ भने प्रदेशका २८ वटा पालिकामा मात्रै आयुर्वेद सेवा विस्तार भएको छ । यस्तै ३९ वटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।

आयुर्वेद चिकित्सक डाक्टर दीपेन्द्र रानाभाटका अनुसार धेरैजसो दुखाई सम्बन्धी समस्या भएका बिरामीले आयुर्वेद सेवा लिने गरेका छन् ।  यस्तै नसा, हड्डी दुख्ने, खिएको, पेटका बिरामी, ग्याष्ट्रिक भएका बिरामीहरुले पनि आयुर्वेद सेवा लिने गरेका छन् । महिलामा हुने विभिन्न समस्या, फिस्टुला, उच्च रक्तचाप सम्बन्धीका बिरामी पनि आयुर्वेद स्वास्थ्य संस्थामा आउने गरेको उनको भनाइ छ ।

४४ प्रकारका औषधि/सेवा

नेपाल सरकारले २३ प्रकारका आयुर्वेद औषधि दिने गरे पनि प्रदेश आयुर्वेद औषधालयले ४४ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । प्रदेश आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. यादव उपाध्यायका अनुसार औषधालयले निःशुल्क ओपीडी सेवा, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क स्तनवर्धक औषधि वितरण, र स्वास्थ्य जीवनशैली व्यवस्थापन अन्तर्गत दैनिक योग, ध्यानजस्ता सेवा तथा कार्यक्रमहरु गरिरहेको छ ।

यस्तै स्वास्थ्य जीवन कार्यक्रम, जीवनशैली व्यवस्थापन, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा विद्यालय आयुर्वेद शिक्षा लगायतका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । उपाध्यायका अनुसार एक्सरे, भिडियो एक्सरे, सशुल्क फार्मेसी सेवा पनि सञ्चालन भइरहेका छन् भने अबको एक वर्षभित्र फिजियोथेरापी र अकुपंचर सेवा विस्तार गर्ने तयारी छ ।

आयुर्वेद औषधालयले तीन आर्थिक वर्षमा २८ लाख १४ हजार ६४ रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

उपेक्षामा आयुर्वेद औषधालय

आयुर्वेद सेवातर्फ नागरिकको आकर्षण वृद्धि भए पनि आयुर्वेद सेवालाई सरकारले उपेक्षा गर्दै आएको छ । औषधालयका प्रमुख डाक्टर शंकर रिजालका अनुसार औषधालयमा जनशक्तिको अभाव छ । हाल औषधालयमा कार्यालय सहयोगीसहित १७ जनामात्र कर्मचारी छन् । तीमध्ये केहीमात्र दरबन्दीमा छन् भने अधिकांश करारमा छन् ।

प्रदेश सरकारले अहिलेसम्म आवश्यक दरबन्दी पास गरिदिएको छैन । रिजालले भने, ‘अन्य प्रदेशका आयुर्वेद औषधालयहरु अस्पतालमा रुपान्तरण भइसकेका छन् तर कर्णालीमा रुपान्तरण हुन सकिरहेको छैन भने आयुर्वेदलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्न पनि सकिएको छैन । धेरैजसो नागरिकले यसलाई स्वास्थ्य बिमासँग जोड्नुपर्ने माग गरिरहेका छन् ।’

रिजालका अनुसार आयुर्वेद औषधालयमा भौतिक संरचनाको पनि अभाव छ । प्रदेश सरकारसँग पटकपटक गुहार माग्दा पनि सुनुवाई नभएपछि संघ सरकारबाट आयुर्वेद अस्पताल र औषधि निर्माणतर्फका दुवै भवन निर्माणको काम भइरहेको छ ।

उनले भने, ‘कर्णाली जडीबुटीको भण्डार हो । जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ । कर्णालीको राजस्व वृद्धिको स्रोतसमेत जडीबुटी नै हो तर सरकारले यसतर्फ ध्यान दिएको छैन ।’

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो बजेट छुट्याउने गरे पनि सरकारको नीति, कार्यक्रम र बजेटमा आयुर्वेद स्वास्थ्य क्षेत्रलाई नसमेटेको उनको गुनासो छ । आयुर्वेद औषधालयमै कार्यरत वैद्य घनश्याम सारु भन्छन्, ‘प्रदेश सरकारले आयुर्वेदिक विज्ञानलाई हेला गरिरहेको छ । सरकारले जडीबुटी प्रशोधन र व्यावसायिक खेतीतर्फ आकर्षित हुने खालका कार्यक्रम अघि बढाउनुपर्छ ।’

कर्णालीका धेरैजसो क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा नरहेको उल्लेख गर्दै उनले ती क्षेत्रका नागरिकले अझै पनि जडीबुटीको प्रयोग गरेरै रोग निको पारिरहेको भए पनि प्रदेश सरकारले भने आयुर्वेद क्षेत्रलाई उपेक्षा गरिरहेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप