सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

मङ्गलबार, २८ असार २०७९, १७ : १८
मङ्गलबार, २८ असार २०७९

सानै उमेरदेखि  व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए । इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । उनले छ वर्ष कोरिया बसाइँ टुङ्ग्याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका छन् । 

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् । “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो  जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो” उनले भने, “दुःख त कोरियामा धेरै नै हुन्छ  तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।” जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् । 

उनले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गरेका हुन् । सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा  अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताए ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले भने । “सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन” जिसीले भने,“अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।” 

उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन् । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उनले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिए ।  कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी  पनि गर्न सकिन्छ । 

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि  दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताए । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप