मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : भानुभक्त

बुधबार, २९ असार २०७९, ११ : १६
बुधबार, २९ असार २०७९

पहिलो जुनी,
विसं १८७१ असार २९ मा आए भानुभक्त
र गए,–
विसं १९२५ असोज ६ सँगै
दोस्रो जुनी,–
भए आदिकवि
कतै चिम्सा आँखा !
कतै लामो नाक !
कतै गोरो वर्ण !
कतै कालो वर्ण !
कतै पूर्ण कद !
कतै अर्ध कद !
कतै रथयात्रा !
कतै अबिरजात्रा !
तेस्रो जुनी,–
भए माछा
नदीको लहरमा कविता लेख्दा लेख्दै
एक दिन अचानक
खायो गोहीले
बयालीस लाख जुनीपछि
भए किम्बुको रूख
शरद ऋतुको आँखैअघि
खायो रेशम कीराले
चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
मानिसको जीवनको कुनै भर छैन
र हिँडे भानु,–
अमरावती कान्तिपुरी नगरी
हतारमा बिर्सेछन् बिर्केटोपी
बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि गोल्डस्टार सुज
झोलामा टावेल, गन्जी, कट्टु
एसएलसीको सर्टिफिकेट
र श्री प्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट, रु सात सय पचास
र, आमाको सादा तस्बिर
बालाजु, बसपाक, धरहरा,
घन्टाघर,रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला अवला
जब ढल्क्यो घाम
गमे कविजी ‘कता जाम ?’
कविले कविको मर्का बुझ्छ
सम्झे उनले चित्तधर
खल्तीमा छ रु सात सय पचास
लच्छिनकी रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झे उनले चुँदी, रम्घा
झर्यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख
किनकि,–
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ रामायण । 
० (बिसे नगर्चीको बयानबाट)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप