मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक अंश

सिन्दूर

शनिबार, ३२ असार २०७९, ०६ : ००
शनिबार, ३२ असार २०७९

गाउँमा माइला बाको परिवार आदर्श परिवारमा गनिन्थ्यो । सबै कुरा राम्रो थियो । एक दिन बिहानै माइला बा गर्जिए, ‘म तिमीहरू सबैको धरोहर हुँ । म ढलेँ भने जति नै चिच्याएर टाउको फोडेर रगत बगाए पनि एक चिम्टी सिन्दूर बराबर हुँदैन ।’ 

माइली आमाले माइला बाको कुरा केही बुझिनन् । तर, आफूमा उम्लिइरहेको तेज वायुलाई रोकेर एक चिम्टी सिन्दूर बराबर शब्दमा आफ्नो ध्यान लगाइन् । अनि यही शब्दले उनलाई शान्त र निशब्द बनायो । अघिसम्म लगाएको घुर्की पनि माइली आमाले यसरी भुलिन्, मानौँ समुन्द्र किनारको बालुवामा लेखिएको कुनै शब्द पानीको एक छल्काले भर्खरै मेटेर गयो ।

ठूलो आवाजमा गर्जेको मेघ वर्षापछि रोकिएझैँ सन्नाटा छायो माइला बाको आँगनमा । वरपर लागेको तुवाँलो हट्यो । तर, वर्षा पछिको फिसफिसे झरीझैँ विस्तार विस्तार सुक्सुकाइरहिन् माइली आमा । यतिबेला छोराबुहारी पनि पूर्ण रूपमा नीला भए मानौँ उनीहरूको शरीरबाट भएभरको रगत झिकेर कसैले लग्यो । 

विशाल आँधी थामियो । ठूलो अनिष्ट हुनबाट बच्यो एउटा कालजयी समय । परेवाका बच्चाहरू आँधी रोकिएपछि विस्तारै आँगनमा आए । त्यहीँ नाचे, खेले र रमाए । बचेराहरूले आँधीको अर्थ बुझेनन् । बुझुन् पनि कसरी ? तिनीहरूलाई त माउले गुँडमा छोपेर लुकाएको थियो । 

माइला बाका अगाडि बोल्ने त के शिर उठाएर हेर्ने आँट पनि कसैको थिएन । त्यसो त माइला बा आफैँँमा आदर्श पुरुष थिए । उनी आफू भोकै बसेर पनि अरूको छाक टार्थे । दुःख–पीडा आफ्नै बराबर मान्थे र त उनी दुनियाँका माइला बा थिए । 

माइली आमाको चाहना थियो– एउटा राम्रो घर बनाउनु भन्ने । तर, माइला बासँग त्यति धेरै पैसा थिएन । उनले पहिले नै आफूसँग पैसा नभएको जनाउ परिवारमा दिएका थिए । तर जसरी पनि एउटा घर बनाउनै पर्ने दवाव थियो उनी माथि । माइली आमाको असन्तुष्टि त्यही थियो । माइला बा शालीन र शान्त स्वभावका भएका कारण उनलाई पारिवारिक कचकच पटक्कै मन पर्दैनथ्यो । 

माइला बा गर्वका साथ भन्थे, ‘अर्काको ऋणी हुनुभन्दा पुरानो घरको बास हजार गुणा वेश ।’ वास्तवमा हो पनि । अरूको ऋणी हुनु भनेको उसको गुलाम हुनु बराबर हो । यो कुरा माइला बाले राम्ररी बुझेका थिए । माइला बा आफ्ना पितापुर्खादेखि नगरेको यो काम गर्नै सक्दैनथे । आधुनिकतामा अल्झदै गरेको परिवारिक झगडाको मुख्य बीउ यही थियो । 

माइला बाले परिवारलाई आफ्नो पितापुर्खाको इतिहास सम्झाउँदै भने, ‘बोलेर पिँजडामा पर्नुभन्दा आकाशमा स्वतन्त्र विचरण गरेर कावा खानु मजा हो । यी नपत्याए हेर,’ भन्दै आफ्नो कौसीमा रहेको पिँजडाको सुगालाई देखाए । 

‘यो बोल्ने लालचाका कारण पिँजडामा छ । नभए आज आकाशमा कावा खादै घुम्दै गरेको हुने थियो । लोभ यस्तै चिज हो । यसलाई समयमा नै चिन्नु राम्रो हो । आफूमा भएको कुरालाई सदुपयोग गरेर रमाउनु एकदमै राम्रो हो । नहुने कुराको खोजी गर्दा पिँजडाको बास हुन्छ ।’ 

माइला बाका यी कुराले सबैको मनको अन्धकार हट्यो हटेन थाहा भएन तर, माइला बाको मुहार भने उज्यालो देखियो । हिमालमा बिहानको पहिलो किरण परेजस्तै ।

फेरि चकमन्न छायो । हावाको प्रवेग रोकिएझैँ । सबैजना आँटी र मेचमा बसे । अघिसम्म चलेको सभा त अब पो सुरु भए झैँ देखियो । तर, कोही बोलेन । मौनतामा कुनै इशाराबिना सभा सकियो । कसैलाई पुरस्कार र दण्ड घोषणा गरिएन । अन्त्यमा माइला बाले भने, ‘हुरी चलिरहन्छ, घरको राम्रो बाँदछाद गर्नु ।’ थाहा छैन उनका कुरा कसले कति बुझे ?

माइला बाले आफूले ओडेको मयलपोस किलामा राखे र धारामा मुख धोए । आफूले गरेको पाप पखाल्न लागेझैँ । बिस्तारै मलिन स्वरमा ‘हे गंगे ! तिमी कति निर्झर छ्यौ, सारा फोहोरलाई तिमी बगाएर आफूमा समाहित गछ्र्याै ।’ यो वाक्य सुनेर झोक्राइरहेको छोरो वीरध्वज मेचबाट उठ्यो । आफ्नो दोष मेटिएको ठानेर । ऊ उठेको देखेर परेवाका जोडी डराए र भुर्र अलिपर उडे ।

केही समयपछि वीरध्वज जागिरको खोजीमा हिँडे । उनले एउटा राम्रै जागिर पाए पनि । तर, जागिर के पाए भन्नु ? जसरी घरमा खर्च गर्थे, त्यसरी खर्च गर्दा त खाजा खर्च पनि नचल्ने । अनि उनले आफ्नो बाबुले भनेको स्वतन्त्रताको कुरा बुझे । जागिरको महत्व र औचित्य पनि । 

उनी केही महिनाको जागिरे जीवन बिताएर पुनः घर फर्के । जहाँ बगैचामा फुलेका फूल र आरुका बोटहरू हेरेर रमाए केही समय । केही वर्षपछि उनी असल कृषक बने । उनले संसार भुले । आत्मा ज्ञान र अध्यात्मलाई अंगिकार गरे । तब उनले जीवनको अर्थ र परिवारको मोह बुझे । 

ज्ञानको खोजी आफूभित्रबाट नै गर्ने सकिने कुरा उनले बुझेका थिए । र, त यतिबेला उनी निर्भिक थिएँ । उनले बाबुका कुरामा मन दुःखाएनन् । परिवारको अगाडि शिर झुकाउन बुद्धिमानी ठानेका उनले आफ्नो शरीरलाई बसमा राखेका थिए । उनले बुझेका थिए– रिस देखाउनुभन्दा त्यसलाई रोक्न कयौंँ गुण बल चाहिन्छ । तर त्यो विशाल भीमकाय क्रोधलाई सानो कमिलो ठानेर मुठ्ठी कसेर बसेका थिए । अहिले त्यही शक्तिमा उनी उभिएका छन् ।

जीवनको मोल बुझ्नका लागि शान्त रहनुपर्ने कुरा वीरध्वजले बुझे । गहिरा नदीमा स्वर नहुनुको कारण र पहराको प्रतिध्वनिको ज्ञान खुलेर आयो । पानी पर्दा अन्धकार खुलेपछि बादल फाट्यो । धर्ती रसिलो देखियो । यो नयाँ अङ्कुरणका लागि सही समय हो, उनको मनमा यही शान्तभाव पानीको मूल झैँ कलकल गरिरह्यो ।

यो घटना भएको केही समयपछि कान्छी छोरीको विवाह सकियो । त्यसको केही दिनमा माइला बाले श्रीमती, छोराबुहारीतर्फ औंल्याएर भने, ‘मैले जसरी तिमीहरूलाई पालेको छु, तिमीहरूले पनि त्यसरी नै आफ्ना छोराछोरीलाई पाल्न सक्यौ भने म तिमीहरूलाई बहादुर मान्ने छु । फर्माइस गर्न जान्नु र परिवार पाल्नु फरक कुरा हो । यो कुरा तिमीहरूले भोलि थाहा पाउने छौ ।’ 

माइला बाको कुरामा सत्यता र अनुभव दुवै थियो । विचरा काँचा केटाकेटी यसरी अडिए, जसरी तारमा क्लिपको सहायताले झुण्डिएको कमिज हावाको फर्रफराहट झेलिरहेको थियो ।

“वीथिकाको मुसाफिर गर्ने मान्छे साह्रै पारावार हुँदो रहेछ । सायद त्यसैले होला ऊ प्लवङ्गा हुन्छ र जसले कलवर भन्ने शब्द नै बिर्सेको हुन्छ” भनेर देवकोटाले त्यसै भनेनन् होला । यसमा यसो हुन सक्छ– जसको उरमा सोपान छैन र सोपानै छैन भने त्यहाँ रञ्जनाको के अर्थ ? झुप्राहरू नै प्रसाद सम्झने हामी झैँ अवोधहरू निवेद सम्झनु बेकार लाग्यो । त्यसैले म कलवर लिएर बाँचिरहेछु । आजको आवासको भू–माथि ।

मेरो कारणले तपाईंलाई चिन्ता बढ्यो भनेर रातमा माइली आमाले गुनासो पोखिन्, ‘सके किन यो पानी चुहिने घरमा बस्नु, नयाँमा बसौँमात्र भन्न खोजेकी हूँ ।’ माइली आमाले व्याख्या गर्न नपाउँदै माइला बाले भने, ‘आधा रात भइसक्यो छिटो सुत । बाँकी कुरा भोलि बिहान गरौँला ।’ 

भोलिपल्ट बिहान अरू कुनै संवाद भएन । घर सुनसान थियो । माइली आमा अम्खोरामा पानी लिएर आइन् । मधुरो स्वरमा पानीको अम्खोरा दिएर भनिन्, ‘खाना खान जाउँ, खाना तयार भयो ।’

जोडी परेवा उसै गरी चरिरहेका थिए, हिजोजस्तै ।

सोकेसको ऐना (२०७८) बाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप