मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : झोरी

शनिबार, ३२ असार २०७९, ०७ : ३१
शनिबार, ३२ असार २०७९

‘ए बोटे, माछा ले ।’

‘नाई देलाटी रे ।’ (भो दिन्न हौ) भन्दै आवाजतिर हेर्न खोज्यो तर हेर्न भ्याएन । ऊ हतारमा थियो । पश्चिमी टुँडाको खेतमा घाम लुकिसकेको थियो । भुताहा खोलापारि जङ्गल गएका गोठाला, घाँसी र दाउरेहरू फिर्ता भई खोलावारिको डिल उक्लिसकेका थिए । 

उसको ध्यान एकोहोरो डुङ्गा अड्याउनमा अल्झेको थियो, त्यही भुताहा खोला किनारको शिलढुङ्गामा । डुङ्गाको अर्को टुँडो पछाडि घाँटीसम्मको पानीमा मौन थियो; छलाही बोटेको साथी कर्डा मुसहर । 

फेरि उही दिशाबाट झनै कर्कश आवाज आयो– ‘तेरा बाउ दिन्नस् ! ले छिटो, नत्र ! माँ..क्ने बोटेलाई बङ्ग्याइदिन्छु ।’

पानीमा डुङ्गा धान्दै गरेको कर्डा मुसहर तस्र्यो क्यारे ! डुङ्गा हल्लियो,  बेग्लै गतिमा छप्ल्याङ, छुप्लुङ पानी चलबलायो । छलाहीले डुङ्गा सम्हाल्दै पछाडि हेर्‍यो । देख्यो, काँपिरहेको कर्डालाई र सोही दिशाबाट खोलाको किनारै किनार काँधमा जाल बोकेर नजिक आउँदै गरेको जितना थारूलाई । 

अनि शिलमा डुङ्गालाई बाँध्न नभ्याउँदै उँभो हेर्‍यो र भन्यो– ‘नाई रे आजु नाई देलाटी । मोर जनी ढिढार बाटी । साँझा खियावे पर्तई ।’ (नाई आज दिन्न हौ । मेरी बूढी दोजिया छे । साँझ खुवाउनुपर्छ ।)

नजिकै आइसकेको जितनाले, डिल उक्लने मेसोमा भन्यो– ‘हो रे, एकर जनी ढिढार छ । साँझा खिलाउँछ ऊ ।’

–‘माँ..क्ने थारू, तँ पनि बोटे भइस् । मकाँ पठाइदिन भन्, उसको जनीलाई साँझ, म ख्वाइदिहाल्छु नि ! कति यल्ले मात्र ख्वाको खान्छे हँ ! कि कसो हो केटा हो ?’ माछा खोसुवाका तीन साथीहरू रोमाञ्चित हुँदै हाँस्न थाले । मानौँ यस्तै रमाइलोका लागि ती सहरबाट गाउँ झरेका हुन् । 

त्यतिन्जेलमा डिल उक्लिसकेको थियो जितना । हतारमा देखिन्थ्यो ऊ । त्यहीँ टक्क डिलमा उभियो र मुन्तिर हेर्दै ठूलो आवाजमा बोल्यो– ‘अरे दे रे थोरमोर, ऊ मुखियाक बेटा छ ।’  बोलीसँगै ऊ पनि डिलमाथि बिलायो । 

ऊ मुखियाको छोरा हो भन्ने थाहा पाएपछि, छलाही थकमकायो । टाउको कनाउँदै आफ्नो झोरीभित्रको माछामा नजर डुलायो । देख्यो थोरै माछा । एकछिन गम खायो । डुङ्गाको पछिल्लो भागलाई छेउ लगाउँदै कम्मरसम्मको पानीमा आएको थियो कर्डा मुसहर । छलाहीले आफ्नो कम्मरमा बाँधिएको झोरी फुकायो । केही माछा निकाल्न खोज्यो । मुखियाको छोराले हत्तपत्त माछा भएको झोरी खोस्न खोज्यो । छलाहीले बल गरेर झोरी थाम्यो । मुखियाका तीन साथीले उसका हात समाते । उसले झोरी झ्वाट्ट तान्यो । केही माछा किनारमा पोखिए । ती माछा बटुल्न कर्डा नजिकै आयो । 

निहुरिएर माछा टिप्न थालेको मात्रै के थियो; मुखियाको छोराले कर्डाको पुठ्ठामा लात्तो बजार्‍यो । झम्ल्याङ–छप्याक्क आवाजसहित ऊ खोलामा जोतियो । केहीबेर पानीभित्रै निस्सासियो । अनि आत्तिँदै उठ्यो र बालकझैँ रुन थाल्यो । 

त्यतिन्जेलमा छलाहीको नाकले दुई मुक्का खाइसकेको थियो; र त उसका नाकका पोरा रसाउँदै थिए । उसले आफूहरू उम्किन, सबै माछा उनीहरूलाई दिन राजी भयो, तैपनि मानेनन् । बिजुलीपानीले जो मात्तिएका थिए; दानवहरू । बोल्दा ह्वासह्वास्ती रक्सीको हस्को आउँथ्यो । मुखियाको छोराले उसको छातीमा फेरि पाँडे मुक्का बजार्‍यो । ऊ झनै हार–गुहारको आशामा चिच्याउन थाल्यो । 

उसको चिच्याहटले त्यो पहाड जत्रै भुताहा खोलाको डिललाई छिचोल्नै सकेनन् । कसले सुन्ने ! सिवाय कर्डा । ऊ आफैँ निरीह थियो । भुताहा खोलापारिका जङ्गली जन्तुका झुत र खोला वरपरका भूतहरू असल दूत बनेर उसलाई सहायता गर्लान् भन्ने के आश ! अनि भएभरका देवता पुकार्‍यो । बित्था भयो । बूढा भएका देवताले कान सुन्दैनन् र रातमा आँखा देख्दैनन् भन्ठान्यो उसले । विकल्प सकिएको थियो । 

सास छउन्जेल आश, ऊ विलाप गर्दै ती राक्षसहरूको हातबाट उम्कन खोज्यो । विचरा कर्डा थर्थराउँदै मुखियाको छोराको पाऊ समाउन पुग्यो । बदलामा डुङ्गाको दाबिलो बहना उसको गर्दनले खायो । चोट थेग्न नसकेर ऊ रन्थनिँदै खोला किनारमा ढल्यो । छलाही झनै अत्तालियो । दानवहरूको हातबाट फुस्कन जोडले बल गर्‍यो । उसको हात छड्किएर मुखियाको छोराको थुतुनोमा बज्र्‍यो । बिजुलीपानीको सुर चढेकै थियो, मुखियाको छोरा झनै अशूर बन्यो । बदलामा, डुङ्गाको दाबिलो बहनाले छलाहीको टाउकोमा चोटायो । 

रगतका छिटा उसका निधार हुँदै नाङ्गो जिउभरि लतपतिए । ऊ धरमरिँदै ढल्यो । शरीर अररो भयो । मृत्युको भयले ओठ र घाँटी कलँेटिए । सासको बबन्डरले उसको फोक्सोमा प्रलय मच्चायो । मुटु थरथरियो । मुस्किलले सासको सहाराले ‘पानी..पानी’ भन्यो । मुखियाको छोराले झोरीसहितको माछा ऊ ढलेको टाउको नेरै थेचार्‍यो अनि झोँकमै भन्यो– ‘माँ..क्ने बोटे लाह् तेरो माछा र झोरी, यै त हो तेरो गाँस अनि सास । सक्छस् ? बाँच । अनि ख्वाउलास् तेरो जनीलाई माछा । ...माँ छिस्, हिन् केटाओ जाम् ।’ 

त्यसपछि उनीहरू हस्याङफस्याङ गर्दै डिल उक्ले । जसरी गोठाला, घाँसी र दाउरेहरू उक्लेका थिए । जसरी जितना थारू हतारिँदै उक्लेको थियो । मात्रै छलाहीहरूको गुहार र क्रन्दनहरू त्यो पहाड जत्रै भुताहा खोलाको डिल उक्लन सकेनन् । बस् प्रकृति बेग्ला–बेग्लै थिए हतारिनुमा, डिल उक्लनुमा । औ हुने खानेका अधीनमा हुन्छ रे प्रकृति; औधि विशेष । हुँदा खानेका लागि विष ।

बरबराउँदै छलाही शिलाछेऊ ढलेको थियो । उसको टाउको डुङ्गा टेकाउने शिलमा अडेसिएको थियो । अडेसिँदा, डुङ्गा खोलातिर घर्केर सलल बग्दै पर गइसकेको थियो । त्यो पल डुङ्गालाई नियन्त्रणको खाँचो थिएन; नियन्त्रणको खाँचो थियो त केवल कर्डा र छलाहीको सासलाई । 

छलाहीले धमिलरी देख्यो पर हुँदै गरेको डुङ्गाको आकृति, जसरी उसको जीवनलाई छोडेर अनियन्त्रित हुँदै परपर हुँदैथियो उसको सास र धिमा देख्यो, वरिपरि जीवनको आशामा फटफटाउँदै गरेका माछाका आकृतिहरू, ठ्याक्कै कर्डा मुसहर र आफूजस्तै । 

टाउको नजिकै शिलमाथि उसको झोरी फुक्काफाल थस्किएको थियो । झोरी वरिपरि मर्दै गरेका तिनै माछाका धीमा आँखाझैँ उसका आँखा पल्र्याक्क पल्टिए अनि कन्दै सासले बर्बरायो– ‘झोरी जस्तै त हो हामी पानीमन्से, पानीकै बास, पानीमै सत्यानास ।’ 

उसको आत्माले उडन्तस्तरीमा पाइला टेक्दै गर्दा आफ्नो जिन्दगीदेखि दिक्क लागेर भक्कानिँदै यसो भनेको हुँदो हो ! –‘हामी छाक टार्न माछा मार्छौं, उनीहरू ठाँट टार्न मान्छे मार्छन् । हामी स्वासको लागि झोरी बोक्छौँ, उनीहरू हवसका लागि गोरी बोक्छन् । काम आए खाए, नआए गन्हाए । यस्तै त हो माछा बोक्ने झोरी र झोरी बोक्ने मान्छेको जिन्दगी । हे भगवान् मलाई अर्को जुनीमा मान्छे होइन, माछा बनाएस् । म, म जस्तै मान्छेका लागि गाँस अनि सास बन्न सकूँ; न कि बित्थामा म जस्तै मान्छेको गाँस र सास खोस्ने मान्छे ।’

 

‘हेर् फटला ! चैने, सम्झा तेरो भाइ जितनालाई । गामभरि गाम्दै नहिँडोस् । जे हुनु भइगयो । त्यो बोटेको सत्गत र काजकरम खर्च देको छु त । त्यति नभ’र तेसको जनीलाई घरधन्दाको कार्जेमा राख्छु भनेकै छु । चैने, तो सुत्केरी हुँदा ऊ खर्चसमेत छुट्टै दिने भएँ । आफ्ना घराँ त के पोषिन्थी र ! मकाँ ग’सी छुट्टै खान्कीले पोषिने भई बरु । चैने, हेर् त तो कर्डा मुसहेरको घेक्रो ! टिठ ला’र झारफुक, ओखतीमुलो खर्च ब्योरिरा’थे । अब चैने ब्योर्दिनँ । मुसहेर–हर्लाई याँबाट उठिबास लाइदिन्चु । तो कर्डालाई त झन् कोट–कचहरियाँ घसिटेर जेलाँ सडाइदिन्चु । झ्याँक्नेहरू माछाका लागि एकआपसाँ लडेर मर्या हुन् । यही हो गाँठी कुरो । 

भन्दे तेसको गिदियाँ यै भर्न । चैने, याद राख् फटला, तिम्हरू सँगोलको परिवार हौ । त्यत्रो खेत कमाउन देको छु । सात वर्ष आगे सम्झी त, के थ्यो तिम्हर्को गति ! तिम्हरू आफ्नै रैती भ’र यति गर्या हुँम् । – भन्दै मोटा जुँगा मठारे मुखियाले र खाउँलाझैँ गरी हेरे जितनालाई ।

 जितना ओसरामा टुक्रुक्क पिर्कामा बसेको थियो । फटला, मुखियाका अगाडि हात जोडेर उभिरहेको थियो । बाँकी पाँच भाइ र सबै जहानबच्चा खोकभित्र दब्किरहेका थिए । कुखुराका ढिया र हाँसका ट्युराहरू आँगनमा फन्किरहेका थिए । भेडीका दुई पाठा बुर्कुसी मारिरहेका थिए । वल्ला–पल्ला घर सुनसान देखिन्थे । हरुवा गाउँमा मुखियाको दबदबाहट दर्बिलो देखिन्थ्यो । 

मुखियाले आस्कोटको खल्ती मसार्दै एकदफा फेरी बोले– ‘खै तिम्हर्का प्युरा–प्युरी ? सप्पै बोला । आज मिठा खान एक–एक सुकी दिन्चु ।’ 

जितनाले ओसराबाटै हकार्‍यो । खोकभित्रबाट सात जहानका दस भुराभुरीहरू फाराफुरी निस्के । त्यसबेला बालकका लाज र डर मिठाले फिका बनाइदिएको थियो । सबैले सुकी पाएपछि दौडादौड गर्दै फेरि खोकभित्र लुके । मुखियाले टोपी मिलाउँदै जितना र हात जोडेर अगाडि उभिरहेको फटलालाई हेरे । मनमनै उनीहरूको दासत्व देखेर बूढा गद्गद् भए अनि रवाफ जमाउँदै हुकुम गरे– ‘ल हिँड् जाम त, तेरो गोठाँ हेरम् ।’ के मन भयो कुन्नि ! हिँड्नै लागेका बूढा टक्क रोकिए अनि झट्ट भने– ‘भो गोठाँ के जानु, ह्यै ट भन् । चैने, कतिटा छन् भेडा ?

– दो टा ।

– हाँस नि ?

– होलान् पाँच छ गोटा ।

– ल पुगो तेसो’भा ।

– बहर फेनि छ हुजुर, गाई छ दु गो, ओता बाछाबाछी फेनि चरिरहेछ ।

–पुगो भन्या हैन ! चैने, बहर, गाई, बाछाबाछीको मासु खान्चस् ?

– कुरा बुझेन हुजुर ।

– सुन् फटला, यै काँणका लागि सरजमिन उठाउन चैने, भोलि पुलिसको हाकिम आउँदैछन् ह्याँ । मैले सप्पै मिलाको छु । चैने, त नडरा । सदरमुकामट त्यत्रा ठूला मान्छे आ’सी बेलुका भोज ख्वाउनु पर्दैन ! हो तेस्कै खातिर एउटो ठूलो भेडा र दु टो हाँस हाम्राँ लगेर, चैने केरे भोलि बिहानै बना । बेलुका सँगै बसेर खाउँला ! तेरो भाइ जितनालाई पनि मासु बनाउन ल्याएस् । चैने, तलाई सइँलो हुन्च, बुझिस् । ठूला मुन्छेसँग बसेर कैल्यै खाहस् ?’

फटला लाज र डरले सेकुरियो । अनि जनाउको मुन्टो हल्लायो । ओसरामा घोस्सिएर बसेको जितनाले पुलुक्क दाइलाई हेर्‍यो । मुखियाले पालैपालो दुवैलाई घुरे । निमेषमै दुवै सेकुरिए ।

 

कार्यक्रम सकिएर बोटे टोल चोखिएको दिन थियो । एकपाखे खरको छानो र ठाउँ–ठाउँमा फाटेका खडाइका बारमाथि गोबरमाटोले टालटुल पारेको चार भित्ता छालाहीका लागि महल थियो । सोही महलमा पोहोर साल मात्रै भगाएर ल्याएको थियो; कलिली कम्लीलाई, पल्लो झुप्रोबाट । बाँकी दर्जन जति त्यस्तै झुप्राहरू त्यहीँ वरिपरि गुजुल्टिएका थिए । त्यहीँ एउटा झुप्रोको सानो आँगनमा छलाहीका इष्टमित्रसहित बोटे टोल कार्यक्रम सकिएको सोकमा मोद पिएका थिए । 

छलाहीकी दोजिया जनी कम्ली र बुढा बा ओसराको कुनामा आआफ्नै लयमा थन्किएका थिए । बेलाबेलामा छलाहीका बुढा बा छोराको सोकमा बरबराउँथे– ‘हाय लगलाटी कर्डाके । मोर बेटा मार्लाटी रे ।’ (कर्डालाई हाय लागोस् । मेरो छोरा मार्‍यो त्यसले) भन्दै आफ्ना पातझैँ हलुका हत्केला कप्कपाउँदै पुर्पुरोमा लैजान्थे । उनको आँशु रुँदा–रुँदा आँखैमा सुकिसकेका थिए । आँखाका गोली धस्सिएर भौँ डिलमुनि हराएका थिए । 

छलाही मरेकै दिनदेखि त हो, ऊ संसार देख्नबाट पाखा लागेको । सायद पापी संसार देख्न उसका आँखालाई मञ्जुर थिएनन् । उसो त बाँच्ने इच्छा नै कहाँ थियो र ! बस् यत्ति, एउटा फाट्नै लागेको झोरीभित्र एउटा सानो माछा जीवन र मरणको दोसाँधमा फट्फटाइरहेको जस्तै त थियो ऊ ।

टाउको माथिबाट एक बित्ता पश्चिम घर्केको थियो घाम । असार महिनामा वर्षा हराएको थियो । फाट्टफुट्ट सेता बादलका झुप्पाहरू घामसँगै नाचिरहेका थिए । खेतीपातीको मास भए पनि वर्षाको आस मरेको थियो । हुन त किन चाहियो वर्षा–झरी; ती सुकम्बासीलाई ! ओत लाग्नका लागि त्यही झुपडीबाहेक के नै थियो र ! बरु झरी नपरोस् ‘भगुमान’ भनेर आकाशतिर हेरेर पुकार्थे । 

पोहोर सालको बाढीले झुप्राझुप्री नास गरेको कहाँ बिर्सेका थिए र । पोहोर सालै त हो, हेर्दाहेर्दै छलाहीको दुलारी आमालाई बाढीले सोहोरेको । पोहोर सालै त हो थारू किसानहरूको खेत बाढीले बढारेको । पोहोर बाढी आएको बेलातिरै त हो कलकलाउँदो बैसले भरिएकी बिस्मतिया थरुनीको जवानीमा गिद्धले विष भरेको । 

यस्तै विरहमा उँघिरहेको थियो छलाहीको बा । झन् कम्लीका आँखा ओभाउन कहाँ मान्थे र ! उसको सबथोक छलाही नै त थियो । जसलाई दैवले छलेर कम्लीको मुटुभित्रबाटै चिथोरेर लगेको थियो, ऊबाट धेरै टाढा । उसले उदास नजर उठाएर पर पश्चिमी आकाश क्षितिजतिर हेरी । जतातिर भुताहा खोला बगेको थियो । 

देख्यो एउटा कालो बादलको झुप्पा छलाहीको आकृतिमा हात पसारेर आलिङ्गनमा बोलाइरहेको । ऊ त्यतैतिर दौडन खोजी । किन्तु निमेषमै उसको छलाही धुलाका च्यादरले छेलियो । तिनै धुलाका च्यादर उघारेर चियाउन खोजी । उसले देखी, थुप्रै त्यस्तै च्यादर ओढेर आउँदै गरेको पुलिसको गाडी । 

बोटे टोलमा गाडी थामिएपछि ती धुले च्यादरलाई हावाले समेट्यो । केही आकासिए, आधाउधी जमिनमै थस्किए । आफ्नो सानो आँगनमा मुखिया, फटला, जितना र सातजना पुलिस देखेर कम्ली पनि त्यहीँ धुलोको च्यादर झैँ थसक्क थस्की । 

बुहारीको थस्काइलाई महसुस गरे ससुराले अनि अधिर भई सोधे– ‘केथी भेलाटी ? गाणी ऐलाटी ? कौने ऐलाटी ? कह कम्ली ?’ (के भयो, गाडी आयो, को आयो ? भन कम्ली) 

विचरी बोल्न सकिन, दुब्लो गर्धनको गोटी किक्लिक्क पार्न शिवाय । वल्लापल्ला झुप्राका दैलाबाट बोटिनीहरूले प्वालबाट मुसाले टाउको निकालेर हेरेझैँ टुल्ल हेरिरहेका थिए । डरले कोही आएका थिएनन् । मुखियाले हकारेर बोलाए । जेनतेन बुढाखाडा र एकादुई अधबैँसे मात्रै सकस बोकेर आए ।

‘हाकिम साप, चैने, यै हो छलाहीको छाप्रो, बिचरी कम्ली यै हो । ऊ तो बूढो बाऊ,’ मुखिया बोले ।

‘बिचरी, तिम्लाई न्याए दिलाउँछौं हामी । धन्दा नमान,’ भन्दै कम्ली नजिकै पुगे पुलिसका हाकिम र सान्त्वनाले गाला थपथपाए । यतिन्जेलमा त्यहाँको जत्था केही बढेको थियो ।

मुखिया एकछिन गमे अनि वरपर झुम्मिएका बोटेलाई सम्बोधन गर्दै भने– ‘सुन् छौणा हो, म यो काँणको छिनोफानो गरी छाड्चु । चैने, तो कर्डा मुसहेरलाई जेलाँ सडाइबस्छु । उहिल्यै जेलाँ पठाइ सक्थेँ । छलाहीको काजकरम सकिएसी भनेर मात्रै हो । फेरि शोक पर्यो बेलाँ यो कम्लीलाई बिथोल्न मन लाएन । चैने, यो सुकम्बासी टोलाँ मुसहरेले बोटे मार्ने ? मेरा रैती हौ तिम्हरू सबै, मैले यसोउसो गर्नै मिल्दैन । 

मुखिया बोल्दै गए, चैने, म बोटे भ’को भए यिन्हर्को घरघराँ आगो लाइदिन्थे । यहाँबाट ढुङ्गामुढा गरेर लखेट्थेँ । चैने, तिम्हरू सोझा छौ, क्यै गर्न सक्दैनौ । अबको केही महिनाभित्र यहाँका सुकुम्बासी सबैले जग्गाको पूर्जा पाउनेवाला छन् । चैने, सोच त मुसहर लखेट्यौ भने कसको जमिन तन्कन्छ हँ ! यी सप्पै मैले भन्न मिल्दैनथ्यो । चैने, क्यार्नु ! यो विचरीको आँशु देखेर मनै थाम्न सकिनँ ।’

झुम्मिएर बसेका बोटेका घैँटामा विष भरे मुखियाले । ती गाइँगुइँ गर्न थाले । एकादुई बोटेका अनुहार राक्किन थाले ।

सब सुनिरहेको थियो जितनाले । उसको मनले उसैको मुटुलाई नमजाले चिथोर्‍यो । ‘दइया रे दइया, छलाहीके मुखियाको बेटाले मारेको हो । कर्डा मुसहर त एकदमे काँतर थियो । जालमा परेको माछा मार्न डेराउँथ्यो, तैपनि कसरी मन्से मार्छ ?’ भनेर चिच्याई चिच्याई बोलिरहेका थिए उसका आँखाले । मुखमा बुजो लगाउने मुखिया र उसको ठूल्दाइ फटला आडैमा थिए । 

–‘चैने, ल हिँड् जाऊँ मुसहर टोलाँ ।’ मुखियाको यो आवाजले अल्लि जुटे, बोटेहरू । 

–‘कम्ली, तिमी पनि हिँड, गाडीमा बस । मुसहर टोलमा पुगेर कर्डालाई धरपकड गर्नुछ । त्याँ’ट मेरामा जाउँला, यी जितना र फटला हामीसँगै हुनेछन् । चैने, डराउनु पर्दैन । समाजलाई वचन दिएअनुसार अहिल्यैदेखि तिम्लाई काममा राखेँ । जौराधान, महिनावारी चार पाथी दिउँला,’ मुखियाले भने ।

मुखिया एकछिन थामिए र मनमनले गुने– ‘चैने, मुखिनी माइतमा हराएको महिना दिन भयो, मरे बाँचेको खबरै छैन त्यो राँडको । चैने, त्यो घरमा भएको भए, भित्र पस्न कहाँ दिन्थी र यी छुतलाई ।’ 

आँखीभौँ उँभो पार्दै कम्ली र उसको बूढा–ससुरालाई हेरे मुखियाले, अनि फेरि बोले– ‘साँझको खाना बनाएर फटलाहरूसँगै फर्कौली कम्ली । बूढा ससुरालाई पनि त्यतै भात ल्याउली ।’

कम्लीले ससुरालाई पुलुक्क हेरी ।

ससुराले आशिष दिएझैँ गरी हत्केला उठाइरहेका थिए । अर्को हातले कक्रिएको पेट थप्थपाउँदै विरहको गीत गुनगुनाइरहेका थिए– ‘मोरे चिरैया उडलटी रे भुर, अहराके खतिरे चललटी रे दुर...’ (मेरी चरी उडिगयौ भुरर्र, आहाराको खोजीमा गइगयौ दुर...) भक्कानिँदै अह् अ...ह् अह्...गरे, अनि गडेका आँखाले हठात् झाक्न खोजे । 

कम्लीले भनी– ‘साँझा भात अन्लाटी बाबा, सँगे बैठके खैलटी ।’ (साँझ भात ल्याउँछु बा, अनि सँगै बसेर खाउँला ।)

बूढा ससुराले आशिष दिएझैँ गरी काँपिरहेका दुवै हत्केला उठाए । धीमा पाउका साथ कम्ली आफ्ना अन्धा–ससुरालाई पुलुक्क–पुलुक्क हेर्दै अगाडि बढी । ससुरा बुढाले पेट थप्थपाउँदै उही गीत गुन्गुनाइरहेका थिए– ‘मोरे चिरैया उडलटी रे भुर, अहराके खतिरे चललटी रे दूर...’

उस्तै रवाफ र रफ्तारका साथ केही बेरमै मुसहर टोल पुग्यो गाडी । मुखियासहित पुलिस देखेर त्यहाँ कोकोहोलो मच्चियो । मुसहर बस्ती पनि उस्तै थियो, जस्तो थियो बोटे टोलको हविगत । बस्, कर्डाको झुप्रोमा कुट र बोराको भित्ताले बिटुलो बनाएको थियो । उसले ओसराको खाँबोमा आफ्नो पूरा ज्यान टेकाएर बसेको थियो । उसको गर्धन भाँचिएर टाउको देब्रेतर्फ उँधो लर्केको थियो । स्वरयन्त्र खराब भएर बोली गुम भएको थियो । आँखा धम्धमिएर उघ्रेका उघ्रै थिए । 

कर्डा हाउभाउले भन्दा प्रस्ट आँखाले बोल्थ्यो । किन्तु कसैले बुझेनन् उसका आँखाका भाका । उसले सत्य बोल्थ्यो । मुखियाले गलत अथ्र्याउथे । उसले मुखियाको छोराले छलाहीलाई मारेको हो भन्थ्यो । मुखियाले उसैले मारेको हो भनी प्रस्ट्याउँथे । आखिर सरजमिनमा छलाहीलाई कर्डाले नै मारेको हो भन्ने कागज बनाए । त्यसमा कर्डाको ओठे–ठप्का लगाइछाडे । अनि धक्याउँदै गाडीमा हुले । 

उसका बाआमा, जहानबच्चा कोकोहोलो गर्दै रुन थाले । छिमेकी मुसहरहरू डरले आआफ्ना झुप्राभित्रैबाट खडाइका बारको मसिनो चेपबाट कर्डा मुसहरको हविगत हेरिरहेका थिए । एक दुई वयोवृद्धाबाहेक बाहिर कोही थिएनन् । गाडी त्यहाँबाट फुर भयो । फुर हुन अगावै मुखियाले बोटे टोलका हुलतर्फ हेरेर आँखाको भाकामा बोलेका थिए । यस पटक बोटेहरूले झट्टै बुझे । 

‘ल केटा हो, मुखियाले दिएको कोसेली एउटा हाँस, अनि भेडाको दुईटा फिला लिएर जाओ । सदरमुकाम पुगेर मोज गर हो,’ हाकिमले यसो भन्दै गर्दा फटलाले गाडीभित्र कोसेली पुर्‍याइसकेको थियो । 

‘हामी तीन सुरक्षाकर्मी आज यहीँ बसेर ज्यान बनाउँछौँ । भोलि सबेरै लिन आओ । अँ, यसको घाँटी ह्याँभन्दा नभाँच नि फेरि,’ कर्डातिर इसारा गर्दै बोलेका थिए हाकिम । फटला र जितनाबाहेक सबै हाँसे । मुखियाको गेटबाहिर गाडी हुइँकियो । पेटमा पाँच महिनाको जिउ बोकेर भान्सामा व्यस्त थिई कोमल कम्ली ।

आँपैआँप बगैँचाको पछाडि तारकाँटीले बारेको तारबारभित्र एकान्तमा थियो मुखियाको घर । खाना तयार नहुन्जेल मुखिया, हाकिम र दुई जवान घरको मूलढोका सामुन्ने उभिएको एउटा आँपको फेदमा बसेर गफिँदै थिए । पश्चिमतिर परको खेतमा ओझेल परिसकेको थियो घाम । केही बेरमै तयार भइसकेको थियो खानाको जोरजाम । मुखियाहरू हसुर्न भनी बैठक कोठामा पुगिसकेका थिए । कम्लीले खाना पस्किरहेकी थिई । फटला र जितनाले सघाइरहेका थिए ।

‘ए फटला यहाँ आइज । चैने, तँ पनि यहीँ खा । यी दुईले पस्किहाल्छन् नि,’ गिलास तन्काउँदै भने मुखियाले । 

–‘होइन हुजुर, हामी उहीँ गएर खान्छौँ, घरै ।’

–‘थुक्क झ्याँक्ने थारू । बस् ह्याँ, ला यो तन्का । चैने, अङ्ग्रेजी हो, बुझिस्,’ भनेर फटलाको अगाडि ठ्याप्प, गिलास राखिदिए । 

–‘ह्याँ ! धुतनजी, यस्ता भुइँमान्छेलाई सँगै बसेर खा, किन भनेको फेरि,’ हाकिम बोले । 

–‘हामी भुइँमन्सेभन्दा बेहतर नाजुक छु पानीमन्से । भुइँमन्से त पाउ लड्खडिएर गिर्‍यो भने पनि जमिनमै उठिजान्छ, हामी पानीमन्सेको पाउ लड्खडियो कि जिन्दगी पानीमै डुबिजान्छ । त्यसैले मोद खादिनँ हुजुर ।’–लाज र डरले सेकुरिँदै यत्ति बोल्न सकेको थियो फटला । अनि बस् हेरिरह्यो त्यो गिलास र उनीहरूको छाडन । 

 

दुई जवान सितनसँग स्वाट्ट–स्वाट्ट गिलास तन्काइरहेका थिए । मुखिया र हाकिम अझ बढी रौसिन थालेका थिए । बोलीमा मेसो हराउन थालिसकेको थियो । त्यसैबीच पुलिसका हाकिमले अनुसन्धान गरे जसरी मुखियातिर गफिलो प्रश्न तेर्साए– ‘तपैँ को हो ? के नाम ?’

– ‘हे हे.., म यो गाउँको मुखिया । नाम, धुतन प्रसाद । चैने, थर त थाहै होला !

– ‘कसरी मुखिया ?’

– ‘यिनीहरू जस्तै रैतीले चैने मुखिया चुने ।’

– ‘ठ्यास्ने, कल्ले राख्यो यो नाम धुतन हँ ?’

– ‘पण्डितले ।’

– ‘नामजस्तै कर्मकाँण ! हा हा...।’ दुई जवान रोमाञ्चित भएर हाँसे । फटला विस्मित भई उनीहरूको छाडन भोगिरहेको थियो । हाकिमले फेरि थपे– ‘ऐलेसम्म के के धुतियो ?’

गिलासको तालमा मुखियालाई सवालको जवाफ दिन रङ्ग चढिरहेको थियो । रौसिएर आफ्ना करतुत बक्न थालिहाले– ‘चैने, टाढा किन जानु, ह्यैँ अगाडि हेरूँ फटलालाई । यसको बाउ भलमन्सेलाई धुतेँ– जमिन हुँ ।’

– ‘कसरी’ ?

चैने, पैला मित ला’र फकाउन खोजँे, मानेन । पछि चैने, कन्सिरियाँ बन्दुक तेर्साएँ, बिचरा खेताँ एक्लै हलो जोत्दै थियो । सातोपुत्लो उड्यो । घुँडा टेकिहाल्यो । तो जमिन हात पारेकै साल त हो, भूतहा खोलापारि जङ्गलमा भुट्का टिप्न जाँदा बाघले चिथोरेर मारेका यसका बाआमा ।’ 

यति सुन्नासाथ फटलाको टाउको रन्कियो । उसको अगाडि पृथ्वी फन्कियो, अनि अगाडिको गिलास उठाएर सिनित्त पार्‍यो । लगत्तै गिलास मुखियाले भरे । दुई जवान खित्केर हाँसे । 

– ‘अनि पोहोर साल बिस्मतियालाई गिद्धले कसरी लुछेर मारे ?’

– ‘ए, चैने त्यो, हाम्रै लन्ठुको काँण हो । तो केस तपाईं आफैले मिलाको होइन ! चैने बिर्सिनुभो । यै फटलाको छिमेकी हो बिचरी । मकैबारीमा घाँस काट्दै गरेको फेला पारेछन् हाम्रा साइँदुवाहरू । चैने, के चाइन्थो र ! धरपकड गरेर उम्लँदै गरेको बैँस त्यै केटीमाथि पोखेछन्; आधा रातसम्मै । चैने केरे, बेहोसी हालतमै केटीलाई पथरहनियाँ लगेर फाल्दिएछन् । रातभरिमा गिद्धले लुछ्ने त भयो नि । बिहान खोज्दै जाँदा जिउमा हड्डी मात्रै बाँकी । चैने पोसाकले गर्दा मात्रै सनाखत हुन पायो ।’

– ‘अनि यो काँण ?’

– ‘हा हा.. चैने, यो पनि लन्ठुकै काँण हो । तपाईंसँग किन लुकाउनु ।’

– ‘कहाँ छ ऐले ?’

– ‘सहराँ छ लन्ठुको बान ।’

– ‘भनेपछि भविष्यमा ठूलो मान्छे बन्ने योग लिएर आरै’छ ठ्यास्नेले । उस्तै परे देशै हाँक्न के बेर, हुँ !’ 

दुई जवान खाँदै हाँसिरहे । फटलाले यतिन्जेल कैयौँ गिलास सट्काइ सकेको थियो । तथापि ऊ पिएकै ठाउँमा लुड्की सकेको थियो । 

कम्ली र जितना पस्किनमै तल्लीन थिए । कम्ली जब सितन थप्न आउँथी, लाल्टिनको रातो उज्यालोमा हाकिमले उसलाई भर्खरै फक्रेको कोमल फुलझैँ देख्थे । उनमा उच्छ्वासको बिरुवा उम्रन्थ्यो । दिउँसो सान्त्वनाको निहुँमा कम्लीको कलिलो गाला थपथपाएको सम्झे । हाकिमको नशा झनै चर्किन थाल्यो । झट्ट जितनालाई नजिक बोलाए । अनि मुखियालाई कोट्याउँदै बोले– तिम्रो दाइले अङ्ग्रेजी जति सप्पै भ्याइदिए । जाउ कतैबाट घरपाला मोद लिएर आऊ । तिम्रो गाउँको नयाँ स्वाद नचखाउने ?’

जितना असमञ्जसमा फस्यो । ‘दइया रे ! दादाक यी हविगत छ । कम्ली एक्ली हुन्छे । रात अबेर हुन लाग्यो । उता कम्लीको अन्धो ससुरा भोक मार्न पेट थपथपाउँदै गीत गुन्गुनाइरहेका होलान्,’ मनमनले भन्यो ।

जितनालाई अलमल परेको देखेर ‘जा न जा एकैछिनमा आइहाल्छस् नि । धन्दा नमान् । चैने म छु नि यहाँ,’ भने मुखियाले । जितनाले आशातित नजरले मुखियालाई पुलुक्क हेर्‍यो । अनि गाउँतिर हुइँकियो ।

किन हो कुन्नि हाकिम खाँदै गरेको बैठक कोठाबाट उठेर मुखियाको कोठामा पसे । दुई जवान खाँदै हाँसिरहेकै थिए । फटला लुड्की रहेकै थियो । कम्ली परोस्न आइरहेकी थिई ।

–‘धेरैबेर भयो हाकिमसाप चैने ऊ त्यो कोठामा गएको,’ भनेर चोर औँलाले उतै देखाए मुखियाले, अनि थपे – ‘के खोज्या छन् ! जाउ त यो खाना लगिदेऊ ।’ कम्लीले इन्कार गर्न सकिन, डरले सेकुरिँदै खाना बोकेर हाकिम बसेको कोठामा पसी । 

हाकिमले खोजेको पूरा भयो सायद । अचानक ढोका ढप्कियो । लाल्टिनको सिसाभित्र फसेको एउटा पुतली दारको ज्वालामा झोस्सिएर फट्फटाइरहेकी थिई । दुई जवानलाई आफ्नै जोवनले रोक्न सकेन, त्यसैमा चढेको थियो गिलासको नशा । नशामा उम्लिरहेको मर्दाङ्गी पोख्नु पोखे, त्यहीँ फटफटाइरहेकी पुतलीमाथि । बिचरी दोजिया पुतली भनेनन् कसैले । 

उता अङ्ग्रेजी नशाले बूढो मुखियालाई पनि जवान बनाइदिएको थियो । एक पटक सम्झे मुखिनीको अनुहार, मुख बिटुलो बनाए अनि कोमल कम्लीमाथि खनिए । निमेषभरमै बुढा स्खलित भए । कोठाबाट बाहिरिए । 

तेस्रो पटकसम्म बाहिरबाट चुकुल मारिने ढोका यस पटक खुल्ला रह्यो । लाल्टिनको सिसाभित्र कैद भएकी घाइते दोजिया पुतली फट्फटाउदै कैदमुक्त भई । बिटुलो शरीर बोकेर क्रन्दनका सिस्कासँगै सकी नसकी पाइला लड्खडाउँदै त्यहाँबाट हिँडी । 

घरपाला मोद बोकेर हतार हतार फर्कंदै गरेको जितनाले पश्चिमतिर तेर्सिएको बाटोतर्फ रोदनका सिस्कासँगै एकोहोरिएर हुत्तिँदै गरेको नारी आकृति ठ्याक्कै कम्लीझैँ देख्यो । उसले रोक्न सकेन । बोलाउन सकेन । मुखियाको इमानदार गुलाम जो थियो ऊ । घरपाला मोद मुखियालाई नसुम्पी उसले केही गर्न मिल्दैनथ्यो । 

जब मुखियाकहाँ पुग्यो । देख्यो, लाल्टिनको उज्यालोमा तिनीहरूका आँखा बोलिरहेका । उसले झट्टै बुझ्यो । उनीहरू सामु थपक्क बोत्तल राख्यो । फरक्क फक्र्यो । कम्ली गएको बाटो पछ्यायो । सम्झ्यो, कम्ली तेर्सिएको बाटो भुताहा खोलाको डिलसम्मको हो । चिच्याउँदै रफ्तार बढायो । परबाटै देख्यो, भुताहा खोलाको डिलमाथि कम्लीको मधुरो आकृति । 

आफ्नो मुटुको धड्कनलाई उछिनेर दगुर्न खोज्यो जितना तर जितेन । कम्लीले डिलबाट फाल हानिसकेकी थिई धड्याम्म । सोही शिलमाथि फुक्काफाल बजारिएकी थिई; जहाँ थस्किएको थियो छलाहीको जिन्दगीको झोरी । 

छलाहीले हात पसारेर कम्लीलाई आलिङ्गनमा जकडी सकेको थियो । ती दुईको मिलनमा आतिशवाजीको कमी थियो । नभन्दै देख्यो पूर्वतर्फको आकाश रातिँदै आतिशवाजीका धुवादार ज्वालाहरू उडिरहेका । हठात् नियाल्यो, कान ठड्यायो । देख्यो मुसहरका झुपडीहरू जल्दै गरेका । सुन्यो मुसहरका एकमुस्ट क्रन्दन । मुसहरबस्ती जलुन्जेल उजेलिएको थियो बोटे टोल । पेट थपथपाउँदै गीत गुन्गुनाइरहेका थिए छलाहीका बा– ‘मोरे चिरैया उडलटी रे भुर, अहराके खतिरे चललटी रे दुर... ।

भोलिपल्ट । मुसहर टोल राख भएको थियो । त्यही राखमा मिसिएका थिए कर्डा मुसहरको शाख । बचेखुचेका मुसहरहरू भाव विह्वल हुँदै आफ्ना झोली तुम्बी बोकेर त्यहाँबाट पूर्वी दिशातर्फको बाटो तताए । 

कम्ली आत्महत्याको जिम्मेवार जितना र फटला ठहर्‍याइए । ती दुई गौ प्राणी तिनै बलात्कारी पुलिसद्वारा समातिए । फटलाहरूलाई कमाउन दिएको खेत मुखियाले ताने । फटलाका पाँचभाइ र सबै जहानबच्चा बेघर भए । हरूवा गाउँबाट उठिबास लागेपछि ती थारू–किसान परिवार खेतखलिहान र कर्मबाट हारे । अनि रुँदैरुँदै कमैया खेतरूपी झोरी खोज्दै पश्चिमी भेगतिर लागे ।

मुसहर टोल खालि भएपछि बोटे टोल खुसी भयो । त्योभन्दा ज्यादा खुसी थिए मुखिया । अब बोटेहरूको जमिन तन्किने होइन, बरु मुखियाको जमिन तन्किनेमा पक्का भयो । त्यो त केवल मुसहर धपाउने उपाय मात्रै रचेका थिए मुखियाले । बिचरा सोझा बोटेहरूलाई के थाहा, एक दिन उनीहरू पनि आफ्ना बस्तीरूपी झोरीबाट त्यसरी नै उठिबास हुनेछन् । जसरी उठिबास भए मुसहरहरू । जसरी जिउरूपी झोरीबाट उठिबास भएका थिए; बिस्मतीया, छलाही र कम्लीको प्राण । 

कम्लीको कोमल झोरीभित्रबाट प्राणमुक्त भएको सुइँघुइँ पाउनेबित्तिकै उसको अन्धो बूढो ससुराले पेट नथपथपाईकनै, नकपकपाईकनै, बिरहको भाकामा धार्जे गीत गाइरहे– ‘मोरे चिरैया उडलटी रे भुर, बेटा–पुतहीके खोजे चललटी रे दुर..., मोरे चिरैया उडलटी रे भुर, हमरे झोरियामे परलटी रे एसुर...’ (मेरी चरी उडे है भुरर्र, छोरा–बुहारी खोज्न गएँ है दुर.., मेरी चरी उडे है भुरर्र, हाम्रो झोरीमा पर्‍यो है अशूर...) गीत गाइरहेकै थिए, सासले साथ दिउन्जेल । कसैले भन्दै थिए– ‘यी बूढा अब यत्तिकै मर्ने भए । विचरा !’ 

नभन्दै साँझपख गीत थामियो । बूढा आफ्नो झुपडी अघिल्तिर सानो आँगनमा प्राणविहीन नाङ्गै ढुनमुनिएका थिए । उनलाई देख्दा यस्तो लाग्थ्यो, खानाको आशामा मुख आँ गरेजस्तो । केही पाउने आशामा एक हात पसारे जस्तो । कैयौँ दिनदेखि भोको भएर कक्रिएको पेट अर्को हातले अँठ्याएजस्तो । छोराबुहारीलाई देख्ने आशामा धस्सिएका आँखाले एकोहोरो झाँके जस्तो । मृत्यु अँगाल्न हतार भई दौडँदा खुट्टा फालेजस्तो । यस्तै कन्त–बिजोगमा कहिल्यै नउठ्ने गरी थस्किएको थियो अर्को बेवारिसे ‘झोरी’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप