मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : झिँगा

शनिबार, ३२ असार २०७९, ०७ : ३७
शनिबार, ३२ असार २०७९

उसले सानै उमेरमा देशभक्तिको पाठ पढ्यो । गुरूले उसलाई देशप्रति वफादार बन्न र देशको हितमा काम गर्ने शिक्षा दिनुभयो । उसले मनमनै भन्यो, “आहा ! मेरो देश ! मेरो पुर्खाले बनाएको देश ।”

उसले जागीर खाने बेलामा कसम खायो, “म सदैव देशप्रति वफादार बन्नेछु । हर समय देशको प्रगतिको लागि काम गर्नुछ ।” उसको मन देशभक्तिले आकुल व्याकुल भयो । उसमा देशभक्तिको ज्वारभाटा उम्लिएर आयो । 

त्यस बेला उसले भन्यो, “आहा ! मेरो देश ! मेरो पसिनाले सिँचेको देश ।”  जीवनमा सफलताका सिँढी चढ्दै गयो । प्रशासनिक पदमा पुगेपछि सारा मानिसलाई झिँगा देख्न थाल्यो । उसका छोराछोरी पनि पश्चिमा देश पुगिसकेका थिए । 

उसले अठोट गर्यो, “यहाँ बसेर के गर्नु ? म पनि लागेँ अमेरिका ।”

पीआरवाहक उसले देशले दिएको सम्मान, मानप्रतिष्ठा त्याग्यो । ऊ आफ्नी प्राणप्यारी र छोराछोरीलाई भेटन छट्पटायो । आफ्ना आफन्तको भेटपछि उसले भन्यो, “नेपाल पनि देश हो र ! यो पो देश । कति उन्नति, प्रगति अनि समृद्धि छ ।”

त्यसपछि उसले आकाशतिर हेर्दै चिच्याएर भन्यो, “आहा ! मेरो देश ! मेरो सपनाको देश ! मेरो समृद्धिको देश ! मेरो अमेरिका ! मेरी प्राणप्यारी र छोराछोरीले छानेको देश ।”

‘अनि तिमी जन्मेको देश नि ?” कसैले प्रश्न गर्‍यो । 

“त्यो भिँगाको देश, त्यहाँ बस्ने सब झिँगा हुन् । खान नपाएका, लाउन नपाएका, देशभक्तिको खोक्रो नारामा भुलेका अभागी झिँगाहरू ।”

अमेरिका पुगेको २ महिना मात्र भएको छ । उसको मनले भनिरहन्छ “म आफै यहाँ आएर झिँगा त भएको छैन ?”  

धनगढी, कैलाली, हाल ः कीर्तिपुर, काठमाडौं

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप