दाजैलाई चिट्ठी
सयौंको भीडमा एक्लो थिएँ म
नितान्त एक्लो
तिमी आयौ, भेट भयो दाजै
विचार साटियो, भावना साटियो
त्यसपछि मन
खै किन हो किन आज
हर्ष र विस्मातका छालहरु
एकैपटक सँगसँगै उर्लिरहेछन्
यो निर्दोष मनका तरेलीहरुमा
म अवगत छु
तिमी र म सँगसँगै कुनै एक ठाउँमा
अडिग रह्न सकिन्न
तर पनि त्यसै पोखिरहेछन् भावनाका छालहरु ।
तिमी नसोधी आयौ, खुशी लाग्यो
अब सोधेरै जाँदै छौ
तर पनि पीडाबोध भइरहेछ
हिँड्दा हिँड्दै म चिप्लिँदा
तिमी मेरो नजिक आयौ
पिठ्यूँ थप्थपायौ, मन शान्त भयो
म खुशी हुँदा फेरि नजिक आयौ
र, पिठ्यूँ थप्थपायौ
अनि यात्रा अघि बढाउने नयाँ उर्जा मिल्यो
यो कस्तो सम्बन्ध ?
आफ्नो भनूँ, रगतको नाता छैन
बिरानो ठानूँ, यो मनले मान्दैन
यही त फरक छ तिमी र अरुमा दाजै
खुशीमा साथ दिनेहरू
पीडामा गोहीका आँसु झार्नेहरु
थुप्रै भेट्टाएँ
तर मेरा लागि खुला किताब तिमी
सधैँ अगाध माया दर्शाइरह्यौ
सधैँ भ्रातृप्रेम बर्साइरह्यौ ।
म सुनिरहेछु
हिजोआज एउटा अनजान शहरबाट
तिमीलाई कुनै अदृश्य आवाजले
बोलाइरहेको छ
म देखिरहेछु
फूलका गुच्छाहरु लिएर
उभिरहेका छन् संघारमा
नयाँ मान्छेहरु अनि तत्पर छन्
तिम्रो स्वागतका निम्ति
मलाई लाग्छ, यो षड्यन्त्र निर्देशित छ
कुनै अलौकिक शक्तिद्वारा
जहाँ टक्क सामुन्ने आइपुगेको छ एउटा दोबाटो
जहाँ उभिएका छौ तिमी र म
यो दोबाटोमा बिछोडिए पनि दाजै
हाम्रो गन्तव्य एउटै छ
जहाँ फेरि सिँगौरी खेल्नेछन्
तिम्रा, मेरा यादका तरेलीहरु
तिम्रा, मेरा भावनाका छालहरु ।