आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवालाई गगनको प्रश्न :  यसरी कसरी पार्टी चलाउन खोज्नुभएको हो ?

शनिबार, ३२ असार २०७९, १९ : २८
शनिबार, ३२ असार २०७९

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले आफूहरुसँग सामान्य सल्लाह पनि नगरेको गुनासो गरे ।

उनले भने, 'महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ । तर, महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयोग गर्न खोजेकै थियौँ । तर हामीले सल्लाह र परामर्श दिँदा दिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन । त्यसको दोष हामीहरूमाथि आउन थालेको छ ।' 

सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन आफूहरु कस्सिएर लाग्दा पनि सभापतिले बेवास्ता गरेको उनले आरोप लगाए । 'हाम्रो पार्टी कस्तो बनाउने ? कसरी चलाउने ? भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ ? सभापतिको भुमिका के हुन्छ ? त्यो विधानले प्रष्ट बोलेको छ । सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन हामी कस्सिएर लाग्यौँ, तर सभापतिले हामीलाई सामान्य सरसल्लाह समेत नगरी निर्णय गर्ने अभ्यास गरिरहनुभएको छ,' उनले भने ।

उनले भ्रातृ संगठनमा नियुक्ति गर्दा पनि आफूहरुलाई नियुक्त भइसकेपछि मात्र थाहा भएको कुरा सुनाए । उनले भने, 'पार्टीका सदस्य, पदाधिकारी नियुक्त गर्ने, विभाग गठन गर्ने, भ्रातृ संस्थामा मनोनयन गर्ने सबै अधिकार सभापतिजीसँग छ । त्यसमा पार्टीभित्र सल्लाह गरेर मनोनयन गर्ने भनेर केन्द्रीय समितिबाट निर्णय गरेर हामीले नै अधिकार दिएका हौँ । तर कतिपय भ्रातृ संस्थामा अध्यक्ष नियुक्त भइसकेपछि मात्रै थाहा हुन्छ, यसरी कसरी पार्टी चलाउन खोज्नुभएको हो ?' 

उनले थपे, 'म अहिले मात्रै होइन, पहिल्यैदेखि समूहका छलफलमा सहभागी भएर आएको हुँ । 'पहिले कसले कहाँ गुट भेला गरेको थियो पुराना फोटो हेरौं। म पनि बुढानिलकण्ठ जान्थेँ, चाक्सीबारी पनि जान्थेँ, बोहराटार पनि गएको हुँ । पहिल्यैदेखि सबै जाने अभ्यास हुँदै हो । अहिले हामी गएकोमा किन विरोध भएको हो ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप