मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थारूको छोरो यो देशको प्रधानमन्त्री बन्छ : मन्त्री चौधरी

​ठुम्रार साहित्यिक बखेरी पुनः सुरु
आइतबार, ०१ साउन २०७९, ०९ : ०५
आइतबार, ०१ साउन २०७९

खास गरी थारु साहित्यलाई प्रवर्द्धन गर्न २०६९ माघमा कीर्तिपुरबाट सुरु गरिएको ठुम्रार साहित्यिक बखेरी लकडाउनपछि पुनः नियमित हुने भएको छ । 

यसै क्रममा शनिबार सीसीआरसी कलेज कोटेश्वरमा भएको ९१औं शृङ्खला कार्यक्रमको शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गरे । सो अवसरमा उनले भने, थारु समुदायका पुर्खाहरु राजा रहेको इतिहास छ । तर विडम्बना थारु साहित्यमा दुःख, अभाव, शोषण, पीडाको कुरा मात्रै आइरहेको छ । अब थारु समुदायको राम्रो पक्षको कुरा लेखकहरूले उजागर गर्नुपर्छ । 

मन्त्री चौधरीले अबको दुई दशकभित्र थारु समुदाय समग्र नेपाली समाजको अगुवाइ गर्न सक्षम हुने तथा एकदिन थारुको छोराहरू जरुर यो देशको प्रधानमन्त्री बन्ने बताए । थारु भाषामा अभिव्यक्ति दिँदै उनले त्यसका लागि थारु समुदायका युवाहरू जुनसुकै पार्टीको नेतृत्वमा आउन सक्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा नन्दलाल चौधरीको थारु भाषाको परातके पहर कविता सङ्ग्रह तथा ऋष्टिणा करियाप्रधान थारुको अङ्ग्रेजी भाषाको लकडाउन डायरी पुस्तकको विमोचन पनि मन्त्री चौधरीले गरे ।

कार्यक्रममा विनय वैद्य, कृष्णराज सर्वहारी, सीताराम चौधरी, सुशील चौधरी शत्रुघन चौधरी, नन्दुराज चौधरी, अर्णव चौधरी, राज कुश्मी, लक्ष्मी राना, शंकर राना, विवेक कुश्मी, मिनराज चौधरीलगायत करिब दुई दर्जन स्रष्टाले कविता, गीतलगायत रचना सुनाएका थिए ।

साहित्यिक कार्यक्रमको  संयोजन हाल राष्ट्रिय थारु कलाकार मञ्चले गरिरहेको छ । यसको सहसंयोजन थारु युवा परिवार, चम्पन सांस्कृतिक समूह, निस्राउ समूह, बर्दियाली थारु विकास मञ्चले गरिरहेका छन् । मञ्चका अध्यक्ष विनय वैद्यले ठुम्रार साहित्यिक बखेरी प्रत्येक महिनाको अन्तिम शनिबार बिहान ८ बजे सीसीआरसी कलेज कोटेश्वरमा गरिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप