मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यादवको ‘धीरे से’ कविता सङ्ग्रहको विमोचन

आइतबार, ०१ साउन २०७९, ११ : ४५
आइतबार, ०१ साउन २०७९

कवि रेखा यादवको कविता कृति ‘धीरे से’ र त्यसको नेपाली अनुवाद ‘सुस्तरी’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालगायत विभिन्न सर्जकहरूले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् । 

साहित्यिक पत्रकार सङ्घको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादवले समाज परिवर्तनमा साहित्यको महत्त्वपूर्ण योगदान रहँदै आएको बताए । उनले भने, ‘रेखा यादवको लेखनीले उनलाई एक सशक्त सर्जक भएको पुष्टि गर्छ ।’ आफ्ना साहित्यिक रचनामा समाज परिवर्तनको उद्देश्य हुनुपर्ने उनले बताए । 

उक्त कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘सुस्तरी’मा प्रेम पीडासँग सम्बन्धित कविताहरू रहेको बताए । ‘तर यसमा प्रेमलाई व्यापक अर्थमा प्रयोग गरिएको छ, यो प्रेम केवल महिला र पुरुषबीचको यौनिक प्रेम होइन,” उनले भने । प्रसिद्ध नियात्राकार तथा पुस्तकका प्रकाशक डा. दामोदर पुडासैनीले पुस्तकमा रहेका कविताहरूले आफूलाई अत्यन्त प्रभाव पारेको र यसले रेखा यादवलाई कविको रूपमा स्थापित गर्ने उनले बताए । 
कार्यक्रमका अध्यक्ष तथा साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीले रेखाको साहित्यिक यात्राका लागि शुभकामना दिँदै केही दिनअघि सङ्घकै आयोजना यादवको उपन्यास ‘आत्मजा’को अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा कवि रेखा यादवले आफ्ना पिताको स्मरण गर्दै आफू अहिलेको स्थितिसम्म आउनुमा पिताको भूमिका अत्यन्त प्रेरणादायक रहेको बताइन् । 
कार्यक्रममा कविकी माता रत्नदेवी यादवलाई आयोजक संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मन्जिला अनिलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गायिका कमला रिसालले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा गुञ्जनकी अध्यक्ष हीरण्यकुमारी पाठक, नेपाल पत्रकार सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, जेबी फाउन्डेसनका अध्यक्ष जगदीशलाल वैद्य, प्रा. डिल्लीराम शर्मा, समाजसेवी मेघनाथ शर्मा, साहित्यकारहरू युवराज नयाँघरे, दिव्य गिरी, मोमिन खान, इम्तियाज वफा, ममता मृदुल, रामकुमार पण्डित, जीवन सङ्घर्ष, शङ्कर भारती, कल्पना खरेल, कञ्चना झा, अंशु झा, उषा केसी, प्राज्ञ वीणा सिंहा, रुद्र अधिकारी, ज्ञान्दरी कैनी, मनिला वन्त, राजकुमार थापा, शिव अधिकारी, रत्नलक्ष्मी श्रेष्ठ, रवीन्द्र आशीष शैलीलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप