मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘वीर बलभद्र’मा नालापानी युद्धको कथा प्रकाशित

बुधबार, ०४ साउन २०७९, १२ : ०९
बुधबार, ०४ साउन २०७९

बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् । 

बलभद्रको विवाह, पल्टनमा प्रवेशका साथै उनको कूटनीतिक क्षमता र वीरताको व्याख्यासँगै इतिहासका धेरै तथ्य बुझ्न कथा उपयोगी रहने बताइएको छ । भारतमा शासन गरेका अंग्रेज फौज कसरी नेपाल प्रवेश गर्न चाहे र त्यसलाई बलभद्र नेतृत्वको सैनिक टोलीले कसरी परास्त गर्यो ? कथाको दृश्य वर्णन रोचक छ । जसलाई कथा अनुसारको चित्रले अर्थपूर्ण बनाएको छ । 

त्यसबेलाको विशाल नेपालमा अंग्रेजले किन आँखा गाडे ? पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूमि सुगौली सन्धिमार्फत कसरी गुमाउनुपर्यो ? कथा क्रम अघि बढ्दै जाँदा इतिहासका यस्ता यावत् प्रश्नहरूको जवाफ मिल्दै जान्छ । इतिहासका तिथि मिति र तथ्यहरूको जटिल प्रस्तुति पढ्दै आएका अभिभावकहरूका लागि पनि यो बाल जीवनी निकै सरल र छोटोमा धेरै कुरा बुझिने खालको छ । 

यस पुस्तकको आवरण चित्र रवीन्द्र मानन्धर र भित्रका चित्रहरू ध्रुव प्रजापतिले बनाएका हुन् । ३६ पृष्ठको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप