सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने तयारी

शुक्रबार, ०६ साउन २०७९, ११ : ५१
शुक्रबार, ०६ साउन २०७९

सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ । सामान्यतया विधेयकहरु माथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ ।

तर, हाउसले दफावार छलफल हाउसमै गर्ने वा विषयगत समितिमा पठाउने भनी निर्णय गर्ने अधिकार राख्दछ । संसद सचिवालयका अधिकारीहरूका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ ।

तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन चाहेको छ । सरकारको यही चाहनाअनुसार सभामुखले पनि सम्भावित कार्यसूचीमा राखेका छन् । थप निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले गर्नेछ । 

सम्भावित कार्यसूचीअनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप