म को हुँ ?
बुद्धिमानहरूले, ज्ञानीहरूले
सभ्यहरूले, राम्राहरूले
दास क्यापिटल मात्रै हैन
स्वस्थानी र रामायण पढ्नेहरूले
पवित्रहरूले
मेरुदण्ड कडा भएर
निहुरिन नसक्नेहरूले
मलाई नचिनुन्
भएको रहेछ भने परिचय
त्यो फिर्ता लेऊन्
किनकि
म आज आफूलाई नाङ्गो बनाउँदै छु
तिमी देख्नेछौ मेरो कहाँ कहाँ खत छ
कहाँ कहाँ मेरो रहस्य छ
अनि कहाँ छ रहस्योद्घाटन
तिमी उज्यालोमा मलाई नहेर
तिमी मैले छुन सक्ने नहोऊ
मैले देख्न सक्ने नहोऊ
प्रेमको वर्ग संघर्ष चलेको छ
र म अनौठो मजदुर हूँ
सबभन्दा तल्लो वर्गको
प्रेमको ज्यालादारीले बाँचेको छु
तिमी यो उज्यालोमा मसँग नबोल
मलाई नचिन, परिचय फिर्ता लेऊ
सभ्यताको सुकिलो कोट लगाऊ
बलियोसँग सुरुवालको इजार कस
फस्नर तान, इज्जत जोगाउ
र अर्को दिशामा लाग
उसो त म निर्दोष हूँ
तर मेरो आँखामा मात्रै
निरपेक्ष निर्दोषिता नहुँदो रहेछ
मेरो त नजरले पनि
तिम्रो गुलाब ओइल्याउँछ
स्पर्शको त कल्पना पनि नगर
तिम्रो सपनालाई खरानी बनाउँछ
वर्ग संघर्ष हो यो प्रेमको
तिमी आफ्नो उपल्लो वर्गबाट
वुर्जुवा दमन अपनाऊ
मेरो मजदुरीको गल्लीमा
कमसेकम तिमी दिनमा नदेखिए
कुनै दिन मैले भनेको थिएँ
मजदुर म मेरो प्रेमको वर्कशप
सहरको अन्तिम अँध्यारो
गल्लीमा छ
उपल्लो वर्गको
समूहमा म छैन
यहाँ तिम्रोमा जस्तो
प्रेम सित्तैमा छैन
म धेरै प्रेम बेच्छु
र, थोरै जिन्दगी किन्छु
यदि यो गल्लीमा
तिमी देखियौ भने
बदनाम हुनेछौ ।