कविता– अब बाँदर सिंहदरबार छिर्नुपर्छ
अब बाँदर सिंहदरबार छिर्नुपर्छ ।
गाउँका माथिल्ला आटीमा मात्र किन ?
अब सहरमा पनि बाँदर छिर्नुपर्छ ।
गाउँबाट आएका तरकारीहरू
छि ! दाग लागेको रहेछ भन्नेहरुले
बाँदर कुर्दै पालैपालो भात खानुपर्छ ।
सहरका मान्छे बाँदर देख्दा सेल्फी लिन्छन्
गाउँका मान्छे हत्तपत्त ढुङ्गा टिप्छन्
अब बिस्तारै सबैले अनुभव गर्नुपर्छ
बाँदर जसरी पनि सिंहदरबार छिर्नुपर्छ ।
बाँदर जस्तै स्तनधारी प्राणी छिरेकै हो
हामी सबैले मज्जासँगै चिनेकै हो ।
अब साँच्चिकै बाँदर छिर्नुपर्छ
कमिसनका फाइल जसरी नि च्यात्नुपर्छ ।
भगवान श्रीरामलाई बाँदरले सहयोग गरे
सीताको खोजीमा ठुलो साथ दिए
अब जनतालाई बाँदरले साथ दिन्छन्
भ्रष्ट नेतालाई ठेगान लगाउँछन् ।
विचरा जनता जनावरकै भरमा हो
विकास हेर्ने ठुलो रहरमा हो
बाँदरको दुख सबैले अनुभव गर्नुपर्छ
अब बाँदर जसरी नि सिंहदरबार छिर्नुपर्छ ।
-बगनासकाली ८, पाल्पा