‘पहिले देश अनि विदेश’
आइतबार, ०८ साउन २०७९, १६ : ३०
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ‘पहिले देश अनि विदेश’ अभियान चलाउने भएको छ । मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यस्तो अभियान चलाउने भएको हो ।
आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गरेको मन्त्रालयले पर्यटन विकास एवं प्रवद्र्धनमा बाह्यसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत विशेष जोड दिनुपर्ने देखिएकाले यस्तो अभियान सञ्चालन गर्न लागिएको जनाएको हो । यस्तो कार्यक्रम पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा सम्बन्धित निजी पर्यटन व्यवसायीहरु र तिनका छाता संगठनहरुको सक्रियतामा निरन्तर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
हाल नेपालको पर्यटन व्यवसाय ७५ प्रतिशत आन्तरिक पर्यटकहरुबाटै धानिरहेको बताइएको छ । जुन कोभिड–१९ पछि विदेशी पर्यटक नआउँदा समेत आन्तरिक पर्यटकहरुले ७५ प्रतिशत व्यवसाय धानेको तथ्याङ्कहरूले देखाएको छ ।