सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी महिलाले आखिर के गरिन्, जसले उनको युट्युब भिडियोमा लाखौँ हिट्स आउन थाले

मङ्गलबार, १० साउन २०७९, १२ : २८
मङ्गलबार, १० साउन २०७९

आजकाल युट्युबमा भिडियो बनाउन के मात्रै गरिँदैन ? यसलाई हिट बनाउनका लागि एकपछि अर्को ट्रिक अपनाइने गरिन्छ । तर, केही कहानी यस्ता पनि छन् जसमा एउटा संयोगका कारण मात्रै कोही व्यक्ति रातारात एक साधारण युट्युबरबाट असाध्यै विशेष चर्चित युट्युबर बन्ने गर्छन् ।

यस्तै एउटा संयोग लस एन्जलसका बेली सारियनसँग भयो । उनी मेकअप आर्टिस्ट भएर युट्युबमा आफ्ना भिडियोहरू राख्ने गर्थिन् । त्यतिबेला उनी खासै चर्चित भएकी थिइनन्, तर एक दिन यस्तो भयो - उनको भिडियोमा कति धेरै हिट्स आउन थाले भने त्यसको संख्या कम हुने नाम नै लिइरहेको थिएन ।

आज मेकअप आर्टिस्टबाट क्राइम एक्सपर्ट बनेकी लस एन्जलिसकी बेली सारियनका ६४ लाखभन्दा बढी युट्युब सब्सक्राइबर छन् ।

कुनै बेला शौखले सुरु गरेको काम अब दुई पूर्ण रुपमा भिन्न विषय-  मर्डर मिस्ट्री र मेकअप सिरिजका साथ पूर्णकालीन करियरमा फेरिएको छ र अन्य चिजका साथै उनले अमेरिकी स्ट्रिमिङ दिग्गज नेटफ्लिक्सबाट डिल पनि पाएकी छिन् ।

३३ वर्षीय बेली आफैँ यो कुराले अचम्मित छन् कि युट्युब र वास्तविक अपराध उनको दैनिक काम बनेको छ ।

सारियन बीबीसीसँग भन्छिन्, ‘युट्युबबाट पैसा कमाएर म आफ्नो केही बिल तिर्नसक्छु जस्तो लाग्यो ।’

‘अब ६.४ मिलियनभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन्, जुन धेरै नै हो । यो यति ठूलो होला भनेर मैले कहिल्यै सोचेकै थिइनँ ।’

आफ्नो भिडियोमा सारियन क्यामराको अगाडि बस्छिन् र त्यसपछि मेकअप गर्दै अपराधसँग जोडिएको वास्तविक घटनाबारे कुराकानी गर्छिन् ।

प्रत्येक भिडियोका लागि उनले असाध्यै धेरै अनुसन्धान गर्नुपर्छ । कति धेरै अनुसन्धान गर्नुपर्छ भने अब उनले यसमा मद्दत गर्नका लागि कसैलाई तलब दिएर राख्नुपरेको छ ।

उनको भिडियोमा अदालतले जे भनेको हुन्छ, त्यसबारे बताइन्छ र प्रहरीसँगको कुराकानी पनि राखिन्छ ।

यसको सुरुवात कसरी भयो ?

यो सिरिजमा सबैभन्दा लोकप्रिय भिडियो अमेरिकाको कुख्यात सिरियल किलर जेफरी डामरमा आधारित छ । सन् १९७८ देखि १९९१ को बीच जेफरीले १७ पुरुष र महिलाको हत्या गरेका थिए ।

सारियन आफ्नो यो भिडियोमा डामरबारे कुरा गर्दै आफ्नो अनुहारमा मेकअप लगाइरहेकी थिइन् ।

उनको यो भिडियो अति हिट भयो, यसलाई २२ मिलियन पटक हेरियो ।

उनको टिभी ड्रामा ‘लाइन अफ ड्युटी’लाई यूकेमा रेकर्ड १२.८ मिलियन जनाले हेरे ।

हालसम्म सारियनको युट्युब भिडियोलाई ८०० मिलियनभन्दा बढीपटक हेरिसकिएको छ ।

आखिर उनका भिडियो यति धेरै पटक किन हेरिन्छन् ? सारियनलाई पनि यसबारे सटिक जानकारी छैन । उनी भन्छिन्, ‘इमान्दारिताका साथ भन्ने हो भने यो त्यस्तो चिज हो जसबारे मलाई नै धेरै थाहा छैन ।’

रोचक कुरा के छ भने यस्तो खालको भिडियोको सुरुवात अचानक भएको थियो ।

करिब तीन वर्षअघिसम्म सारियन आफ्नो युट्युब च्यानलमा विशेषगरी ब्युटी ट्युटोरियल मात्रै अपलोड गर्ने गर्थिन् । उनले यो च्यानललाई सन् २०१३ मा सुरु गरेकी थिइन् ।

उनी जागिर खानुका साथै व्यावसायिक मेकअप आर्टिस्टको रुपमा यो युट्युब च्यानल चलाइरहेकी थिइन् ।

ब्युटी सब्सक्रिप्सन कम्पनी इप्सीसँग सम्झौतापछि उनी आफ्नो कमाईका लागि युट्युब च्यानलमा बढी आश्रित हुन थालिन् । यद्यपि, यतिबेला उनले फ्रिलान्सरको रुपमा पनि काम गर्ने गर्थिन् ।

त्यसपछि सन् २०१८ मा कोलोराडो म्यान क्रिस वाट्सबारे एउटा खबर आयो, जसले आफ्नी गर्भवती श्रीमती र साना सन्तानको हत्या गरेकोमा दोषी पाइएपछि उनलाई जन्मकैदको सजाय दिइएको थियो । यो अपराधको घटनालाई विश्वभरीका मिडियाले स्थान दिएका थिए तर सारियन भने परफेक्ट देखिने श्रीमानले आफ्नो पूरा परिवारलाई कसरी मार्न सक्छ भनेर पत्ता लगाउन चाहिरहेकी थिइन् ।

यसबारे कुरा गर्न उनी नर्भस थिइन् । निश्चित रुपमा अनलाइन ट्रोल कुनै सानो कुरा होइन । यद्यपि, यसको सामना गर्नका लागि उनले त्यो गरिन् जुन सधैँ उनले गर्दै आएकी थिइन् । उनले यतिबेला मेकअप गरिन् ।

उनी भन्छिन्, ‘मैले यस्तो किन गरिरहेकी थिएँ  भने क्यामराको अगाडि बसेर त्यसबारे कुरा गर्न मलाई असजिलो लागिरहेको थियो र म त्यतिबेला आफूलाई व्यस्त राख्न चाहन्थेँ ।’

सारियनले त्यतिबेला जुन प्रतिक्रिया पाएकी थिइन् त्यो सम्झिँदा उनी आज पनि डराउँछिन् किनभने एकातिर उनी मेकअप गरिरहेकी थिइन् र अर्कोतिर उनी त्यो भयानक अपराधबारे कुराकानी गरिरहेकी थिइन् । यी दुईबीच कुनै रुपमा पनि सम्बन्ध छैन ।

यद्यपि, उक्त भिडियो सार्वजनिक गरेको २४ घण्टाभित्र उनलाई केही भिन्न हुनेवाला छ भन्ने महसुस भएको थियो किनभने त्यो भिडियोको भ्यु तीब्र रुपमा बढिरहेको थियो । अन्ततः वाट्सको भिडियोलाई एक करोड पटक हेरिएको थियो ।

‘त्यसपछि मैले अर्को कथासँग यस्तै गर्ने कोसिस गर्नुपर्छ भन्ने सोचेँ । मैले त्यस्तै गरेँ.. त्यो पनि चल्यो । त्यसपछि म दुई हप्ताको अन्तरालमा त्यहि ढर्रामा हिँडे र मेरा सब्सक्राइबर्स पनि त्यहि गतिमा बढ्दै गए ।’

युकेमा अपराधका मुद्दाहरूमा काम गरिसकेका फोरेन्सिक मनोवैज्ञानिक सल्लाहकार डा. रुथ टुलीले यस्ता खालका दुई चिजहरुलाई संयोजन गरेर सामग्री सिर्जना गर्दा निकै प्रभावकारी हुने बताउँछिन् । यसबारे उनी भन्छिन्, ‘हामीमध्ये धेरैले यस्ता सामग्री हेर्न रुचाउँछौँ ।’

उनी भन्छिन्, ‘हाम्रो आँखा टेलिभिजनमा भएता पनि अर्कोतर्फ फोन वा ट्याबलेटमा पनि हुन्छ । अर्थात्, हामी आज मल्टिस्क्रिन भएका छौँ ।’

वास्तवमा उनी त्यो अपराधबारे कुरा गरिरहेकी हुन्छिन्, जसबारे हामी सोचिरहेका हुन्छौँ र त्यो जघन्य अपराधको कहानी बताइँदै गर्दा ती दृश्य देख्न पाइन्छ जुन केही हदसम्म सम्मोहित गर्ने खालको हुन्छ ।

एक स्न्यापशटका अनुसार जनवरी–जून २०२० का बीच युट्युबमा वास्तविक अपराधसँग सम्बन्धित सामग्री हेर्नेमा ६० प्रतिशत महिला थिए । सारियनका अनुसार उनका भिडियो धेरैजसो महिलाले हेर्ने गर्छन्, तीमध्ये सबैभन्दा धेरै २५–३५ उमेर समुहका हुन् र त्यसपछि १८–२५ उमेर समुहका ।

 आखिर किन महिलाहरूले यस्तो सामग्री हेर्न रोजिरहेका छन् भन्नेबारे डा. टुली भन्छन्, ‘यसको एउटा कारण हो, यो हेरेर उनीहरूले आफूलाई यस्ता अपराधहरूबाट कसरी बचाउन सकिन्छ भनेर बुझ्न चाहन्छन् । महिलाको विद्यमान व्यवस्थाप्रतिको अविश्वास पनि अर्को कारण हुनसक्छ ।’

सारियन भन्छिन्, ‘जब म कुनै कुरामा डराइरहेको छु भने म त्यसबारे पत्ता लगाउने कोसिस गर्छु । यसले चिन्ता कम गर्छ । कमसेकम म यसमा तल्लिन भइरहेको हुन्छु ।’

कोविड महामारीले पनि उनको ग्राहक बढाउन मद्दत गर्‍यो किनकि मानिसहरूले आफ्नो समय बिताउनको लागि लकडाउनमा टिभी श्रृंखला, चलचित्र र अन्य चीजहरू हेरिरहेका थिए । जब त्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च २०२० मा राष्ट्रिय आपतकाल घोषणा गरे, सारियनसँग केवल ७,८०,००० सदस्यहरू थिए । तर सोही वर्षको अन्त्यसम्ममा उनका ३.५ मिलियन सब्सक्राइबर भए, जुन अहिले झण्डै दोब्बर भइसकेको छ ।

सारियन भन्छिन्, ‘त्यतिबेला मानिससँग नयाँ गर्ने कुरा थिएन ।  सबैले युट्युब हेरिरहेका थिए र मानिसहरूले मेरो सबै भिडियोहरू धेरै नै हेरे । मलाई त्यतिबेला मानिसहरुको मेसेज पनि आउने गर्दथ्यो, ‘तपाईंका कारण क्वारेन्टिनमा मैले निकै राम्रो समय बिताएँ ।’’

यसले उनको करियरलाई पनि नयाँ उडान भर्न सफल बनायो । सारियनका अनुसार उनी डार्क हिस्ट्रि सिरिजलाई अडियोबुमसँग सुरुवात गर्छिन् ।

उनको नेटफ्लिक्ससँग पनि सम्झौता भएको छ ।

सारियन भन्छिन्, ‘अब मेरो च्यानल धेरैले हेर्नुहुन्छ त्यसैले मेरो जिम्मेवारी पनि बढेको छ त्यसैले म पीडितभन्दा बढी अपराधीबारे कुरा गर्छु ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप