आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धनको पहिलो संयुक्त बैठक : छलफल र बहस नहुँदा आशङ्का उब्जिएको निष्कर्ष

आगामी दिनमा कुनै पनि कार्य गर्दा गठबन्धनभित्र छलफल गरेर मात्रै अघि बढ्ने निर्णय
मङ्गलबार, १० साउन २०७९, १९ : ००
मङ्गलबार, १० साउन २०७९

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ गठबन्धन दलको संयुक्त बैठक बसेको  छ । यसअघि दलका नेताहरूको उपस्थितिमा बैठक बस्दै आए पनि सांसदहरूको सहभागिता बैठक बस्न सकिरहेको थिएन । मंगलबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाली काँग्रेसका शीर्षस्थ नेतासहित सांसदहरूको उपस्थितिमा पहिलो पटक संयुक्त बैठक बसेको हो । 

मंगलबारको बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीको नौ महिने कार्यकालको बारेमा गठबन्धनभित्रको समीक्षा भएको थियो । जसमा गठबन्धनभित्र एक आपसमा छलफल र बहसको सौहार्दपूर्ण वातावरण नबन्दा अविश्वास र आशङ्का उब्जिने गरेको निष्कर्ष निकालिएको नेताहरूको भनाई छ । आजको बैठकबाट आगामी दिनमा सरकार, संसदीय, समिति र सदनका विषयमा कुनै पनि कार्य गर्दा पहिला गठबन्धनभित्र छलफल गरेर मात्रै अघि बढ्नुपर्ने निर्णय भएको छ । 

गठबन्धनभित्रका दलहरूको सहमति गरेर विश्वासको आधारमा रहेर काम गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार यसअघि छलफल र सहमति बेगर निर्णय र गतिविधि भएकाले गठबन्धनभित्र अविश्वासको वातावरण सिर्जना भएको भयो,’उनले भनिन,‘ जसले गर्दा केही कमजोरी समेत रहेको बैठकमा निष्कर्ष निकालिएको थियो । आगामी दिनमा गठबन्धनभित्र आशङ्का जन्माउने खालको वातावरण सिर्जना नगर्नका लागि नियमित गठबन्धनको बैठक बस्ने र छलफल गरिने छ।’ 

गत मंगलबार नेकपा माओवादीले विभिन्न माग राख्दै संसद् बहिस्कार गरेको विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । माओवादीले संसद् अवरुद्ध गर्नुपर्ने वातावरण पनि गठबन्धनभित्रको अविश्वासकै जड रहेको दलका नेताहरूको बुझाई थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद् बहिष्कारको विषयमा छलफल गरेर जाने सहमति भइसकेकाले स्वाभाविक रूपमा लिइएको बताएका थिए । 

मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै काँग्रेस संसदीय दलका सचेतक अमृता शाहीले भनिन्,‘ यसअघि संवाद, छलफल नहुँदा गठबन्धनभित्र दुरी बढ्यो । जसका कारण संसद् बहिस्कार गर्नुपर्ने परिस्थिति आयो। दुरी बढेकाले गठबन्धनभित्र आशङ्काको वातावरण बन्यो । अब त्यस्तो हुन नदिने गरी एकताबद्ध रूपमा अघि बढ्नुपर्छ ।’ 

शाहीले मंगलबारको जस्तै बैठक बस्दै गएको खण्डमा बाहिर पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको बताइन् । साथै मुख्यमन्त्री शाहीले माओवादीले उठाएको विषयहरू आफू सकारात्मक रहेको बताएका थिए । यदि छलफल र बहसको माध्यमबाट अघि बढेको भए यस्ता खालका कुराहरू संसद्सम्म नपुग्ने उनको भनाई थियो ।  

एकीकृत समाजवादी संसदीय दलका नेता एवं भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आगामी दिनमा गठबन्धनको बैठकलाई नियमित सञ्चालन गर्नुपर्ने कुरामा सहमति भएको बताए  । 

उनले भने,‘ माओवादीले उठाएका विधेयकहरूमा केही कमजोरी भएको खण्डमा सच्याएर अघि बढ्ने र जनताको सवालसँग जोडिएका विषयहरू समिति र सदनबाट पारित गर्ने निर्णय भएको उनले बताए । यदि गठबन्धनभित्रका नेताहरूमा केही कुरामा असन्तुष्टि पैदा भएको खण्डमा गठबन्धनभित्रै बसेर छलफल गरेर मात्रै अघि बढ्ने निर्णय भएको छ,’उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप