सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्गीत सुनेर फेरिन्छ सुँगुरको व्यवहार, वैज्ञानिक गरिरहेका छन् अनुसन्धान

बुधबार, ११ साउन २०७९, १६ : ५४
बुधबार, ११ साउन २०७९

बेल्जियममा एक किसानले विभिन्न खालको सङ्गीतले सुँगुरको व्यवहारलाई प्रभावित गर्छ भनेर दाबी गरिरहेका छन् । अब वैज्ञानिकले यी किसानको दाबीमाथि परीक्षण गरिरहेका छन् ।

किसान पिट पेसम्यानले पहिलो पटक यो कुरा त्यतिबेला याद गरे जब उनका छोराले सुँगुरको गर्भाधान गराउने स्थानमा एउटा धुन गुनगुनाउन थाले । त्यतिबेला पोथी सुँगुरले सङ्गीत सुनेर उत्साहित देखिएको थियो र उसले आफ्नो पुच्छर हल्लाइरहेको ती किसानले देखे ।

पेसम्यानको फार्म ब्रसेल्स र डचको सीमामा छ । उनले जब पोथी सुँगुरको व्यवहार देखे तब उनले अन्य सुँगुरलाई पनि यस्तै गर्ने सोचे । त्यसपछि उनले दिनको भिन्न भिन्न समयको हिसाबले एउटा प्लेलिस्ट बनाए । जस्तै दिनभरी सुँगुरलाई ऊर्जावान् राख्न उनले ऊर्जा दिने सङ्गीत बजाए र राती आनन्दित बनाउने गीत ।

पेसम्यानले भने, ‘डान्सिङ गीतहरु सबैभन्दा बढी हिट रहे । ती गीत सुनेर यिनीहरुले आफ्नो पुच्छर हल्लाउन सुरु गर्छन् । जब उनीहरु बढी सक्रिय हुन्छन्, यताउती नाच्न सुरु गर्छन् । रक म्युजिक उनीहरुलाई मन पर्दैन ।’

किसानले अनुसन्धानकर्ताको एउटा समूहलाई यसबारे जानकारी दिए । वैज्ञानिकले अब किसानको यो दाबीमाथि अनुसन्धान गरिरहेका छन् । प्रोजेक्ट कोओर्डिनेटर स्यान्डर पालम्यानका अनुसार सङ्गीतप्रति सुँगुरको प्रतिक्रियाबारे अहिले धेरै जानकारी छैन तर पेसम्यानको अनुभवले केही राम्रै कुरा बताइरहेको पनि हुनसक्छ । वैज्ञानिकले भनेका छन्, ‘जनावरमाथि विशेष आवाजको असर हुन्छ भन्ने कुराको कुनै शंका छैन । त्यसैले उनीहरुमाथि सङ्गीतको प्रभाव पनि पर्ने हुनसक्छ । यसले अल्छीपनालाई टाढा राख्न मद्दत गर्छ । यो तनावसँग पनि जोडिन सक्छ ।

पेसम्यानका अनुसार शोधको नतिजाले यो क्षेत्रलाई पनि व्यवहारिक रुपमा प्रभावित गर्नेछ किनभने जनावर तनावमा हुँदा उनीहरुको मासुको गुणस्तरमा पनि असर पर्छ । सुँगुरमा सङ्गीतको कस्तो असर पर्छ भन्नेबारे शोध अहिले पनि जारी छ । यो शोधको नतिजा वर्षको अन्त्यसम्म आउने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप