मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा आँखा पाक्ने सरुवा रोग बढ्यो

बुधबार, ११ साउन २०७९, २१ : ३१
बुधबार, ११ साउन २०७९

साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुईवटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको थियो । विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन थाल्यो । दुवै आँखा रातो भए पछि घरबाट बाहिर निस्कन समस्या पर्यो । 

अचेल सुवासको मात्रै होइन, धेरैमा यो समस्या देखिएको छ । मध्यपुरथिमि नगरपालिका–१ स्थित विपी नेत्र प्रतिष्ठानमा आँखा पाक्ने रोगको समस्या लिएर दैनिक सयभन्दा बढी बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ । 
प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा.अर्जुन श्रेष्ठले केहीदिन यता आँखा पाक्ने रोग निकै बढेको बताए । उनले भने, “आँखा पाक्ने रोगको प्रकोप बढेको छ, दैनिक सयभन्दा बढी बिरामी त यही रोग लिएर आउँछन्, फेरि यो सरुवा रोग हो, यसबाट सचेत हुनै पर्छ ।”

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ । अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगंगादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरूमा बिरामीको चाप बढेको छ । 

भक्तपुरमा आँखा क्लिनिक सञ्चालन गर्दै आएका ओम श्रेष्ठले एकसाता यता आँखा पाक्ने रोगको बिरामी बढेको बताए । दैनिक ४० जनाभन्दा बढी यो रोग लिएर उपचारका लागि आउने गरेको बताउँदै उनले अस्पतालमा यसको चाप बढेको बताए । 

नेत्र रोग विशेषज्ञ डा.अमृतमान पौडेलले अहिले कुनै लक्षण नै नदेखाइ एक्कासी आँखा पाक्ने रोग लाग्ने गरेको बताए । आज सुत्ने बेलासम्म ठिक भएपनि भोलिपल्ट बिहान उठ्दा आँखा पाकिरहेको, सुन्निरहेको हुने भएकाले परिवारमा पनि छिट्टै सर्न सक्ने उनी बताउँछन् । 

यसबाट बच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछयान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा.श्रेष्ठले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप