आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशभरका निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको वृद्धिदर सर्वाधिक

शुक्रबार, १३ साउन २०७९, १५ : ५८
शुक्रबार, १३ साउन २०७९

बाघको बासस्थान रहेका ५ वटा राष्ट्रिय निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धिदर सबैभन्दा उत्कृष्ट देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाघको संख्या वृद्धिदरमा पर्सा राष्ट्रिय निकुञ्ज सबैभन्दा राम्रो देखिएको हो ।

विभागका अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । यसअघि सन् २०१८ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ थिए । त्यसैगरी पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए ।

यसपटक यो संख्या बढेर चितवन राष्ट्रिय निकुञ्जमा १२८ पुगेको छ, बर्दियामा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा भने क्रमशः ३६ र २५ पुगेको छ । पछिल्लो १० वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको छ ।

यसपटक बाघको गणना सन् २०२१ को डिसेम्बरदेखि सन् २०२२ फेब्रुअरीसम्म भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाघको बासस्थानका लागि उपयुक्त वातावरण बन्दै गएकाले यसको संख्या पनि ह्वात्तै बढेको बताए ।

‘बाघको बासस्थान क्षेत्रको सुधार, वन्यजन्तुलाई पिउने पानीको व्यवस्था र वयस्क बाघको संख्या अधिक भएकाले पनि पर्सा निकुञ्जमा बाघको वृद्धिदर राम्रो भएको हो,’ उनले भने । बाघको संख्या बढाउन पर्सा निकुञ्जले पछिल्लो समय हलखोरिया दहको सफाई, पुराना २ दर्जनभन्दा बढी पोखरीको पुनर्निर्माण र बाघको आहारा प्रजातिका वन्यजन्तुहरूका लागि घा“से मैदानको विस्तार र बासस्थान क्षेत्रको समेत विकास गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बाघको संख्या सोचेको भन्दा राम्रोगरी बढेको बताए । ‘हामीले दोब्बरसम्म पुर्याउने लक्ष्य राखेका थियौं तर जुन हिसावले वृद्धि भयो, यो अत्यन्तै सकरात्मक र सन्तोषजनक छ,’ साहले भने, ‘बासस्थान क्षमता अनुसार पानी र घा“से मैदान बढाउन सकियो भने बाघको संख्या अझ बढ्न सक्छ ।’

पर्सा राष्ट्रिय निकुञ्जको हलखोरिया दह क्षेत्रमा गत वर्ष एउटा वयस्क पोथी बाघले एकैसाथ ३ वटा डमरु जन्माएकी थिइ ।  संरक्षण अधिकृत साहले बाघको संख्या वृद्धिदर सकारात्मक भए पनि चुनौती पनि त्यतिकै थपिएको बताए ।

निकुञ्ज पूर्व–पश्चिम राजमार्ग र मानव बस्तीसँगै जोडिएकाले मानवीय क्षति र दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ । गत वर्ष निकुञ्जको आधाभारदेखि पथलैया सडक खण्डमा एक वयस्क पोथी बाघको दुर्घटनामा मृत्युसमेत भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको अनुसूची १ अनुसार २६ वटा संरक्षित जनावरभित्र बाघ पनि पर्दछ । नेपालमा पहिलोपटक सन् २००९ मा बाघको गणना सुरु भएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००९ मा नेपालमा बाघको संख्या १२१ मात्रै थियो । त्यसपछि २०१३ को गणनामा बाघको संख्या १९८ र  सन् २०१८ को गणनामा यो संख्या २३५ पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप