काठमाडौं महानगरमा सात वर्षमा २२ हजार कुकुरलाई रेबिज विरुद्धको खोप
काठमाडौं महानगरपालिकामा विगत सात वर्षयता २२ हजार कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको छ । ललितपुरमा ‘द जाने गुडल इन्स्टिच्युट’ ले ‘मनुमित्र कार्यक्रम’मार्फत सन् २०१६ देखि हालसम्म २२ हजार कुकुरलाई खोप दिएको जानकारी दिएको हो । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्रका संयोजक वसन्त गौतमले रेबिजको आशङ्का भएका कुकुरहरूको परीक्षण गरिएको बताए ।
महानगरपालिकाले प्रत्येक वडामा वडाध्यक्षको सहकार्यमा ११ जना सदस्यहरु रहनेगरी कुकुर व्यवस्थापन समिति गठन गरिएको समेत उनले बताए । महानगरपालिकाबाट कुकुर वा अन्य पशु व्यवस्थापनलाई चालु आर्थिक वर्षमा १ करोड ६० लाख रकम छुट्याएको गौतमको भनाई छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अधिवक्ता सञ्जय अधिकारीले जनावरलाई व्यवस्थापन गर्दा कम पीडा हुने विधि अपनाउन सर्वोच्च अदालतले फैसला गरेको र सोही विधिमार्फत व्यवस्थापन गर्न सबैसँग आग्रह गरे । सो कार्यक्रममा काठमाडौं महानगरपालिकामा १८ हजार सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको पनि जानकारी दिइयो ।