मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : परदेसिएका बा

शनिबार, १४ साउन २०७९, ०५ : ५७
शनिबार, १४ साउन २०७९

जाडो कम कम हुँदै गएको थियो । घर छेउका बाँसघारीमा चराहरू सुत्ने तरखरमा थिए । बाँसघारीको छेउको डाँडामा सिरसिर हावा चलिरहेको थियो । डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाईबस्तुलाई घाँसपानी गरेर फर्कँदै थिए । अनि आमा भित्र भान्सामा खाना बनाउने तयारीमा थिइन् । त्यस्तै केही मानिस पिठ्युँमा घाँसको डोको, दाउराको भारी बोकी घरतर्फ आउँदै थिए । अनि कोही घरमा रेडियो सुनेर बसिरहेका थिए ।

पर्वतको बाजुङमा मेरो घर । मेरा बा उई जवानामा १२÷१३ क्लास पढेका अरे । आफूले पढ्दै पढाउँदै गरेका कारण मेरा बालाई जसले पनि मास्टर भन्ने रैछन् । बाले आज मास्टरी छाडे पनि हाम्रो घरको नाम मास्टरको घर भनेर चिनिन्छ । 

औंसीको रात, पुस महिनाको समय, घाम डुबिसकेका थियो । मानिस र जुनमा एउटा भिन्नता रैछ, जुन अस्ताएपछि फेरि उदाउन सक्छ तर मानिस अस्ताएपछि उदाउनु त्यस्तै हो । जुन अस्ताएर मिर्मिरका तारा झरेर गएपछि नै बिहानको सुरुआत हुने त हो । भूपि शेरचनले भनेको जस्तोः

हुँदैन बिहान मिर्मिर मा तारा झरेर नगए 

बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।

गाउँमा दुईतिरबाट खोला बग्छ । दुबै खोला तलतिर एकै ठाउँमा मिसिएको छ । अनि त्यहाँ गहिरो ताल बनेको छ, जहाँ हामी ससाना हुँदा पौडी खेल्न जान्थ्यौ । म सानो हुँदा मैले आमालाई सोध्थे, ‘आमा, बाबा खोई ?’ 

आमाले घर छेउको डाँडामा गई दुई खोली सलल बगेको देखाउँदै भन्थिन्, ‘तेरो बा, ऊ त्यो खोलाको तिरैतिर हुँदै परदेस गएका छन् । अस्ति फोनमा अब छिट्टै घर आउँछु भनेका छन् ।’

त्यस्ता अस्ति कति गए, कति । तर बा आजसम्म परदेसबाट फर्केनन् । म सानै हँुदा बा परदेसिएको कुरा मैले आमाबाट थाहा पाएँ ।  मैले मेरा बालाई म जान्ने बुझ्ने भएदेखि देख्न पाएको थिइनँ । जबदेखि म जान्ने बुझ्ने भएको थिएँ, तबदेखि बालाई देख्न पाउन अनि उत्सुक थिएँ । किनकि मेरा बा कस्ता अनि कस्ता छन्, मैले देखेकै थिइनँ । मलाई त यत्ति थाहा थियो कि मेरा पनि बा रैछन्, म पनि बाको सन्तान रैछु ।

अस्ति आमासँग अब छिट्टै घर आउँछु भनेको कुरा एक कान दुई कान गर्दै मैदान भएछ । गाउँभरी हल्ला भयो । बा घर आउने पक्का भयो । बा घर आउने भएपछि घरको सरसफाई हुन थाल्यो । आमाले ढोकाको दैलोमा  अम्खोरामा जल राखिन् ।  आँगनको डिलमा भएको सयपत्री फुलको बोटबाट फुल टिपेर ल्याइन् अनि अम्खोरामा हालिन् ।  फुल छेउमा दुबो पनि राखिन् । आमाले घरलाई चारैतिरबाट रंगीन बनाइन् । आजजस्तो आमा मुस्कुराएको मैले यसअघि कहिल्यै देखेको थिइनँ । त्यो पल आमाको मुहारमा अनौठो किसिमको चमक देखे । आमाको ओठ खुसीले नाचिरहेको थियो ।

यता आमा घरको काममा तल्लीन थिइन्, म बाको ब्यग्र प्रतीक्षामा थिएँ । बा आउने बाटातिर हेरेर बसिरहेको थिएँ । ती खोलानालाले बालाई कतिबेला स्वागत गर्लान् भनी डाँडाको छेउमा आउँदै हेर्दै गरिरहेको थिएँ । तर अहँ झमक्कै साँझ पर्यो, चराचुरुङ्गी बास बस्न डाँडा छेउको बाँसघारीमा आइपुगे । झ्याउकिरी कराउन थाले तर बा आएनन् । 

म निराश हुँदै घर आएँ । तर घर आउँदा सबैको मुहारमा खुसी देखियो । किनकि घरबाट देखिने तलको बाटोमा चार ओटा लाइट एकैसाथ एकैबाटो बाल्दै आएको देखिदै थियो । मैले एकोहोरो लाइट बालेको मात्रै हेरे ।

दोबाटोमा आएपछि ती लाइट दुईतिर बाँडिए, दुइओटा मेरो गाउँतिर अनि दुइओटा पल्लो गाउँतिर  । अलि नजिक आएपछि दुई जनामा मेरा बा को होलान् भनी अनुमान गरें । दुबै हाम्रो घरको आँगनमा आइपुगे । मैले अनुमान गरें कि पक्कै पनि मेरा बा अगाडि आएको हुनुपर्छ । 

आफू जान्ने बुझ्ने भएपछि पहिलो पटक बालाई देख्दै थिएँ  । बाले आएर हजुरबुबालाई ढोगे । अनि बालाई आमाले लम्पसार परेर खुट्टामा ढोगिन् । मैले बालाई ढोगेपछि वर्सौपछि परदेसबाट आएका बाले आशिष दिदै मलाइ भने, ‘म जसरी मेरो छोरो परदेस जान नपरोस् । मैले जसरी परदेसिएर जागिर खानु नपरोस् । मैले पढाईदिएको, लेखाइदिएको छु, उसले सोचेको सबै यही नै काम लागोस् भगवान ।’

बा आएपछि घरका सबै सदस्यहरुको अनुहार खुसी भयो । आमा झन खुसी भइन् । तर बा आए पनि आमाको दुःख भने घटेन । आफू जलेर सन्तानलाई खुसी दिइरहेकी छिन् आमाले । 

मैले देखे, बाको निधारमाथि गहिरो दाग । त्यो दाग बाले जिम्मेवारी बोक्दा बोक्दै बसेको गह्रौ भारीको दाग थियो । मैले मेरा बा त परदेसमा जिम्मेवारीको भरिया पो रैछन् भन्ने सोचे । 

एकदिन बालाई मैले बालसुलभ ढंगले सोधेछु, बा तपाईं किन परदेसी हुनु भएको ? अनि परदेस भनेको के नि ?

परदेसी हुने रहर त कसलाई हुन्छ र बाबु । गरिबी र बेरोजगारीको हतकडी फुकाउने उद्देश्यले म जस्ता कयौ मानिस जाने ठाउँ नै परदेस हो । जहाँ उनीहरुको दुःख, पीडा, पीर, ब्यथाहरु कसैको कसैभन्दा कम नहोला । तर फरक भने अवस्य छ, जहाँ पलपल जन्मभूमि, घर परिवार र छोराछोरीको यादमा बग्ने आँसुको महत्त्व बुझ्ने मानिस कोही हँुदैन त्यही नै परदेस हो । सम्झनाले जति सताए पनि बिछोडको पीडाले जति तड्पाए पनि  भावनारुपी दियोमा कल्पनारुपी आशाका दीप जलाउँदै घरको सम्झना, भरोसा र आशामा बाँच्ने ठाउँ परदेस हो बाबु ।

आज म घरबाट टाढा छु । पढ्न आएको छु, मेरो यहाँ सम्मको यात्रामा बा आमाको सपना अनि मेरो विपना जोडिएको छ । बा तपाईंलाई सम्बोधन गर्ने त मसंग कुनै शब्द नै छैन । तपाईंलाई सधँै बा भनेर बोलाउन पाई राखुँ । भौतिक रुपले टाढा भए पनि आत्मीयता गाढा छ । हजुरको कारण म यो स्थानमा छु, हजुरको मुहारमा सधैँभरी खुसी छाओस् । बाँकी दुःख, कष्ट, रोग, पीर, ब्यथा म आफै बुझौला अनि सहौला पनि । तर बा तपाईंको निधारको जिम्मेवारीको दाग भने एक म दिन अवस्य मेट्ने छु । यो मेरो वाचा भयो ।

मोदी गाउँपालिका–५, पर्वत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप