मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आधुनिक डोली चढ्न नसकेको त्यो दिन

शनिबार, १४ साउन २०७९, ०६ : ४४
शनिबार, १४ साउन २०७९

म काभ्रेपलाञ्चोकको बेथाञ्चोक–२ ढुंर्खकमा जन्मी हुर्केकी छोरी । मैले बाल्यकाल र विद्यालय शिक्षा त्यहीँ पूरा गरेँ । मेरो बुबा डा.बलराम तिमल्सिना पार्वती माविको प्रधानाध्यापक हुँदा नै २०४९ सालमा कक्षा १ मा भर्ना गरिदिनु भयो । 

२०५० सालमा बुबा प्रधानाध्यापक छाडेर निजामती सेवामा प्रवेश गर्नुभयो र काठमाडौँ जानुभयो । बुबा काठमाडौँ गएपछि मलाई पढ्नको लागि पटक पटक काठमाडौँ आऊ भन्नु भयो । तर मैले गाउँमा हजुरबुबा र हजुरआमालाई छाड्नै सकिन । म जन्मिएको हुर्किएको स्वच्छ, सफा र हराभरा बेथाञ्चोक–२ ढुंर्खकको विद्यालयबाटै २०५९ सालमा एसएलसी पूरा गरेँ ।

कक्षा ६/७ तिर पुगेपछि मैले छोरा र छोरीबीचको फरक, छोरी अन्मिएर अर्को घरमा जानुपर्ने, उसले आफ्नो थर फेर्नुपर्ने आदिबारे अलि अलि बुझ्न थालेँ । मेरा छरछिमेकका दिदीहरू रुँदै रुँदै डोलीमा चढेर अन्मिएको अनि कति दिदीहरू परिवार र समाजको अनुशासन तोडेर, बुबा आमाको स्वीकृत बेगर आफैँ दुलाहा रोजेर हिँडेको पनि म देखिरहन्थे । अनि म भित्रभित्रै प्रतिज्ञा गर्थेँ कि म भने परिवार र समाजको अनुशासन तोड्दिन र बुबा आमाको मन पनि दुखाउँदिन, उहाँहरूको सपना चकनाचुर पनि पार्दिन । 

आखिर भयो पनि त्यही । मेरो जिन्दगीमा धेरै साथीहरू महिला र पुरुष दुवै भए र छन् । तर विवाहभन्दा पहिले मैले जीवन बिताउने साथी बनाइन र प्रयास पनि गरिन । अभिभावकहरूले हेरेको, उहाँहरूले छानेको र मेरो समेत चित्तले खाएको वरसँग विवाह गरेँ । यहाँ मैले यो भन्न खोजेको हैन कि आफूले प्रेम गर्नु हुँदैन, केटा छान्नु हुँदैन आदि । मेरो सोचाई यति मात्रै हो कि उमेर नपुगी, पढाइ नसकाई बाबु आमाको जानकारी बिना विवाह गरेर हिँड्दा सायद जिन्दगीको यात्रामा अनेक समस्या आउन सक्छन् ।

मेरो स्नातक सम्मको पढाइ पूरा नहुञ्जेल न बुबाले मेरो विवाहको कुरा उठाउनुभयो न हजुरबुबाले नै । कहिलेकाहीँ हजुरआमा र आमाले छोरीको अब त बिहे गर्नुपर्छ है । तेरो केटो भए भन हामी उसैलाई दिन्छौँ भन्नुहुन्थ्यो । म भने फिस्स हाँसेर सबै टारी दिन्थेँ । 

जब म स्नातकोत्तर तहमा पढ्न थालेँ, तब बुबा र हजुरबुबा दुवै जनाले मेरो विवाहको चासो राखेको थाहा पाएँ । घरमा माग्न आएको पनि थाहा पाएँ । बुबा र हजुरबुबा दुबैलाई मन परेको र मनले खाएको घर परिवारको छोरा इन्जिनियर उत्तमकुमार थापासँग मेरो भेट गराउने चाँजो पाँजो मिलाउनु भएछ बुबाले । 

बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा दुबैका परिवारसहित हामीले भेट्यौँ । जिन्दगीका यात्राको बारेमा छोटो तर सटिक  छलफल गर्यौँ र एकले अर्कालाई जीन्दगीभर साथ दिने स्वीकृति दिएर उठ्यौँ । सोही कुरा दुवै पक्षका अभिभावकलाई जानकारी गराइयो र हामी दुई बीच विवाह हुने निश्चित भयो । २०६९ साल असार १० गते मेरो विवाह काठमाडौँ, भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा भयो । 

त्यस दिन बाजागाजाका साथ मलाई लिन जन्ती लिएर आए थापा परिवार । मलाई बाजागाजा बजेको एकदम मनपर्ने, बाजा बजेको सुन्ने बितिकै नाच्न मन लाग्ने म । तर त्यो दिन त के भयो खै, त्यो बाजाको आवाज कानमा पर्ने बित्तिकै हात खुट्टा कामे जस्तो भयो । एकाएक आँखाबाट आँसुका धारा बग्न थाले, बल्लतल्ल आफूलाई सम्हाल्दै दुलाहाको स्वागत गर्दै जग्गेमा बसेँ । र, परम्पराअनुसार विवाह सम्पन्न भयो । 

बाहिर झमझम पानी परिरहेको थियो । जसरी बाहिर पानीको झमझम आवाज आइरहेको थियो त्यसरी नै भित्र मेरो मन आत्तिइरहेको थियो । अब अन्माउने बेला भइसकेको थियो । म सकी नसकी जग्गे घुम्दै थिएँ । एक छिन त बुबालाई अगाडि देख्दै थिएँ तर केही क्षणमा बुबा हराउनुभयो, हजुरबुबा पनि देखिनु भएन । हजुरआमालाई काकी र भाउजूहरूले घेरेका थिए । म भने सम्हालिन सकिन, आमा र शारदा काकी भक्कानिँदै मलाई समाउँदै हुनुहुन्थ्यो । 

ज्वाइँलाई बुबाले डोर्याएर अन्माउनुपर्ने तर रामशरण ठूलोबुबा र विष्णु ठुलो बुबाले डोर्‍याउनु भएको थियो । सोचेको थिएँ अन्मिने बेलामा हाँसी हाँसी अन्मिन्छु भनेर । तर, जति कोसिस गर्दा पनि आफूलाई रोक्न सकिनँ, ह्वाँ ह्वाँ रुन आयो । म जिन्दगीमा दुई पटक त्यसरी रोएको छु, एक पटक जन्म घर छाडेर कर्म घर जान अन्मिदा र अर्को पटक हजुरबुबाको निधन हुँदा । 

जब सिँगारिएको कार अर्थात् आधुनिक डोलीभित्र पस्नुपर्ने बेला भयो । किन हो मेरो पैताला कारमा चढ्न उठ्दै उठेनन् । मेरो सम्पूर्ण शरीर लुलो भयो । मलाई लाग्यो मैले टेकेको धर्ती भासिँदै छ तर के गर्नु, आखिर जानै पर्दथ्यो । रामशरण ठुलो बुबा र विष्णु ठुलो बुबाले कारमा राखिदिनु भयो । 

त्यसो त मलाई गाडीमा चढ्ने बहुत रहर लाग्थ्यो, बुबालाई अफिस लिन र घर पुर्‍याउन आउने गाडी चढ्न रहर गर्थेँ तर बुबाले अफिसको गाडीमा कतै घुमाउन लानु हुन्नथ्यो । कहिलेकाहीँ अफिस जाने बेलामा बाटो एउटै पर्‍यो भने मात्र, ‘ल बस स्टपसम्म बाटोमा छोडिदिन्छु भन्नुहुन्थ्यो । म रमाएर गाडी चढ्थेँ । तर त्यस दिन न गाडी चढ्ने रहर आयो, न जाँगर नै । 

भोलिपल्ट दुल्हन फर्काउन माइतीघर आयौँ । मलाई भने मनमा खुल्दुली चलिरहेको थियो कि हिजो मलाई अन्माउन बुबा र हजुरबुबा किन आउनु भएन भनेर । उहाँहरूले मेरो हात समातेर दुई–चार शब्द भनेर मलाई गाडीमा चढाउनु भएको भए मेरो मन त्यति धेरै रुँदैन थियो कि, त्यति धेरै छटपटी हुँदैन थियो कि भन्ने भइरह्यो । 

माइतीघर पुग्दा मेरो बुबा तल गेटमा नै कुरिरहनु भएको रहेछ । बुबालाई देखेर न त हाँस्न नै सकेँ, न त रुन नै । एकोहोरो हेरिरहेँ । बुबाले स्वागत गर्दै माथि लैजानुभयो । माथि गएपछि दुल्हन फर्काउने साइतको सबै परम्परा सकिएपछि आमाले हिजोको त्यो सब के भएको थियो, स—बिस्तार बताउनु भयो । 

बुबा मलाई अन्माउन नसकेर भित्र कोठामा मुर्छित हुनु भएछ । हजुरबुबा बसेको कुर्सीमा नै डाँको छोडेर रोएर बस्नु भएको थियो रे । अनि हजुरआमा बेहोस भएको कारण कोही पानी छम्कने त कोही बर्कोले हम्कँदै थिए रे । सानो बुबा, भाइबहिनीहरू कुनातिर बसेर रुँदै थिए रे । त्यसैले मलाई अन्माउन सकि नसकी मेरो आमा, काकी आमा र ठुलो बुबाहरु आउनु भएको रहेछ ।

मैले सानोमा गाउँघरमा सुनेको थिएँ । छोरी पराई घरमा जान पर्दछ र छोरीको लागि माइती घर र कर्म घर दुवै पराई घर हुन्छ भनेर, तर त्यो होइन रहेछ । मनमा सधैँ लागिरहन्थ्यो अब म विवाह भएर घर गएपछि मेरो हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाइहरुले पहिलाको जस्तो माया प्रेम गर्दैनन् होला भनेर । त्यस्तो होइन रहेछ, झन् माया त गाढा पो हुँदो रहेछ । 

विवाहभन्दा पहिले अफिस गएर आउँदा होस् वा कतै बाहिर गएर आउँदा होस्, साँझ ६ बजेसम्म घर नपुगे बुबाले पटक पटक कहाँ आइपुग्यौ छोरी भन्दै ५/५ मिनेटमा फोन गर्ने, अब नगर्ने पो हो कि भनेर मनभित्र डरै डर थियो । तर, बुबाले अहिले पनि दैनिक छ बजेभित्र छोरी घर पुग्यौ ? भनेर फोन गर्नुहुन्छ । फरक यति छ कि हिजोसम्म कहाँ आइपुग्यौ भन्ने बुबा मलाई अन्माएर पठाएको दिनदेखि घर पुग्यौँ ? भन्न थाल्नुभयो । हिजोसम्म खाना खान छिटो आऊ भन्ने बुबा आजबाट खाना पकायौँ ? सबैलाई खुवायौ त ? अनि तिमीले राम्रोसँग खायौ ? भन्न थाल्नुभयो । सायद यही त होला फरक ।

मेरो विवाह भएको १० वर्ष पुग्यो । मैले गाउँमा सुनेका ती सब कुरा सत्य होइन भन्नेमा पूर्ण विश्वस्त छु । म भित्रिएको घरमा पनि मेरो बुबा, आमा जस्तै मलाई स्वागत गर्न ससुराबुबा र सासुआमा बस्नु भएको थियो । उहाँहरूले छोरी अन्माएर पठाउनुभयो अनि मलाई भित्र्याउनु भयो । फरक के छ र उही त हो नि । त्यहाँ पनि मलाई माइतीमा माया गर्ने दिदी बहिनीजस्तै नन्द आमाजु थिए, जो भाउजु भित्र्याउन पाउँदा अत्यन्तै खुसी र प्रफुल्ल थिए । त्यति मात्र हैन, त्यहाँ हजरबुबा, हजुरमुमा पनि हुनुहुन्थ्यो, जसले मलाई नातिनीकै व्यवहार गर्नुभयो । 

त्यसैले सामाजिक परम्परा रितिरिवाज मात्र होइन कि सृष्टिको नियमलाई नियमित राख्न पनि त छोरा छोरीको विवाह गर्नपर्यो । पूर्वीय समाजमा छोरालाई अन्माएर अर्को घरमा पठाएको थाहा छैन, एक न एक जना त अन्मिनै पर्यो । जन्मिएको घर छोड्नै पर्यो । त्यो छोड्ने काम परम्परादेखि छोरीको भागमा पर्यो, के गर्ने ? विवाह भएको १० वर्ष बिचमा यी सबै अनुभूति भएको हो मलाई पनि । 

तर जतिसुकै बुझेको भए पनि विवाहको दिन माइतीघर छाडेर डोली चढ्न वा कार चढ्न कति कठिन हुन्छ भन्ने कुरा बेहुली भएकालाई मात्र थाहा हुन्छ । मलाई पनि भएको थियो कि यो कारमा नचढी भागौँ कि क्या हो, चिच्याएर जान्न भनौँ कि क्या हो । तर, सकिएन भन्न र भाग्न पनि । 

आज त्यही घरमा रमाएको छु । हजुरबुबा त बित्नु भयो । हजुरआमा, बुबा र आमा असाध्यै खुसी हुनुहुन्छ । भाइहरू मसँगभन्दा भिनाजुसँग गफिन्छन् । ससुराबा, सासुआमा, नन्दहरू र श्रीमान साह्रै सहयोगी हुनुहुन्छ । छोरी जन्मिएर पारिवारिक फूलबारीमा छुनुमुनु गर्छिन् । झन् अब त मेरो सबैभन्दा मिल्ने प्यारो साथी छोरी भएकी छिन्, त्यै घर साह्रै रमाइलो भएको छ । जिन्दगीको यात्रा यस्तै त रहेछ, अझ अगाडि कसरी बढ्ने हो थाहा छैन । सकेसम्म सहज र सरल बनाउने कोसिसमा छु । आगे ईश्वरको जो आज्ञा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप