मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोहनिद्रा

शनिबार, १४ साउन २०७९, ०६ : ४९
शनिबार, १४ साउन २०७९

ए मेरा विश्वासपात्र सहयोध्दा मित्र महोदय
सहकार्य गर्नु भनेको 
सहवासका लागि आमन्त्रित गर्नु होइन
सहकार्य गर्नु भनेको 
नयाँ आविष्कार गर्न 
ऐक्यबद्धता जनाउनु हो ।

के थाहा मलाई 
तिम्रो मनको कुण्ठा 
के थाहा मलाई तिम्रो बोक्रे आदर्श 
के थाहा मलाई तिम्रो घिनलाग्दो सोच । 
तिमीले कुण्ठाग्रस्त मानसिकता बोकेर 
मेरो अगाडि हात फिँजारेका रहेछौ 
मैले त भरोसा भिरेर 
सहयात्रा गर्ने अठोट लिएर 
त्यो हात स्वीकारेँ 
स्वीकार गर्नु भनेको 
तिम्रो खराब नियतमा पनि 
साथ दिनु होइन ।
स्वीकार गर्नु भनेको 
आफू हुनुको अस्तित्व जोगाउनु हो 
स्वीकार गर्नु भनेको 
विश्वासपात्र पनि बन्नु हो महोदय । 
यदि मनमा मनको शुद्धता नाप्ने 
मेसिन हुन्थ्यो भने 
मेरो नजिक तिमीले पाइला राख्ने 
हिम्मत गर्दैनथ्यौ होला
मेरो विश्वासको डोरी 
चुँडिदैनथ्यो होला 
र,
यो कहालीलाग्दो समय 
आउँदैनथ्यो होला । 
नारीवादी बनेर 
मञ्चमा भाषण गर्छौ 
प्रिय स्रष्टा बनेर 
आसन ग्रहण गर्छौ 
नारीवादी हुनु भनेको 
नारीप्रति कुदृष्टिले 
आँखा गाड्नु होइन, मदोदय 
स्रष्टा हुनु भनेको 
पुरुषत्वको घमण्डको लेप दल्नु होइन 
परिवर्तनको आन्दोलन गर्नु भनेको 
मनको प्यास मेट्ने 
साधन तयार गर्नु होइन 
नबुझेका हौ भने यदि 
जन्मदिने आमासँग सोध्नू 
नबुझेका हौ भने यदि 
काखमा खेल्ने छोरीसँग सोध्नू 
को हो नारी 
के हो नारीवाद 
के हो नारी अस्मिता 
के हो आन्दोलन 
के हो वाद 
अनि,
के हो मोहनिद्रा ?

 मातातीर्थ, काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप