कविताः मोहियानी
शनिबार, १४ साउन २०७९, ०६ : ५५
मेहनतले रोपेको बिरुवा हुर्किएपछि
फल नदिने भयो भने,
छहारीलाइ फसल नभन्ने
मानिसको जमात
फेदमै बसेर कुरा काटे भने,
पात झारेर
सधै शिशिर जस्तै
मासु झरेको अस्थिपञ्जर जस्तै
भइरहन्छ कि रहँदैन ?
कलिला नसाहरु
थाक्रोमा बेरिएको भरमा
लहरे बालीले आकाश तिरको
यात्रा तय गरेजस्तो,
प्रेमको थाक्रोमा
हातका नसाहरु जेलेर
हातमा हात समाएर
तय गरेको
मन यात्राको पाइला
कहाँसम्म पुग्ला ?
प्रेमल सिञ्चित मनका गह्राहरुमा
रोपिएका मायाका बिरुवाहरुमा
फल लाग्ने बेलामा
पहिरोले खेतबारी पुरेजस्तै पुर्यो भने
बाढीले खेत बगरजस्तै बनायो भने
त्यो बगरमा कति समयसम्म उभिएर
यादको खेती गरेपछि पाइन्छ
निस्सा प्रेमको,
कति समयपछि पाइन्छ
यादको मोहियानीमा
प्रेम ।