कविताः जीवनको अविरल यात्रा
मेरो दूर क्षितिज पुग्ने यात्रा
सप्तरंगी इन्द्रेणीको मोहकतामा
आल्हादित हुँदै गर्दा
खै उज्यालो सूर्य पनि
नीलो समुद्रबाट निस्केर
नीलै पानीमा बेपत्ता भएछ
लक्ष्य, उद्धेश्य खै के थियोे ?
निश्चित थियो त केवल
अलिकति कौतुहलता
थोरै दोधार, एक चिम्टी भय
तैपनि धुमिल बाटो पच्छ्याउँदै
गन्तव्य उन्मुख थियो
मेरो त्यो बेनामी यात्रा ।
अग्ला पहाडहरु
सेताम्मै हिउँले गजधम्म थिए
होचा पहाडहरु
सुगन्धित फूलहरुले सुवासित थिए
अनायासै जन्मिएथ्यो
एउटा छुट्टै माहोल
बल्ल थाहा भो
हातका औंलाहरु पनि
त्यसै लामा, छोटा नहुने रैछन्
भूगोल पनि साँच्चै फरक हुँदो रहेछ
त्यसैले, जीवनको अविरल यात्रामा
त्यही बुझ्न बाँकी जीवन
धेरै भोग्दै
थोरै बुझ्दै छु ।
एउटा साँघुरो गल्लीबाट
लुसुक्क एक्लै सुरु भएको यात्रा
आरोह, अवरोह हुँदै
दोबाटो, चौबाटो र धेरै बाटोका मोडहरुमा
अभिनय रुमल्लिदै गरेको जस्तो गरे पनि
अन्त्यमा,
आखिर एक दिन निश्चित
पुग्नैपर्ने रहेछ गन्तव्यमा
अतीत साह्रै अस्थिर थियो
र, पनि
रंगीन वर्तमान हुँदै
अनिश्चित भविष्यको
मीठो कल्पनामा
तरङ्गियो दुइ दिने जीवन
हाँसो र खुसीको जीवन
खै अरुहरु
धेरै के के
र, को को जीवन
कैयौ विकल्पहरुबाट
रोजिएको एउटा
विकल्प जीवन ।