मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

छोरी भएर जन्मनु तिम्रो अपराध थिएन

शनिबार, १४ साउन २०७९, १३ : ०४
शनिबार, १४ साउन २०७९

कति अबोध सपनाहरू थिए तिमीसित
थिए लोभलाग्दा कति रहरहरू तिमीसित
चार वर्षको उमेरमा
बलात्कृत मात्र भइनौ  तिमी
मारेर जलाइयौ तिनै दानवहरूबाट

तिमीलाई आमाले स्कुलबाट छोरी
कैले फर्कन्छे भनेर हेर्दै थिइन होलिन
बाबाले तिमीलाई घरमा खोज्दै थिए होलान्
साथीसङ्गी तिमी नदेखेर अलमल थिए  होलान्
तिमी त यो संसारबाट उठाइएछौ
क्रुरहरूको हातबाट

केले हौसला दिइरहेछ
नरपशुहरूलाई
स्त्री, युवती र बालिकासम्म देख्नै नहुने
तिनीहरूका घरमा छैनन् कि आमा दिदी, बहिनी
र यो घृणित काम गर्ने
किन झर्दैन तिनीहरूको लिङ्ग पाकेर भुइँमा
किन एक चोक्टा मासुमा मानवबाट  जनावर हुन्छन् कू मान्छे कु तत्त्वहरू

उमेर क्रुरता गर्ने छुट होइन
नाबालिक कानुन छल्ने विषय होइन
किन उम्कन्छन् बार बार अपराधीहरू
किन दण्डित हुँदैनन् आजीवन जेलको कालो कोठरीमा
किन हामीसित महिलामैत्री कानुन छैन ?

विस्फोटक वन छोरीमान्छे
बम बनी जाइलाग
तिमीले गरिबीसित मात्र लड्ने होइन
आफूलाई जोगाउन
यौन पिपासु पुरुषसित पनि लड्ने अठोट लेऊ
रूप धारण गर चण्डीको, वन महाकाली
हिम्मतको

गल्ती त थियो रुग्ण समाजको
ठूलो बडासम्म बलात्कारीको नाताको जरा पुग्ने बित्तिकै
भित्रभित्रै पीडितलाई पैसा दिने
र नमाने दबाब दिने कुकृत्यको
निशानामा लाचार विवसहरूलाई सिकार बनाउने अमानवताको
कानुनलाई पैसाले खरिद गर्न सकिन्छ
भन्ने काम वासनाको

अब खतम गर्नुपर्छ
कुकुर जस्ता लठैतहरूको शिवलिङ्ग
उखेल्नु पर्छ झार जस्तो यो समाजबाट
आफ्नो जीवनलाई जोगाउन
फलामको बिर्को लाउनुपर्छ चेली हो

तिमी त तोते बोल्ने यो सृष्टिकी अनुपम
मुहार थियौ
छोरीमान्छे भएर जन्मनु तिम्रो अपराध थिएन

(केही दिनअघि वीरगञ्जमा बलात्कारपछि हत्या गरेर जलाइएकी बालिकाप्रति समर्पित ।) 

दमक बजार, झापा
हाल :अबुधाबी, यूएई ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप