मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

झोराहाट नाट्य समूहमा चार जना स्रष्टा प्रस्तुत

शनिबार, १४ साउन २०७९, २१ : ५३
शनिबार, १४ साउन २०७९

झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् ।  साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत भए । उनीहरूले कविता र गजल प्रस्तुत वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले चारैजना कविलाई खादा ओढाएर मायाको चिनोसमेत प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष बुढाथोकीले झोराहाट नाट्य समूहले सरकारबाट सहयोग प्राप्त काठमाडौंका सांस्कृतिक संस्था लगायतलाई समेत चुनौती दिएको बताए । ‘काठमाडौंभन्दा बाहिर पनि आफ्नै बलबुताले संस्थामार्फत स्तरीय कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण झोराहाट ले पेश गरेको छ’ बुढाथोकीले भने, ‘झोराहाट साहित्य र कलाकारिताको एउटा महत्वपूर्ण संस्था बनेको छ ।’ 

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । समूहले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक श्रृंखलासहित बेला–बेला नाटक मञ्चन र नाट्य लेखन र अभिनयको प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताए । समूहलाई भानु जयन्तीका अवसरमा नेपाल सरकारले १ लाख राशिको गोपालप्रसाद रिमाल राष्ट्रिय कलाकारिता पुरस्कार प्रदान गरेको थियो । शनिबार आयोजित कार्यक्रममा सिर्जना सुन्नका लागि पूर्वका विभिन्न जिल्लाबाट साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप