सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घट्न थाल्यो खाने तेलको मूल्य

भारतले नीति परिवर्तन गरेसँगै सस्तोमै खाने तेल बेच्दै उद्योगी
आइतबार, २२ साउन २०७९, १९ : ३९
आइतबार, २२ साउन २०७९

रुस–युक्रेन युद्ध सुरु भएसँगै बढ्न थालेको खाने तेलको मूल्य फेरी घट्न थालेको छ । छिमेकी युक्रेनलाई रुसले हमला गरेपछि मूल्य बढ्न थालेको थियो । यी दुई मुलुकबीच युद्ध सुरु भएपछि इण्डानेसियाले तेलको निर्यात रोकेको थियो ।

इण्डोनेसियाले आफ्नो आन्तरिक मागलाई अभाव हुन नदिने भन्दै विश्वभर तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाले यही वर्षको वैशाखदेखि लागू हुने गरी पाम तेलको निर्यात रोकेको थियो । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडाले पूर्ण रूपमा पाम तेलको निकासी रोकेका थिए ।

यससँगै, विश्वभर खाने तेलको माग बढ्न लाग्यो मूल्य ह्वात्तै बढेको थियो । विश्वमा प्रत्येक वर्ष हुने कूल पामतेल निर्यातमा इण्डोनेसियाको हिस्सा ठूलो छ । इण्डानेसिया एक्लैले ५० प्रतिशत पाम तेल निर्यात गर्ने गर्छ । विश्वमा निर्यात हुने पाम तेलमा बलियो स्थानमा रहेको इण्डोनेसियाले एकाएक निर्यात रोक्दा विश्वभर महँगी बढेको थियो ।

तर, इण्डोनेसियाले आफ्नो निर्णय सच्याउँदै पुनः निर्यात सुरु गरेसँगै मूल्य घट्न थालेको हो । हाल अन्तर्राष्ट्रिय बजारमै कच्चा खाने तेलको मूल्य घट्न थालेको उद्योगीहरू बताउँछन् । श्री रिफाइनरीका प्रदीप मुरारकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिमेट्रिक टन ४ सय डलरसम्म घटेको जानकारी दिए ।

‘यसअघि, १९ सय डलरभन्दा बढी रहेको भटमासको कच्चा तेलको प्रति मेट्रिक टनको मूल्य अहिले १५ सय रुपैयाँमा आइपुगेको छ,’ श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले भने । उनले अन्तर्राष्ट्रिय बजारमा घट्न थालेसँगै नेपाली बजारमा पनि मूल्य घट्न थालेको जानकारी दिए ।

उनका अनुसार यतिबेला भटमासको तेलको मूल्य प्रतिकार्टुन २२ सय रुपैयाँसम्म आइपुगेको छ । जुन, यसअघि ३४ सय रुपैयाँ रुपैयाँ प्रतिकार्टुनसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेसँगै नेपाली बजारमा पनि भटमासको तेलको मूल्य घटेको मुरारकाको भनाइ छ ।

यस्तै, यतिबेला तोरीको तेलको मूल्य प्रतिकार्टुन २९ सय रुपैयाँसम्म आइपुगेको उद्योगीको भनाइ छ । यसअघि, भुटेको तोरीको तेलको मूल्य प्रतिकार्टुन ४ हजार रुपैयाँसम्म पुगेको थियो । यद्यपी, धारा तोरीको तेलको मूल्य भने अझै पनि घटेको छैन । यसैगरी, प्रतिकार्टुन ३६ सय रुपैयाँसम्म पुगेको सूर्यमुखीको तेल अहिले प्रतिकार्टुन २६ सय रुपैयाँसम्म आइपुगेको खुद्रा व्यापार संघले जनाएको छ ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले खाने तेलको मूल्य निरन्तर घट्दो स्थितिमा रहेको रातोपाटीलाई जानकारी दिए । ‘केही समय अघिसम्म महँगो मूल्यमा बेचिरहेको खाने तेलको मूल्य अहिले घट्न थालेको छ,’ उनले भने, ‘यो अझै घट्न सक्छ ।’ खास गरी, इण्डोनेसियाले लगाएको पामतेलको निर्यात प्रतिबन्ध फुकुवा भएसँगै र बजारमा नयाँ उत्पादन आएसँगै मूल्य घटेको व्यवसायीहरूको भनाइ छ ।

खाने तेलको मूल्य (प्रतिकार्टुन)

स्रोत – खुद्रा व्यापार संघ

घटेन तोरीको तेलको मूल्य

सबैजसो खाने तेलको मूल्य घटेपनि भुटेको तोरीको तेलको मूल्य भने घटेको छैन । खुद्रा व्यापार संघका महासचिव तुलाधारका अनुसार काँचो तोरीको तेल, भटमास र सूर्यमुखीको तेलको मूल्य घटेको छ । तर, भुटेको तोरीको तेलको मूल्य भने नघटेको उनको भनाइ छ । ‘सबैजसो खानेतेलले मूल्य घटाएर पठाएका छन्,’ उनले भने, ‘तर, भुटेको तोरीबाट तेल बनाउने धारा तेलले मूल्य घटाएको छैन ।’ उनले कच्चा तोरीको तेलको मूल्य घटेपनि उक्त कम्पनीले बजार भाउ नघटाइरहेको तुलाधरले बताए ।

यस्तै, काँचो तोरीको तेलको मूल्यमा समेत सामान्य गिरावट आएको छ । संघका निवर्तमान अध्यक्ष पार्वती बज्राचार्यले सूर्यमुखी र भटमासको तेलको तुलनामा तोरीको तेलको मूल्य न्यून दरमा घटेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपनि नेपालमा तोरीको तेलको मूल्य उल्लेख्य रूपमा नघट्नुबारे भने आफूलाई जानकारी नरहेको बताए । ‘हामीले उद्योगबाट ल्याएर उपभोक्तालाई बेच्ने हो,’ उनले भने, ‘उद्योगीले जतिमा हामीलाई बेच्छन् । त्यसमा थोरै मार्जिन राखेर उपभोक्तालाई दिने हो ।’

किन घट्दै छ मूल्य ?

खास गरी, रुस र युक्रेन युद्धका कारणले विश्वभर खाने तेलको मूल्य बढेको थियो । रुसले हमला गरेसँगै युक्रेनबाट विश्वभर निर्यात हुने खाने तेल एकाएक रोकिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउन प्रत्यक्ष भूमिका खेल्यो । यस्तै, विश्वकै ठूलो पामतेल उत्पादक इण्डोनेसियाले पनि रुस–युक्रेन युद्धलाई कारण देखाउँदै आन्तरिक बजारको माग धान्ने भनेर वैशाख महिनादेखि निर्यात प्रतिबन्धको घोषणा गरेको थियो ।

युक्रेनबाट हुने भटमास र सूर्यमुखी तेलको अभाव दक्षिण अमेरिकाबाट आउने तोरी इण्डोनेसिया र मलेसियाको पाम तेलले पूर्ति गर्ने आँकलन गरिएको थियो । तर, दक्षिण अमेरिकामा परेको लामो खडेरीका कारण त्यस क्षेत्रको तेलहनको उत्पादन समेत प्रभावित बनेको थियो । सोही समयमा विश्वसामू बाँकी रहेको पामतेल खपतको विकल्प पनि इण्डोनेसियाले निर्यात रोकेर तुसारापात गराइदियो । जसले विश्व बजारमा खाने तेलको अभाव सिर्जना गरायो र मूल्यवृद्धिमा भूमिका खेल्यो ।

दिनहुँ उपभोग्य वस्तुदेखि, कस्मेटिक्स, जंक फुडलगायतमा प्रयोग हुने खाने तेलको अभावसँग माग बढ्न थाल्यो । र, त्यसैको प्रभाव देखाउँदै नेपाली व्यापारीले समेत मूल्य उचाल्न थाले । तर, इण्डानेसियाले विश्व बजारको दबाब थाम्न सकेन र पामतेलको प्रतिबन्ध १ महिना भित्रै खोलिदियो । यस्तै, दक्षिण अमेरिकी मुलुकहरूमा समेत नयाँ उत्पादन बजारमा आउन थाल्यो र विश्व बजारमा खाने तेलको सहज आपूर्ति हुन थाल्यो । जसले मूल्य समेत घटायो ।

विश्वको बदलिँदो आर्थिक स्थितीलाई भरपुर सदुपयोग गर्ने भन्दै नेपाली उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा किनेको कच्चा पदार्थ स्टोर गर्न थालेका थिए । मूल्य अझै बढ्ने र त्यसलाई उच्च मुनाफासहित बजारमा पठाउने योजना बनाएका उद्योगी कच्चा तेलको मूल्य घट्न थालेसँगै सस्तोमै खाने तेल बिक्री गर्न थालेका हुन् ।

भारतीय नीतिको प्रभाव

नेपालमा खाने तेलको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारमा भाउ घट्नुमा मात्रै भने सीमित छैन । भारतले लिएको पछिल्लो नीतिसमेत नेपाली बजारमा तेलको भाउ घट्नुको मूख्य कारण हो । बजारमा खाने तेलको मूल्य उच्च दरमा बढेसँगै भारत सरकारले शून्य भन्सार दरमै कच्चा तेल आयात गर्ने नीति बनायो । जसले गर्दा नेपालबाट घुमाउरो बाटो हुँदै भारत जाने खाने तेलको सट्टा सिधै भारत आयात हुने तेल सस्तो पर्न थाल्यो । जसले गर्दा नेपाली उद्योगीले तेल निर्यात गर्न सकेनन् ।

भारतीय बजारलाई लक्षित गरेर आयात गरिएको तेल निर्यात हुन नसकेपछि उक्त तेल यहीँ खपत हुन थालेको संघका निवर्तमान अध्यक्ष बज्राचार्य बताउँछन् । उनका अनुसार नेपाली बजारमा खाने तेलको मूल्य बढ्नुपर्ने कुनै कारण नै थिएन । तर, उद्योगीहरूले भारतीय बजारलाई लक्षित गरेर नेपालमा खाने तेलको मूल्य बढाएका थिए । जुन, भारतले परिवर्तन गरेको नीतिसँगै अहिले स्वभाविक स्थितिमा आउँदैछ ।

खास गरी, भारत सरकारले २०७८ असोज २७ गतेदेखि लागू हुने गरी कच्चा रूपमा भित्रिने पाम, भटमास र सूर्यमुखीको भन्सार दर घटाएको थियो । भारत सरकारले कच्चा पामतेलमा १६.५ प्रतिशत तथा कच्चा सूर्यमुखी र भटमास तेलमा १९.२५ प्रतिशत भन्सार दर घटाएको थियो । भारतले उक्त मितिमा राजपत्रमै सूचना जारी गरेर खाने तेल आयातमा लगाएको साफ्टा बाहेकको प्रतिबन्ध फुकुवा समेत गरेको थियो । यससँगै, भारततर्फ निर्यात प्रभावित बन्दा समेत नेपाली बजारमा मूल्य घट्न थालेको खुद्रा व्यापारीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप