स्वतन्त्रता
फट्फट् पखेटा फट्काउँदै
हजारौँ माइलको यात्रामा
निस्केको मालचरीलाई
न थकाई न चिसो
रातको जुनको बादलमा
लुकामारी खेल्दै
टाढा टाढा उडिरहेको छ ।
धेरै तलको चक्रवातलाई हेरेर
भन्छस्, ‘आज मौसम बद्लिएछ’
उसको पछाडि नीलो आकाश
शुन्यमा हराएको छ
देखिन्छन् परसम्म
मालचरीको लामजस्तै
श्रृङ्खलिए पर्वत
तल झरीमा लुकेको वन
हिमाल, पहाड
र सहरहरूको संसार हेर्न
चुच्चोले आकाशलाई ठुँगेझैँ
उडिरहन्छन् मालचरीहरू निरन्तर
प्रसन्नताको उडानमा बेगिएर
इन्द्रेणीको मार्गलाई चुम्दै
हिमाली रङ्ग
वर्षालाई झेल्दै
उज्यालोको खोजीमा
त्यो उडानमा सूर्य विभाजित छ
निरन्तर यात्रामा सामेल भएर
बादलहरूको देशमा
सूर्यको चुपचाप ताप खोज्न
हिँडेको यात्री
हावाको खुट्टारहित मार्गमा
कलाकारको शिल्प देखाउँछ
हामी सबै कलाकार नै हौँ
शिकारीको निशानीमा
मालचरी टुहुरिन्छन्
धेरै पर घाँसे मैदानमा
पृथ्वीको झाडीमा बचेरा हराएको छ
यो गडबडीको एक महाप्रलय हो
ऊ द्रुत उडान उड्न चाहन्छ
अस्तित्व बचाउन
र, सोध्छ– किन शिकार गर्छौ
तिमी हाम्रो संसारको ?
तिम्रो स्वतन्त्रताको उडान
तिम्रो अधीनमा हुनुपर्छ
परुन् एक दुई असफलताहरू साथमा
कुनै अविश्वासमा नटुटोस् यो यात्रा
शक्तिको गोलीको प्रदर्शनमा
एक क्रुर र व्यर्थ संसारलाई जितेर
भावनाको प्राकृतिक सत्यबाट
बाहिर निस्क
जवानीको खुनी लुट मास्न
आफ्नो पसिना निकालेर
आफ्नो रगतमा आफै बाँच
स्वतन्त्र सपनाको
एक भूगोलको लागि ।
कवि त्रिविमा प्राध्यापनरत छन्